छुट्टै आइसोलेसन अस्पताल र क्वारेन्टाइनका लागि ठाउँ खोज्दै प्रदेश ५ सरकार

प्रदेश ५ सरकारले प्रदेशमा सम्भावित कोरोना भाइरस प्रकोपको पूर्वतयारीस्वरूप अस्पतालहरूमा आइसोलेसन बेडको तयारी गर्दै छुट्टै आइसोलेसन अस्पताल र क्वारेन्टाइनस्थलको समेत खोजी गरिरहेको जनाएको छ । प्रदेश सरकारका अनुसार प्रदेश ५ मा हालसम्म ८९ वटा आइसोलेसन बेड तयार भएका छन् ।

प्रदेशका १४ अस्पतालमा गरी ती बेड तयार गरिसकिएको र आवश्यक देखिए बढाउन सक्ने गरी योजना गरिएको सरकारको भनाइ छ । सरकारले प्रदेशका १८ वटा अस्पताललाई पूर्वतयारीस्वरूप आइसोलेसन बेड, फोकल पर्सन र सम्पर्क नम्बरसहित खुलाउन पत्राचार गरेको थियो । प्रदेश सरकारको निर्देशनअनुसार १४ वटा अस्पतालले विवरण पठाइसकेका छन् ।

स्वास्थ्य निर्देशनालयद्वारा आयोजित नोबेल कारोना भाइरससम्बन्धी पत्रकारसितको अन्तरक्रियामा प्रदेश ५ सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले आइसोलेसन बेड र फोकल पर्सनको सम्पर्क नम्बर प्राप्त भएको जानकारी गराए ।

उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ बेड, भेरी अस्पताल बाँकेमा ४ बेड, पृथ्वीचन्द्र अस्पताल परासीमा ५ बेड, कपिलवस्तु अस्पतालमा ४ बेड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० बेड, देवदह मेडिकल कलेजमा १५ बेड आइसोलेसनका लागि छुट्याइएको छ । त्यसैगरी, लुम्बिनी मेडिकल कलेज पाल्पामा १० बेड, युनिभर्सल मेडिकल कलेज भैरहवामा १० बेड, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ६ बेड, मिसन अस्पताल पाल्पामा ६ बेड, बर्दिया अस्पतालमा २ बेड, गुल्मी अस्पतालमा ७ बेड, राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा ३ बेड र भीम अस्पताल भैरहवामा ४ बेड आइसोलेसनका लागि छुट्याइएका छन् ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश ५ का ६ जिल्लाको सीमा भारतसँग जोडिएकाले प्रदेश सरकारले स्थानीय सरकारसँगको सहकार्यमा हेल्प डेक्समार्फत चेकजाँचमा सहयोग पुर्याइरहेको बताए । दुई देशका अधिकारीबीच खुला सीमालाई व्यवस्थित गर्नेबारे कुरा भइरहेको उनले बताए । नेपालगन्ज, दाङ र बुटवलमा क्वारेन्टाइन बनाउन ठाउँ खोजिरहेको उनको भनाइ छ ।

‘हामीले सेना र प्रहरीलाई भनिसकेका छौँ,’ मन्त्री बरालले भने, ‘उहाँहरूले ठाउँ हेरिरहनुभएको छ ।’ सेना र प्रहरीका अस्पताललाई छुट्टै आइसोलेसन अस्पताल बनाउने सम्बन्धमा समेत कुराकानी भइरहेको उनले बताए ।

प्रदेश ५ मा कोरोनाको शंकास्पद लक्षण देखिएका व्यक्तिको चेकजाँचका लागि रगतको नमुना लिने विधि र प्रक्रियाबारे तीनजना टेक्निसियनले तालिम लिएर आइसकेको र उनीहरूबाट करिब दुई दर्जन स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले तालिम दिन लागेको अन्तरक्रियामा जानकारी दिइयो ।

शंकास्पद लक्षण देखिएका २ मध्ये एकको रिपोर्ट नेगेटिभ, अर्कोको रिपोर्ट आउन बाँकी
प्रदेश ५ मा कोरोनाका दुईजना शंकास्पद बिरामी भेटिएकोमा ल्याब परीक्षणमा एकजनाको रिपोर्ट नेगेटिभ आएको र अर्का एकजनाको परीक्षण रिपोर्ट आइनसकेको प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले जानकारी दिए । उनले प्रदेश सरकारले छुट्टै आइसोलेसन हस्पिटलका लागि घर खोजिरहेको बताए । संक्रमित बिरामी भेटिएमा उनीहरूको उपचारका लागि छुट्टै हस्पिटलको तयारी गरिएको डा. गिरीको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अस्पतालमा हालसम्म त्यस्ता बिरामी नआएकाले अन्य सेवा प्रभावित नहुने गरी अहिलेलाई दुईवटा मात्रै आइसोलेसन बेडको व्यवस्था गरिएको बताए । आवश्यक देखिनेबित्तिकै अरु बेड थप्न अस्पताल सक्षम रहेको उनको भनाइ छ ।

नेपाल–भारत सीमानाकाका डेस्कमार्फत बिहीबारसम्म ९ हजार ४ सय ३४ जनाको स्वास्थ्य परीक्षण गरिएको र बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने २ हजार ८ सय जनाको सीमामा स्वास्थ्य परीक्षण भएको अन्तरक्रियामा जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय