रोगले मान्छे चिन्दैन, सबै एक भएर लडौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका अधिकांश जिल्लामा अहिले सामान्य रुघाखोकी, ज्वरो आउँदा र श्वासप्रश्वासमा कुनै समस्या देखिए अस्पताल पुग्ने क्रम बढेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरससँग मिल्दो लक्षण देखा परेर अस्पताल पुग्ने क्रम बढेको तर यसबाट आत्तिनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोद बिन्दु शर्मा भन्छन्, ‘अहिले सामान्य रुघाखोकी लागे पनि कोरोना भइहाल्यो कि भन्ने आशंका बढेको छ । तर आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ आत्तिनुपर्ने अवस्था नभए पनि सतर्कता भने अपनाउन उनको सुझाव छ ।

हालसम्म गण्डकी प्रदेशमा ५ जना शंकास्पद व्यक्ति भेटिएको तर २ जनाको रिपोर्ट नेगेटिभ आएको शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए । बाँकी ३ जनाको रिपोर्ट आउन बाँकी छ । तत्कालका लागि अहिले गण्डकी प्रदेशमा १ सय बेड क्षमताको आइसोलेसन स्थापना गरिसकेको बताए । उनले भने, ‘हामीले तत्कालका लागि १ सय बेड क्षमताको आइसोलेसन स्थापना गरेका छौं । उद्धारका लागि एम्बुलेन्सको व्यवस्था पनि गरिएको छ ।’

क्वारेन्टाइन स्थल व्यवस्थापनका लागि स्थानको खोजी भइरहेको उनले बताए । पोखराका ४ अस्पतालमा ७० बेड र तनहुँको एउटा अस्पतालमा ३० बेड गरी पाँच अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालले १५, गण्डकी मेडिकल कलेजले १५, चरक मेमोरियल अस्पतालले ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले १० र तनहुँको जी.पी कोइराला श्वासप्रश्वास केन्द्रले ३० बेड तयारी अवस्थामा राखेका छन् ।

अर्का चिकित्सक डा. सिपी आचार्य नेपालमा कोरोनाकै डरले मास्क लगाउनेको संख्या बढेको तर मास्क लगाउनुपर्ने अवस्था सिर्जना भइनसकेको बताउँछन् । छाती रोग विशेषज्ञ रहेका उनले स्वस्थ मानिसले मास्क लगाउँदा आवश्यक परेकाले पनि मास्कको प्रयोग गर्न नपाएको बताए । डा. आचार्यले भने, ‘स्वस्थ मानिसले मास्क लगाइरहनु पर्ने अवस्था छैन । सबैले मास्क लगाइँदिदा आवश्यक परेकाले पनि पाउन सकिरहेका छैनन् ।

कोरोना रोकथामका लागि बजेट अभाव हुन्न : मुख्यमन्त्री

कोरोनाको रोकथामका लागि प्रदेश सरकारले बजेटमा कुनै कमी हुन नदिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्वघोष गरेका छन् । सबै विधि प्रक्रिया पु¥याएर प्रदेश सरकार कोरोना रोकथामका लागि बजेट दिन तयार रहेको उनले स्पष्ट पारे ।

‘१ अर्ब खर्च गर्न प¥यो भने पनि कोरोनाका लागि त्यो खर्च गर्न गण्डकी प्रदेश सरकार तयार छ ।’ उनले भने, ‘कोरोनाको नाममा हाम्रो थैली जता पायो त्यहीँ फुकाउन भएन । त्यसमा पार्दशिताको कुरा छ, विधि प्रक्रियाको कुरा छ । यही कुराले कहिलेकाहीँ ढिलोचाँडो हुन सक्छ ।’

कोरोनालाई युद्धको रुपमा चित्रण गर्दै मुख्यमन्त्री गुरुङले यसबाट जोगिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । ‘यो युद्ध हो । सामान्य अरुले बेलाजस्तो समय होइन । यसबाट सिपाही, कमाण्डर मात्र होइन सबै जनता मर्छन् ।’ उनले भने, ‘रोगले मान्छे हेर्दैन सबै सचेत भएर लाग्नुपर्छ।’

कोरोना लाग्नै नदिने सिद्धान्तमा आधारित रहेर प्रदेश सरकारले काम गरिरहेको उनले सुनाए । ‘यो आउनुभन्दा अगाडि रोकथाम कसरी गर्ने भन्नेमा हामी केन्द्रित छौं । भोलि आइहाल्यो भने हामीसँग उन्नत प्रविधि छैन, अस्पतालमा पूर्वाधार राम्रो छैन । त्यसैले प्रदेश सरकार सचेत भएर पूर्वतयारीमा जुटेको छ,’ उनले भने । सचेतना फैलाउने काम केन्द्र र प्रदेश सरकारबाट मात्र नभई स्थानीय तहले पनि गर्नुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका सबै जिल्लामा आइसोलेसन बेड स्थापनाको काम भइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘म म्याग्दी, बागलुङ लगायतका जिल्लामा पुगेर हेरेँ । त्यहाँका अस्पतालम पनि बेड छुट्याउने काम भइरहेको छ ।’

प्रदेश सरकारले विभिन्न विषयगत समिति बनाएर कोरोना संक्रमणबाट जोगिनका लागि तयारी गरिरहेको छ । कोरोनाको रोकथामका लागि मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशन समिति, प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्तरीय निर्देशन समिति र अन्य विभिन्न १० वटा विषयगत समिति गठन भएका छन् ।

विश्वभर अहिले कोरोना भाइरस (कोभिड–१९) को संत्रास फैलिएको छ । नेपालमा पनि कोरोनाले आतंक मच्चाएको छ । घर, चोक, सडक हरेक ठाउँमा कोरोनाकै चर्चा छ । हालसम्म कोरानाका कारण ५ हजार बढीले ज्यान गुमाएका छन् भने १ लाख ३२ हजार बढी मानिसमा संक्रमण फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय