चितवनबाट पठाइएका ३ नमुनामध्ये २ मा कोरोना नेगेटिभ तर पोजेटिभ भएको अफवाह फैलाइँदै, एकको रिपोर्ट आउनै बाँकी


नोबेल कोरोना भाइरसको शंकास्पद लक्षण देखिएका तीन बिरामीमा संक्रमण भए–नभएको पुष्टि गर्न चितवनबाट नमुना काठमाडौं पठाइएको छ । मिल्दोजुल्दो लक्षण लिएर भरतपुर अस्पतालमा उपचार गराइरहेका उनीहरूको नमुना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको हो ।

भरतपुर अस्पतालमा बिहीबार बसेको कोरोना रोग रोकथाम र नियन्त्रण समन्वय समितिको बैठकपछि जारी गरिएको विज्ञप्तिमा पछिल्लो एक महिनाको अवधिमा तीनजनाको नमुना परीक्षणका लागि पठाइएको जानकारी गराइएको छ । यसअघि दुईजनाको नमुना परीक्षण गरिएकोमा दुवैको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । तर, अस्पतालको विज्ञप्तिसमेत किर्ते गरी सच्याई कोरोना पोजेटिभ भएको अफवाह समाजिक सञ्जाल र केही स्थानीय सञ्चारमाध्यमले समेत फैलाइरहेका छन् । बिहीबार गरिएको परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको आइसोलेसन वार्डलाई विस्तार गरेर १९ शय्याको बनाइएको उल्लेख छ । त्यसैगरी, अस्पतालले नोवेल कोरोना रोकथाम तथा व्यवस्थापन समितिलाई विस्तार गरी तीनजनाबाट १३ जना बनाएको जनाएको छ ।

बिहीबार बसेको रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सरकारले निर्देशन गरेबमोजिम जनचेतनामूलक र अन्य नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । कोरोना परीक्षण गर्दैमा नआत्तिन अस्पताल प्रशासनले सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय