कोरोना भित्रिनै नदिने प्रयासमा सरकार, फैलिहालेमा यस्तो छ रणनीति

सरकारले कोरोना भाइरसबाट बढी प्रभावित ८ देशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइन अनिवार्य गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना संक्रमण फैलिन नदिने सरकारको तयारीबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार चीन, दक्षिण कोरिया, जापान, इरान, इटली, स्पेन, फ्रान्स र जर्मनीबाट आउने व्यक्तिले अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

मन्त्रालयले भाइरसको रोकथाम तथा नियन्त्रणका लागि योजना, रणनीति तथा कार्यक्रम सार्वजानिकसमेत गरेको छ । केही गरी नेपालमा कोरोना संक्रमण देखिएको अवस्थामा महामारी अवधिभर नेपालबाट हुने उडान बन्द गर्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

कोभिड–१९ को संक्रमण फैलिएमा सरकारको यस्तो छ तयारी
पूर्वतयारी
– सबै अस्पतालमा शंकास्पद बिरामीलाई जाँच गर्न छुट्टै कक्षको व्यवस्था,

– मेडिकल हब तथा स्याटलाइट अस्पतालहरूमा आइसोलेसन वार्डको व्यवस्था,

– प्रादेशिक अस्पतालहरूबाट आइसोलेसन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक,

– बिरामीको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमान्ड सिस्टम तयारी अवस्थामा,

– आवश्यकताअनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइनस्थल यथावत्,

– उच्च संक्रमित देशहरूबाट आउने नेपालीका साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन निर्देशन तथा अनुगमन,

– भारतसँग जोडिएका सीमावर्ती प्रवेश नाकाहरूमा आपत्कालीन अवस्थामा क्वारेन्टाइन गर्न आवश्यक पर्ने स्थान र संरचनाहरूको योजना,

– विदेशस्थित कूटनीतिक नियोग तथा दूतावासमार्फत त्यहाँ रहेका नेपालीलाई लक्षित गरी स्वास्थ्य सचेतनासम्बन्धी सूचनाप्रवाह,

– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दैनिक रूपमा जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन सार्वजनिक, रोकथाम र नियन्त्रणको प्रयास जारी ।

संक्रमण फैलिहालेमा रणनीति
– ‘पकेट एरिया लकडाउन’ गर्ने, जसमा वासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेशसमेत रहनेछन् ।

– कोभिड–१९ बाट प्रभावित मुलुकहरूमा नेपालबाट हुने हवाई उडान महामारी अवधिभरका लागि स्थगन गर्ने ।

– स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाकाहरू बन्द गर्ने ।

– महामारी अवधिभर अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात–निर्यात बन्द गर्ने ।

– देशभरका सबै अस्पताल तथा स्वास्थ्यसंस्थामा संक्रमितको प्रभावकारी उपचारका लागि जनशक्ति, आवश्यक उपकरण र प्रविधिको अधिकतम परिचालन गर्ने ।

– आवश्यक परेमा फिल्ड तथा मोबाइल अस्पतालहरूको स्थापना गरी उपचार गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय