कोरोना संक्रमण रोकथाम गर्न सरकार गम्भीर बनेन : पुष्पा भुसाल

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७६ फागुन २९ गते १३:०८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुषाल गौतमले सरकारले कोरोना भाइरस रोकथामका लागि कुनै व्यवस्था नगरेको आरोप लगाएकी छिन्।

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै भुषालले देशमा कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका समयमा सरकारले गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिडेको बताएकी हुन्।

देशमा कोरोना भाइरसलाई लिएर सर्वसाधारणमा भय त्रास उत्पन्न भइरहेको बेला सरकारले सर्वसाधारण आफै क्वारेन्टाइनमा बस्नु पर्ने, सरकारले सबैको परीक्षण तथा उपचार गर्न नसक्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिइरहेको बताउँदै  भुषालले सरकारसँग यसको जवाफ मागेकी थिइन्।

भुषालले कोरोना भाइरसलाई लिएर बजारमा उत्पन्न भइरहेको खाद्य सामग्री तथा ग्यासको अभाव, अति आवश्यक सामग्रीको मूल्यवृद्धिलाई सरकारले नजरअन्दाज गरेको टिप्पणी लगाइन्।

‘बजारमा खाद्य सामग्रीको अभाव देखिएको छ, कालोबजारी गर्ने उद्देश्यले व्यापारीले सरसमान लुकाउन थालेका छन्,’ उनले भनिन्, ‘सर्वसाधारण चर्को मूल्य तिर्न बाध्य छन्। सरकारले बजार अनुगमन गर्नुपर्छ।’

विश्वका धेरै देशले अन्तराष्ट्रिय उडान रद्द गरे पनि नेपाल सरकारले कुनै कदम नचालेको भन्दै उनले दुःख व्यक्त गरिन्। सरकारले भाइरस नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्नु पर्नेमा समेत उनले जोड दिइन्।

सरकारले कोरोना भाइरसको रोकथामका लागि कुनै नीति नियम नबनाउने हो भने अन्तराष्ट्रिय जगतले नेपाललाई समेत प्रतिबन्ध लगाउन सक्छ। उनले भनिन्, ‘यसको लागि सरकारले समयमै सावधानी अपनाउनु पर्छ।’

कोरोना भाइरसको रोकथामका लागि खाद्यान्न, औषधि उपचार गर्न आवश्यक पर्ने कच्चा पदार्थ तथा सामग्रीको आयात गर्न सरकार तयार छ कि छैन? भन्दै प्रश्न गरेकी थिइन्।

उनले सरकारले दिएका अभिव्यक्तिले जनतामा थप निरासा पैदा गरेको बताइन्। कोरोना भाइरस रोकथामका लागि कागजमा भन्दा व्यवहारमा लागु गर्ने गरी काम गर्नसमेत उनले सरकारलाई सुझाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय