कोरोना फैलिन नदिन प्रत्येक स्थानीय तह र वडामा ‘स्थानीय समन्वय समिति’, यस्तो छ कार्यादेश

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस फैलिन नदिन प्रत्येक स्थानीय निकाय तथा वडाहरुमा छुट्टाछुट्टै स्थानीय समन्वय समिति गठन गर्न पत्राचार गरेको छ । मन्त्रालयले बिहीबार समिति गठनको निर्णय गर्दै सबै स्थानीय निकाय तथा वडाहरुमा पत्राचार गरिदिन बिहीबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको हो ।

मन्त्रालयको निर्णअनुसार अब ७५३ वटा स्थानीय तहमा कोरोनाविरुद्ध लड्न स्थानीय समन्वय समिति बन्नेछन् । त्यसैगरी, प्रत्येक वडामा पनि छुट्टै समन्वय समिति गठन हुनेछन् । मन्त्रालयले समिति गठन प्रक्रिया र कार्यादेशसमेत तोकेर पत्राचार गरेको छ ।

समिति गठन र अवश्यक बजेट व्यवस्थापनकाे जिम्मा स्थानीय सरकारलाई दिइएकाे छ । वडास्तरीय समन्वय समितिकाे गठन, बजेट व्यवस्थापन सम्बन्धित स्थानीय सरकारले नै गर्नुपर्ने कार्यादेश मन्त्रालयकाे छ ।

समन्वय समिति गठन प्रक्रिया
स्थानीय तहस्तरीय
मन्त्रालयको निर्णयअनुसार प्रत्येक स्थानीय तह (पालिका)मा सम्बन्धित स्थानीय सरकार प्रमुख (अध्यक्ष/मेयर)को संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गर्नुपर्नेछ । सो समितिमा सम्बन्धित स्थानीय सरकारका उपप्रमुख (पालिका उपाध्यक्ष/उपमेयर)ले सहसंयोजक रहने व्यवस्था छ ।
त्यसैगरी, सम्बन्धि स्थानीय तहअन्तर्गतका सबै वडाध्यक्षहरु समितिको सदस्य रहनेछन् । सम्बन्धित स्थानीय कार्यपालिकाका सदस्यहरु पनि सदस्य रहनेछन् । त्यस्तै, सम्बन्धित पालिकाक्षेत्रभित्र रहेका स्वास्थ्यसंस्थाका प्रमुख समितिको सदस्य रहने व्यवस्था गरिएको छ । साथै, स्थानीय समाजसेवीमध्येबाट स्थानीय कार्यपालिकाले ५ जनालाई समितिमा मनोनीत गर्नुपर्नेछ । त्यसैगरी, सम्बन्धित स्थनीय तहको रेडक्रसको प्रतिनिधि पनि सदस्य रहने व्यवस्था छ । स्थानीय तहको स्वास्थ्य संयोजकले समितिको सदस्य–सचिवका रुपमा काम गर्ने व्यवस्था गरिएको छ ।

काम
स्थानीय तहस्तरीय समन्वय समितिले आफूमातहतका प्रत्येक वडामा कम्तीमा एउटा वडा समन्वय समिति गठन गर्नुपर्ने र तिनको परिचालन गर्नुपर्ने कार्यादेश मन्त्रालयले दिएको छ । साथै, ती वडा समितिहरुलाई आवश्यक बजेटको प्रबन्ध मिलाउने र निर्देशन दिने काम स्थानीय सरकारको हुनेछ ।

त्यसैगरी, आफ्नो स्थानीय तहक्षेत्रमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएका बिरामी देखिएमा तिनको निगरानी गर्ने र आवश्यकताअनुसार घरमै क्वारेन्टाइनमा राख्ने तथा उपचार गराउने जिम्मा स्थानीय तहलाई दिइएको छ । त्यसका लागि मन्त्रालयले शंकास्पद लक्षणहरुसमेत तोकेर पत्राचार गरेको छ ।

वडास्तरीय
मन्त्रालयले प्रत्येक वडामा कम्तीमा एउटा र बढीमा आवश्यकताअनुसार समन्वय समिति गठन गर्न निर्देशन गरेको छ । वडास्तरीय समितिको संयोजक सम्बन्धित वडाध्यक्ष वा निजले तोकेको जनप्रतिनिधि रहने व्यवस्था छ ।

समितिमा सम्बन्धित वडाका सबै जनप्रतिनिधि सदस्य रहने व्यवस्था छ । सम्बन्धित वडामा रहेका स्वास्थ्यसंस्थाका प्रतिनिधि पनि समितिको सदस्य रहनेछन् । त्यसैगरी, सम्बन्धित वडाअन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापक समितिको सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै, स्थानीय समाजसेवीमध्येबाट पाँचजनालाई वडाले सदस्यमा मनोनीत गर्नुपर्नेछ ।
सम्बन्धित वडा कार्यालयको सचिवले वडास्तरको समन्वय समितिको सदस्य–सचिवका रुपमा काम गर्ने व्यवस्था छ ।

काम
वडास्तरीय समन्वय समितिले आफ्नो वडाक्षेत्र तथा समुदायमा बाहिरबाट प्रवेश गर्ने व्यक्तिहरुमा कोरोना भाइरस तथा अन्य फ्लुको संक्रमण भए–नभएबारे निगरानी गर्नुपर्ने मन्त्रालयको कार्यादेश छ । यदि कसैमा संक्रमणको लक्षण देखिएमा उनीहरुलाई बाहिर ननिस्की घरमै बस्ने व्यवस्था मिलाउने जिम्मेवारी वडा समितिको हुनेछ ।

त्यसैगरी, आफ्नो वडाक्षेत्रमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएका बिरामी देखिएमा तिनको निगरानी गर्ने र आवश्यकताअनुसार घरमै क्वारेन्टाइनमा राख्ने तथा उपचार गराउने जिम्मा वडा समितिलाई दिइएको छ । त्यसका लागि मन्त्रालयले संक्रमणका शंकास्पद लक्षणहरुसमेत पत्रमै उल्लेख गरेको छ ।

मन्त्रलयले वडा समितिलाई भाइरस संक्रमणको लक्षण देखिएका बिरामीको हेरचाह तथा उपचारविधिबारे पनि बताएको छ । पर्याप्त झोलिलो पदार्थ खुवाउने, तोकिएको सीमाभन्दा बढी ज्वरो आएमा सिटामोल खुवाउने, अरुलाई संक्रमण फैलिन नदिन सावधानी अपनाउनेलगायत विषयमा मन्त्रालयले वडा समितिलाई आवश्यक निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय