कोरोना कहर : एक परिवार एक थर्मोमिटर, एक व्यक्ति एक साबुन

हेल्थपोस्ट नेपाल

चीनको वुहानबाट कोरोना भाइरसका बिरामीको उपचार गरेर नेपाल फर्किएका डाक्टर रमेश आचार्यले कोरोना भाइरस उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा साक्षात्कार कार्यक्रमको आयोजना गरेर डा. आचार्यले नेपालमा कोरोना भित्रिन नदिन सरकारले आवश्यक कदम चाल्नु पर्ने बताएका हुन्।

कोरोना रोकथामतर्फ विशेष ध्यान दिएर सरसफाइ तथा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था हुनुपर्ने उनले बताए। ‘कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपालमा एक परिवार एक थर्मोमिटर, एक व्यक्ति एक साबुन अनिवार्य गर्नुपर्छ,’ आचार्यले भने।

भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनेको अवस्थामा नेपालमा कुनै किसिमको लापरबाही उचित नहुने आचार्यको तर्क छ। ‘सरकारले भाइरस रोकथामका लागि विशेष रणनीति बनार्य अघि बढ्नु पर्छ,’ उनले भने।

डा. आचार्यले चीनमा रहँदा देखेको र उपचारमा खटिँदा अनुभव गरेको कुरा र त्यसबाट नेपालले सिक्नुपर्ने कुरालाई सर्वसाधारणसम्म पु¥याउने उद्देश्यले नेपाल सरकारलाई भाइरसको रोकथामका लागि १२ बुँदे ज्ञापनपत्र बुझाएका छन्।

भाइरसको संक्रमण रोकथामका लागि सबैले आ–आफनो क्षेत्रबाट लाग्नुपर्ने बताउँदै उनले विशेष काम बिना घर बाहिर ननिस्किन, सभा सम्मलेन नगर्न, घर बाहिर जाँदा मास्कको प्रयोग गर्न तथा साबुन पानीले राम्रोसँग हात धुन आग्रह गरेका छन्।

‘हामी आफै सुरक्षित भयौँ भने मात्र कोरोना भाइरसबाट सुरक्षित रहन सक्छौँ, भाइरसको रोकथामका लागि एक मिनेटसम्म साबुन पानीले मिचिमिची हात धुने, तातोपानी सेवन गर्ने, झोलिलो पदार्थ तथा साग खाने बानी बसालौं,’ उनले भने।

विश्वभर कोरना भाइरसको सन्त्रास फैलिरहेको बेला आफै संयमित भएर लाग्नुपर्ने आचार्यले बताएका छन्। सामान्य रुघा खोकी र ज्वरो आउँदैमा भाइरसको संक्रमण हुन नसक्ने जानकारी दिँदै सर्वसाधारणलाई संयमित भइ सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।

उनले नेपालमा अहिलेसम्म भाइरसको संक्रमण नभेटिएको उल्लेख गर्दै नेपालीको रोगसँग लड्ने प्रतिरोधी क्षमता राम्रो भएकाले आत्तिनुपर्ने अवस्था नभएको जानकारी दिएका छन्।

भाइरसको संक्रमण नेपाल भित्रिए सबैलाई अप्ठ्यारो स्थिति आउने बताउँदै उनले सरकारलाई समयमै ध्यानपूर्वक काम गर्न आग्रह गरे। साथै कोरोना भाइरसको संक्रमण नेपाल भित्रिए उपचारको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उनले बताएका छन्।

‘कोरोना भाइरसको संक्रमण हुने बित्तिकै न मान्छे मर्छ न त एक घर एक व्यक्तिले गरेर उपचार सम्भव हुन्छ,’ उनले भने, ‘भाइरसको संक्रमण नेपाल भित्रिए उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुको विकल्प छैन।’

के छ डा. आचार्यले बुझाएको १२ बुँदे ज्ञापनपत्रमा?

१. ‘कोरोना भाइरसविरुद्ध जनताको संघर्ष’ नारा दिइ सरकारले आन्तरिक तयारी गर्नुका साथै जनतालाई डरत्रासबाट मुक्त गर्न जनचेतना फैलाउने। स्वासथ्य सुरक्षाको न्युनतम मापदण्डको ग्यारेन्टी गर्ने र सातै प्रदेशमा आइसोलेशन वार्ड र भाइरस परीक्षण केन्द्र स्थापना गर्नुपर्ने।

२. भारत तथा नेपालको सीमामा रहेका १ सय २९ नाका र अन्तर्राष्ट्रिय विमानस्थल एक महिनाका लागि बन्द गरिनुपर्ने। धार्मिकस्थलहरूका साथै पार्क, सिनेमा हल, विवाह ब्रतवन्ध जस्ता कार्यक्रम स्थगित गरी एक महिनासम्म विद्यालय बन्द गर्नुपर्ने।

३. नागरिकको तापक्रम मापनका लागि नयाँ एप्स बनाइ बिहान बेलुकाको तापक्रमको अभिलेख अनलाइन राखिनुपर्ने।

४. सबै सरकारी अस्पताल, डाक्टर, नर्स प्यारामेडिक्स तथा सुरक्षा निकायलाई अनिवार्य रुपमा कोरोना भाइरस जोखिम समाधानको पूर्व तयारी अवस्थामा राख्नुपर्ने।

५. प्रत्येक स्थानीय तहमा आपतकालिन उद्दार टिम निर्माण गरी सबै शहरका लाििग फरक–फरक स्वासथ्य इकाई गठन गर्नुपर्ने।

६. जोखिम क्षेत्रमा उपचारका लागि खटिने सर्वसाधारणदेखि प्रत्येक पदाधिकारीले अनिवार्य रुपमा एन–९५ मास्क लगाउनुपर्ने र घर नफर्केसम्म उक्त मास्क हातले नछुने।

७. औषधि, खाद्यान्न, इन्धन मास्क, ह्यान्ड स्यानिटाइजर लगायत अतिआवश्यक वस्तुहरुको सहज आपूर्ति गराउनुपर्ने तथा कालोबजारी गर्नेलाई कडा कारबाही गरिनुपर्ने।

८. विगत दुई हप्तादेखि हालसम्म विदेशबाट आएका सबै नागरिकलाई सेल्फ आइसोलेशनमा बस्नुपर्ने अनिवार्य नियम बनाउनुपर्ने।

९. टेकु अस्पतालको प्रयोगशालामा दैनिक २ हजार ५ सय जना कोरोना शंकास्पद व्यक्तिको जाँचका लागि आवश्यक पर्ने टेस्ट कीटको व्यवस्था गर्नुपर्ने।

१०. पाँच सय शैय्याको आइसियु तथा ५ हजार शैय्याको अस्थायी वार्डको व्यवस्था गर्नुपर्ने।

११. विद्यालयदेखि स्थानीय निकायसम्म हटलाइन, पत्रपत्रिका एसएमएस तथा सञ्चारका साधनहरुबाट जनचेतना फैलाइ एक व्यक्ति एक साबुन नारा अन्तर्गत दिनमा कम्तिमा १० पटक हात धुन आग्रह गर्ने।

१२. भाइरसको संक्रमण भएको शंका लागेमा स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुपर्ने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *