ल्याब परीक्षणबिनै ‘कोरोना’ नभएको प्रमाणपत्र !

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा युवाको लाम लागिरहेको थियो । लाम बिरामीको होइन, विदेश जाने युवाको थियो ।

विदेश उड्नका लागि म्यानपावरले ‘कोरोना संक्रमण’ नभएको प्रमाण खोजेपछि उनीहरू टेकु अस्पताल पुगे । अस्पतालको काउन्टरमा पुगेर ३० रूपैयाँको ‘ओपिडी टिकेट’ किने ।

न ल्याब परीक्षण भयो, न अन्य कुनै चेकजाँच । डाक्टरको कोठामा पुगेर लक्षण नदेखिएको लेखाए । अस्पताल प्रशासनमा पुगेर अस्पतालको छाप लगाए । त्यही नै ‘कोरोना’ नभएको प्रमाणपत्र बन्यो ।

शुक्रराज ट्रपिकल अस्पताल मात्रै होइन, अहिले स्थानीय प्राथमिक स्वास्थ्यकेन्द्रहरूले समेत त्यस्तो प्रमाणपत्र दिन थालेका छन् ।

देशभरिमा कोरोना रोगको संक्रमण पुष्टि गर्न सक्षम र आधिकारिक ल्याब काठमाडौंमा मात्रै छ, त्यो केन्द्रीय प्रयोगशाला अर्थात् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्रै हो ।

तर, अहिले विनाकुनै ल्याब परीक्षण ‘कोरोना संक्रमण छैन’ भन्ने प्रमाणपत्र बनिरहेका छन्, जबकि कोरोना भए–नभएको यकिनका लागि ल्याब परीक्षणको विकल्प छैन । त्यसमा पनि शंकास्पद लक्षण देखिएका तथा संक्रमित व्यक्ति वा क्षेत्रको सम्पर्कमा आएका व्यक्तिमा १४ दिनको अन्तरमा दुईपटक परीक्षण गरेर दुवैमा नेगेटिभ रिपोर्ट आएपछि मात्र संक्रमण नभएको मान्ने अभ्यास विश्वभर चलिरहेको छ, जुन विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड पनि हो ।

बिदेसिनेको बाध्यता
शुक्रबार स्वास्थ्य परीक्षण गर्नेको लाइनमा थिए, प्युठानका युवा हेमन्त हमाल । साउदी अरेबिया जान उनले टिकट लिइसकेका छन् । भोलि (शनिबार) बिहान १० बजे उनी साउदी उड्न लागेका छन् ।
तर, उनलाई म्यानपावर कम्पनीले कोरोना संक्रमण नरहेको प्रमाणित गरेर विदेश जाँदा समस्या नहुने बताएपछि उनी टेकु पुगे ।

‘विदेश जान भाइरसको संक्रमण नभएको प्रमाणपत्र लिन लाइनमा बसेको हुँ,’ हेमन्त भन्छन्, ‘कोरोनाको कारण सबैमा त्रास छ, म्यानपावर कम्पनीले परीक्षण गरेर आउनू भनेपछि गर्नैपर्यो ।’

केहीबेरपछि उनी डाक्टरको कोठामा पुगे । ‘कोरोना संक्रमणको लक्षण’ नभएको कार्डमा अस्पतालले छाप लगाइदिएपछि उनी खुसी हुँदै बाहिरिए ।
सप्तरीबाट शुक्रबार काठमाडौं आइपुगेका भगतकुमार मण्डल, आइतबार साउदी उड्दै छन् ।
म्यानपावर कम्पनीले कोरोना भए–नभएको पुष्टि गराई प्रमाणपत्र ल्याउन भनेपछि उनी पनि टेकु अस्पतालको लाइनमा पुगे ।

‘यस्तो वेला डर त सबलाई हुन्छ नि !’ मण्डल भन्दै थिए, ‘तर, के गर्नु, विदेश पनि जानैपर्नेछ ।’

‘लक्षण नदेखिएको भन्ने मात्रै हो’
कोरोना भाइरसको संक्रमण परीक्षण गर्न दैनिक ३ सयभन्दा बढी टेकु अस्पताल पुग्छन् । अस्पतालका प्रवक्ता एवम् सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले अस्पतालले कोरोना भाइरसको परीक्षण गरेको नभई रोगका लक्षण देखिएको वा नदेखिएको मात्रै चेक गरेको बताए ।

‘टेकु अस्पतालले कोरोना भाइरस परीक्षण गर्दैन, हामीले त रोगका लक्षण हेरेर स्वास्थ्य परीक्षण मात्रै गर्ने गरेका हौँ,’ डा. बास्तोलाले भने, ‘टेकु अस्पतालले ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्याजस्ता लक्षण मात्रै हेर्ने गरेका छौँ ।’

अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडाले विदेश जानेहरू एक सातादेखि यसरी प्रमाणपत्र लिन आउने गरेको बताए ।
‘स्वास्थ्य परीक्षणको प्रमाणपत्र सधैँ हामीले नै दिने गरेका छौँ, अहिले संख्या बढेको मात्रै हो,’ सूचना अधिकारी खतिवडा भन्छन्, ‘टेकु अस्पतालले स्वास्थ्य परीक्षणको प्रमाणपत्र नदिए कसले दिने ? विदेश जाने युवाको समस्या हेरेर रिपोर्ट दिने व्यवस्था गरेका हौँ ।’

उनका अनुसार अस्पतालले कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्नेसम्म मात्रै प्रमाणित गरिदिएको बताए ।
‘परीक्षणका लागि आइसकेपछि आएको मिति तथा समयसम्म कुनै लक्षण नदेखिएको प्रमाणपत्र दिनु हाम्रो कर्तव्य तथा अस्पतालको अधिकार क्षेत्रको विषय हो,’ खतिवडाले भने ।

कोरोना भाइरसको संक्रमण परीक्षण गरेको १४ दिनसम्म देखिन सक्ने सम्भावना हुन्छ । तर, बिदेसिन लागेका युवा भने आजको मितिलाई मात्रै ध्यान दिइरहेका छन् । अस्पतालले पनि लक्षण नदेखिएकै आधारमा प्रमाणपत्र दिने गरेको छ ।

प्राथमिक स्वास्थ्यकेन्द्रबाटै कोरोना नभएको पुष्टि !


१९ माघ (२० फेब्रुअरी)मा निजगढा नगरपालिका बारामा रहेको प्राथमिक स्वास्थ्यकेन्द्रले एकजना महिलाको नाममा एउटा पत्र दियो । पत्रमा ती महिला ‘शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त रहेको’ प्रमाणित गरिएको छ ।
त्यति मात्र होइन, पत्रमा ती महिलालाई ‘हेपाटाइटिस बी, एचआइभी, कोरोना र अन्य सरुवारोगको कुनै प्रमाण नभएको’ लेखिएको छ, जब कि यी रोगको संक्रमण भए–नभएको पुष्टि ल्याब परीक्षणपछि मात्रै सम्भव छ ।

अर्काे कुरा, कुनै पनि स्वास्थ्यचौकी वा प्राथमिक स्वास्थ्यकेन्द्रहरूमा यस्ता संक्रमण (विशेषगरी कोरोना भाइरस) पुष्टि गर्ने ल्याब छैनन् । कोरोना परीक्षणका लागि देशैभरमा एउटा मात्र आधिकारिक प्रयोगशाला उपलब्ध छ, त्यो हो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ।

कसैले पनि कोरोना नभएको प्रमाणपत्र दिन मिल्दैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा यसरी कसैले पनि संक्रमण नभएको पुष्टि गर्दै प्रमाणपत्र दिन नमिल्ने बताउँछन् ।
‘हामीलाई पनि यस्तो सूचना आएको छ, अब सबै स्थानीय सरकारलाई त्यस्तो काम बन्द गर्न आह्वान गर्दै छौँ,’ हेल्थपोस्ट नेपालसँग कुरा गर्दै उनले भने, ‘सामान्य लक्षण छ कि छैन भनेर चेकजाँच गर्नेसम्म हो । तर, कसैले पनि यसरी कोरोना भए–नभएको पुष्टि गरेर प्रमाणपत्र दिन मिल्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय