स्टार फुटबलर रोनाल्डो क्वारेन्टाइनमा

पोर्चुगलका विश्वचर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइन बसेका छन् । आफ्नो टिममा सँगै खेलेका एक डिफेन्डरलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि सिरिए क्लब युभेन्टसका स्ट्राइकर रोनाल्डो बिहीबार आफ्नै घर म्याडेरियामा क्वारेन्टाइनमा बसेका हुन् । उनी भर्खरै स्ट्रोकले पीडित बनेकी आफ्नी आमालाई भेट्न घर गएका थिए ।

युभेन्टसका डिफेन्डर ड्यानियल रुगानीमा कोरोना संक्रमण पुष्टि भएको छ । रोनाल्डोले ड्यानियलसँग आइतबार ड्रेसिङ रुम सेयर गरेका थिए । आइतबार युभेन्टसले इन्टरमिलानलाई २–० ले हराएको थियो । जितपछि पूरै टिमले संक्रमित ड्यानियलसित खुसी मनाएका थिए । युभेन्टसले सबै खेलाडीलाई क्वारेन्टाइनमा बस्न भनेको छ । कोरोना भाइरसको जोखिमका कारण खेल दर्शकविना नै खेलाइएको थियो । अन्ततः सिरिए लिग ३ अप्रिलसम्मका लागि स्थगित गरिएको छ ।

इटली कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएपछि सिरिए लिग बन्द मैदानमा खेलाइँदै थियो । इटली सरकारले सबै जनतालाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । तर, सिरिए लिगका केही खेल मात्र बाँकी रहेकाले व्यवस्थापनले स्थगित नगरेर दर्शकविना खेलाडी र अफिसियलको मात्र उपस्थितिमा खेलाउने निर्णय गरेको थियो । इटली चीनपछि कोरोनाबाट सबैभन्दा प्रभावित देश हो ।

पछिल्लो डेढ दशकदेखि विश्व फुटबल रोनाल्डो र मेसीको वरिपरि घुमिरहेको छ । रोनाल्डो सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनका करोडौँ फ्यान छन् । उनी क्वारेन्टाइनमा रहेको खबरले विश्वभरका खेलप्रेमी तथा समर्थकलाई चिन्तित तुल्याएको छ ।

स्पेनिस क्लब रियल म्याड्रिडका फुटबल, बास्केटबललगायतका खेलाडीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ एक बास्केटबल खेलाडीमा संक्रमण पुष्टि भएपछि सबैलाई क्वारेन्टाइनमा बस्न भनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय