चितवनमा दादुरा–रुबेलाका बिरामी बढ्दै, निवारणकाे दोस्रो लक्ष्य पनि हासिल नहुने आशंका

हेल्थपोस्ट नेपाल

चितवनमा करिब डेढ वर्षदेखि पुन: दादुरा–रुबेला रोग देखापर्न थालेको छ । दुई वर्षअघि दादुराका बिरामी शून्य रहेको चितवनमा पछिल्लो १४ महिनामा २३ जना बिरामी फेलापरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार सन् २०१९ मा १९ र २०२० मा चारजना बिरामी फेलापरेका हुन् ।

‘सन् २०१७ र २०१८ मा दादुरा–रुबेलाका बिरामी शून्य थिए,’ जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख तथा वरिष्ठ स्वास्थ्य अधिकृत दीपक तिवारीले भने, ‘२०१९ मा ५२ जनामा परीक्षण गरिएकोमा १९ र ०२० मा ८ वटा नमुना परीक्षणमा ४ वटाको नतिजा पोजेटिभ आएको छ ।’

तराईबाट आएका काठ, तरकारी र इँटाभट्टामा काम गर्दै आएका अभिभावकका बालबालिकालाई दादुरा देखिएको उनले बताए । दादुरा–रुबेला खोप लगाउन ढिला भएका कारण पनि पछिल्लो समयमा यसका बिरामी देखापर्न थालेको उनको भनाइ छ । अन्तिमपटक चितवनमा आर्थिक वर्ष ०७१/७२ मा खोप अभियान सञ्चालन गरिएको थियो । भूकम्प र कर्मचारी समायोजनका कारण नेपाल सरकारको नियमित खोप अभियान सञ्चालन गर्न ढिला भएको उनको भनाइ छ ।

दादुराविरुद्धको खोप प्रत्येक चार वर्षमा लगाउनुपर्ने हुन्छ । यो रोग विशेषगरी पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई लाग्ने गर्छ । नेपाल सरकारले ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई निःशुल्क खोप दिने गर्छ । खोप लगाएमा ७५ प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ ।

निवारणको दोस्रो लक्ष्य पनि भेट्न नसकिने आशंका
नेपाल सरकारले दोस्रोपटक सन् २०२३ सम्ममा दादुरा–रुबेला निवारण गर्ने लक्ष्य राखेको छ । यसअघि सरकारले सन् २०१९ भित्र नेपालबाट दादुरा निवारणको लक्ष्य लिएको थियो । नियमित खोप अभियान चलाउँदा पनि लक्ष्य हासिल हुन सकेको थिएन । त्यसपछि सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको २०२३ को लक्ष्य पछ्याएको हो । तर, चितवनलगाय जिल्लामा दादुरा रोगका बिरामी बाक्लै देखिँदा सरकारको लक्ष्य पूरा नहुने आशंका थपिएको छ ।

हाल विश्वमा दादुराबाट हुने मृत्यु भने ६६ प्रतिशतले घटेको भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. युवानिधि बर्सौलाले जानकारी दिए । तर, चितवनसँगै कपिलवस्तु, मोरङ, दाङलगायत जिल्लामा नयाँ बिरामी थपिँदै गएपछि नेपालको निवारण लक्ष्यमा भने धक्का लागेको छ ।

डब्लुएचओको सन् २०१८ को तथ्यांकअनुसार नेपालमा जम्मा २५३ जना दादुराका बिरामी थिए । तर, निवारण लक्ष्य नजिकिँदै जाँदा बिरामी संख्या घट्नुको साटो झन् थपिँदै गएको छ । निवारण लक्ष्य प्राप्तिका लागि कम्तीमा ९० प्रतिशत बालबालिका खोपको पहुँचमा आउनु जरुरी भएको विज्ञको भनाइ छ । तर, नेपालमा करिब ७८ प्रतिशतमा मात्र खोपको पहुँच रहेको सरकारी तथ्यांक छ । नेपाल सरकारले खोप खरिदका लागि मात्र वार्षिक दुई अर्ब खर्च गर्दै आएको छ, जसमा ८० प्रतिशत दातृनिकायको सहयोग रहँदै आएको छ ।

नेपालमा सन् २००३ देखि दादुरा–रुबेलाको देशव्यापी सर्भिलेन्स सुरु भएको हो । नेपालमा खोप लगाएको दुई–तीन वर्षपछि दादुरारोगी बढ्ने गरेको उनले बताए । सन् २०१९ मा ३६६ जनामा दादुरा रोग देखापरेको उनले जानकारी दिए ।

चितवनमा २ चैतदेखि दादुरा–रुबेलाविरुद्धको खोप दिइँदै
चितवनमा यसपटकको दादुरा–रुबेलाविरुद्धको खोप अभियान २ चैतदेखि सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले जिल्लाका सात स्थानीय तहमा खोप अभियान सुरु गर्न लागेको हो । चार वर्षपछि सुरु गर्न लागिएको खोप अभियान चितवनमा दुई चरणमा सञ्चालन गरिनेछ ।

पहिलो चरणअन्तर्गत २ देखि ७ चैतसम्म भरतपुर महानगरपालिका, रत्ननगर, माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए । त्यस्तै, दोस्रो चरणमा १० देखि १८ चैतसम्म राप्ती र खैरहनी नगरपालिकामा खोप सञ्चालन गरिने भएको छ । यस अभियानमा नौ महिनादेखि पाँचमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाइने भएकाले आफ्ना बालबालिकालाई नजिकको खोपकेन्द्रमा लगेर खोप लागाउन अभिभावकलाई स्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।

चितवनमा ५८ हजारलाई खोप दिने लक्ष्य, कुन स्थानीय तहमा कति स्वास्थ्यकर्मी खटिँदै ?
यसपटक चितवनमा ५८ हजार ९ सय ८३ जना बालबालिकालाई खोप लगाइने लक्ष्य कार्यालयको छ । खोप अभियान सम्पन्न गर्न ५ सय ६८ केन्द्रमा १ हजार १ सय ३६ स्वयंसेवक र १ सय ३२ खोप कार्यकर्ता खटिनेछन् । यसअघि पहिलो र दोस्रो डोज लगाएका पाँच वर्षमुनिका बालबालिकाले पनि खोप लगाउन सक्ने कार्यालयका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले जानकारी दिए । खोप अभियानमा खोप तथा कोल्डचेन, शैक्षिक सामग्री आपूर्ति तथा वितरणसमेत गरिने भएको छ ।

चितवनका सात स्थानीय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा खोपकर्ता र स्वयंसेवक खटिनेछन् । भरतपुर महानगरपालिकाका २ सय ५९ खोपकेन्द्रमा ४० खोपकर्ता र ५ सय १८ स्वयंसेवक खटाइने कार्यालयले जानकारी दिएको छ । रत्ननगर नगरपालिकाका ६३ खोपकेन्द्रमा १६ खोपकर्ता र १ सय २६ स्वयंसेवक, कालिका नगरपालिकाका ४२ केन्द्रमा ८ खोपकर्ता र ८४ स्वयंसेवक, खैरहनीका ५२ केन्द्रमा १३ खोपकर्ता र १ सय ४ स्वयंसेवक खटिनेछन् । त्यस्तै, राप्तीका ६७ केन्द्रमा १५ खोपकर्ता र १ सय ३४ स्वयंसेवक, माडीका ४४ केन्द्रमा २८ खोपकर्ता र ८८ स्वयंसेवक र इच्छाकामना गाउँपालिकाका ४१ केन्द्रमा १२ खोपकर्ता र ८२ स्वयंसेवक खटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुरुमा खोप लगाउँदा सामान्य ज्वरो आउने, सुई लगाएको ठाउँमा दुख्ने, रातो हुने वा सुन्निन सक्ने भएकाले त्यस्ता लक्षणसित नआत्तिन उनको आग्रह छ । ‘भ्याक्सिन लगाइसकेपछि व्यक्तिको शरीरमा अन्तर्निहित प्रतिरोधात्मक शक्तिले प्रतिक्रिया गर्दा सामान्य असर देखापर्ने गर्छन्,’ उनले भने ।

‘दादुराको खोप ७५ प्रतिशतसम्म प्रभावकारी छ,’ कार्यालय प्रमुख तिवारीले बताए । सुरुमा खोप लगाउँदा सामान्य ज्वरो आउने, सुई लगाएको ठाउँमा दुख्ने, रातो हुने वा सुन्निन सक्ने भएकाले त्यस्ता लक्षणसित नआत्तिन उनको आग्रह छ । ‘भ्याक्सिन लगाइसकेपछि व्यक्तिको शरीरमा अन्तर्निहित प्रतिरोधात्मक शक्तिले प्रतिक्रिया गर्दा सामान्य असर देखापर्ने गर्छन्,’ उनले भने ।

खोपपश्चात् गम्भीर प्रकारका अवाञ्छित छटना पनि हुन सक्छन् । यस्ता घटनाबाट जोखिम निम्तिनुका साथै ज्यानै पनि जान सक्ने डा. बर्सौलाले बताए ।
‘खोपपश्चात् सिर्जना हुने केही अवस्थालाई गम्भीर प्रकारका अवाञ्छित घटनाका रूपमा लिनुपर्छ,’ डा. बर्सौलाले भने, ‘कोहीमा खोप लगाएको ठाउँमा दुख्ने, ज्वरो तथा डाबर आउने, मस्तिष्कको सुजन हुने, प्लेटलेट्स कम हुने हुन सक्छन् । तर, मस्तिष्क सुजन, प्लेटलेट्सको कमी र एनाफाइलेक्सिस खोप लिएका १० लाखमध्ये एकजनालाई हुन्छ ।’

खोप लगाउँदा ध्यान दिनु आवश्यक
डा. बर्सौलाका अनुसार ‘एड्रिनालिन’ थोरै मात्रमा दिनुपर्ने हुन्छ । यसका लागि उपयुक्त सिरिन्जको प्रयोग गर्नुपर्ने उनले बताए ।
‘सिरिन्जको प्रयोग गर्दा कुनै उल्झन नहुनका लागि १ मिलिको सिरिन्ज मात्र प्रयोग गर्नुपर्छ, जसमा १० ठूला धर्का हुन्छन् । एड्रिनालिनको मात्रा तीनपटकभन्दा बढी दिन मिल्दैन,’ उनले भने, ‘एड्रिनालिन दिएपछि त्यसको अभिलेख राख्नुपर्छ ।’ खोपलाई व्यवस्थित बनाउन स्वास्थ्यकर्मीलाई तालिमसमेत प्रदान गरिएको कार्यालयले जानकारी दिएको छ ।

दादुरा–रुबेला रोग मिजल्स नामक भाइरसका कारण लाग्ने कार्यालय प्रमुख तिवारीले बताए । शरीरमा ज्वरो आउनु, राता बिमिरा देखापर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसका साथै रुघाखोकीका लक्षण पनि देखिन सक्छन् । यसबाट बच्न अनिवार्य खोप लगाउनुपर्ने उनको भनाइ छ ।

के हो दादुरा ?
दादुरा एउटा भाइरसका कारण लाग्ने रोग हो । यो प्रायः बालबालिकामा लाग्छ । ‘दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ,’ डा. शर्मा भन्छन्, ‘कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा संक्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ ।’

यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । डब्लुएचओका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।

दादुरा आउँदा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ । दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या देखिन्छ ।

दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । यो रोग खोक्दा वा हाच्छिऊँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका स–साना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने काम गर्छन् ।

दादुराको लक्षण
दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो आउनु । ज्वरोको सुरुवातमा दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहने हुन्छ ।
दादुरा आउँदा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ । दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभएको खण्डमा रोगीको मृत्युसमेत हुन सक्छ ।

उपचार
दादुराको कुनै विशेष एन्टिभाइरल उपचार छैन । यो रोगका कारण हुने कडा जटिलताहरूलाई सहयोगी उपचार, स्याहारका माध्यमले कम गर्ने प्रयास गरिन्छ । राम्रो पोषण, पर्याप्त तरलपदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल ओरल रिहाइड्रेसन साल्टका माध्यमले उपचार गरिन्छ । जीवनजलले पखाला र बान्ताका कारण शरीरबाट निस्किएको तरलपदार्थको परिपूर्ति गर्छ । आँखाको संक्रमण र निमोनियाको उपचार गर्न एन्टिबायोटिकसमेत दिइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *