कोरोना कहर : ‘कैलालीका नाका बन्दको हल्ला मात्रै’

भारतमा नोवेल कोरोना भाइरसका विरामी बढ्नथालेपछि नेपालसँग जोडिएका सीमा नाका बन्द गरेको भन्दै विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित भएका छन्। तर, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सो विषयमा औपचारीक जानकारी नभएको बताएका छन्।

उनले सीमा नाका बन्द हुनु अघि सम्बन्धित क्षेत्रको जिल्ला प्रशासन कार्यालमा जानकारी गराइनुपर्ने प्रावधान रहेको बताए। तर, पछिल्लो समय भारतले सीमा नाका बन्द गरेको भन्दै समाचार आइरहँदा कैलालीमा पर्ने सीमा बन्द गर्ने विषयमा कुनै निकायबाट जानकारी नआएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

‘सीमा नाका बन्द हुँदा गृह मन्त्रालयबाट २४ घण्टा अगावै जिल्लामा जानकारी हुन्छ’ प्रमुख जिल्ला अधिकारी बोहरालले भने, ‘तर हालसम्म हामीलाई कुनै जानकारी छैन।’ उनले सर्वसाधारणलाई भ्रममा नपर्नसमेत आग्रह गरेका छन्।

कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागु हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको भन्दै विभिन्न विद्युतिय सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि सर्वसाधारणमा भने कुन नाका बन्दहुने हो भन्ने चासो बढेको छ।

यसै विच भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजन अन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ।

विज्ञप्ति अनुसार नेपालसँग जोडिएका सीमा नाकाबाट विदेशी नागरिकको आवागमन बन्द रहे पनि नेपालीलाई भने सीमामा ओहोरदोहोर गर्न कुनै समस्या नहुने स्पष्ट पारेको छ। भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ।

नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट विदेशी यात्रु ओहोरदोहोर बन्द गरिने विज्ञप्तिमा उल्लेख छ।

भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्रै बन्देज लगाइएको हो। नेपाली नागरिकको हकमा यसले फरक पर्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय