बिहानको पहिलो पिसाब किन पहेँलो हुन्छ?
सवाल : बिहान उठ्दा पिसाब किन पहेँलो आउँछ?
जवाफ : बिहान उठ्नासाथ पिसाब गर्दा हल्का पहेँलो हुन्छ भने त्यसलाई स्वस्थ नै मान्नुपर्छ।
राति सुतेका बेला मिर्गाैलामा चाहिनेजति मात्रामा पानी पुग्छ। थोरै पानी पिउँदा पिसाब पहेँलो हुन्छ भने त्यहाँनेर मिर्गाैलामा केही समस्या हुनसक्छ कि भन्ने हो। नत्र स्वस्थ मानिसको बिहानको पहिलो पिसाब हल्का पहेँलो हुनु राम्रो हो।
शरीरका कतिपय फोहोर पिसाबबाट पनि बाहिरिन्छ। त्यही फोहोर बाहिरिँदा पनि पिसाब पहेँलो भएको हुनसक्छ। तर, पानी कम भएको बेला गाढा पहेँलो पिसाब आउँछ, त्यो भनेको मिर्गाैलामा केही खराबी हुनसक्छ कि भन्ने हो । राति सुतेको बेलामा पनि मिर्गौला त सक्रिय नै हुन्छ।
यदि मिर्गौलामा खराबी रहेछ भने पिसाबमा फिंज आउँछ । जुन मिर्गौला रोगको पहिलो लक्षण हुनसक्छ । त्यसगरी रातिको समयमा धेरैपटक पिसाब लाग्छ भने पनि मिर्गौला बिग्रिएको संकेत हुनसक्छ।
हामीले मिर्गौलालाई स्वस्थ्य राख्नको लागि पनि दैनिक २ लिटर पानी पिउनुपर्छ।
शरीरमा विभिन्न फोहोर जम्मा भएर बसेका हुन्छन्, त्यसलाई बगाउनको लागि पनि प्रशस्त मात्रामा पानी पिउनुपर्छ।