सरकारले मात्रै महामारी धान्न सक्दैन, आमनागरिक पनि लाग्नुपर्छ

चीनबाट फैलिइरहेको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ९ देशमा पुगिसकेको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई भाइरस संक्रमणको उच्च जोखिममा राखेको छ। नेपाल सरकारले पनि जोखिम न्यूनिकरणका लागि पूर्वतयारी गरिरहेको बताएको छ। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता सागर दाहालसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईं गरेको कुराकानीको सम्पादित अशं ।

नेपालमा कोरोनाको संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले के गरिरहेको छ?

सर्वप्रथम संक्रमण पत्ता लगाउनतिर लाग्नुपर्छ। पहिलो, जनावरीमा एउटा केस पोजेटिभ भयो । तर, त्यसपछि ५ सय भन्दा बढी केसमा चेकजाँच भयो कुनैमा पोजेटिभ देखिएको छैन । विश्वमा जुन किसिमले कोरोना भाइरस फैलिरहेको छ, यसमा खोजी गर्ने कार्यलाई तीब्र बनाउनुपर्ने छ । जसको लागि हामीले केही अस्पतालबाट आइसियुमा बसेका र रोगहरु छुट्याउन गाह्रो भएकाहरुलाई कोरोना भाइरस संक्रमण छ कि छैन भनेर चेकजाँच गरिरहेका छौं।

प्रमुखतः ३ वटा तरिकाबाट रोग पत्ता लगाइन्छ। त्रिभुवन विमानस्थलमा आउने मानिसलाई ज्वरो आएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेस्ट गर्ने र टेकु अस्पताल लैजाने गरिन्छ । विशेषगरी ४१ वटा बढी प्रभावित कोरोना भाइरसको देशबाट आउने मानिसलाई स्क्रिनिङ गर्ने गरेका छौं। प्रभावित क्षेत्रबाट आउने मानिस आफ्नै घरमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

कोरोनाको आशंकामा मानिसहरु विभिन्न अस्पतालमा जाने गर्दछन् । त्यसको लागि हामीले १ सय १८ वटा अस्पतालबाट हरेक हप्तामा रिर्पोट ल्याउने गरेका छौं। विशेषगरी, निमोनियाजस्तो बिरामी मानिस आए कि आएनन् भनेर हेर्ने गर्दछौं । एक हप्ता पनि बढी भयो भनेर हामीले अब प्रत्येक दिन रिर्पोट लिने योजनामा लागिपरेका छौं।

विमानस्थलमा चेकजाँच गर्ने स्वास्थ्यकर्मी नै असुरक्षित महसुस गरिरहेका छन् नि ?

अन्तर्राष्ट्रिय मापदण्ड भन्दा सवस्टान्डर्डको प्राक्टिसमा कुनै पनि स्वास्थ्यकर्र्मीलाई असर भएजस्तो त लाग्दैन। हामी जे गरिरहेका छौं, विमानस्थलमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप नै भइरहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हेर्दा ज्वरो नाप्दा नजिकै जानुपर्दैन । मास्कको प्रयोग गरेर एकमिटरको दूरीबाटै नाप्न सकिन्छ तर, पिपी(सम्पूर्ण पर्सनल प्रोटेक्ट इक्यूपमेन्ट)को त्यत्ति जरुरत पर्दैन । ज्वरो आएको मानिस रहेछ भने अरु पनि चेकजाँच तथा कुराकानी गर्नुपर्ने हुन्छ, त्यहाँ स्टाफहरुले मेडिकल मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने हुन्छ, त्यसको व्यवस्था हामीकहाँ छ।

भारतमा पनि संक्रमण बढिरहेको छ । खुल्ला सिमानालाई कसरी व्यवस्थापन गर्ने?

खुल्लामा रुपमा मानिस आवतजावत गर्ने भारतसँगका मुख्य १ सय ४२ वटा नाका छन्। ४२ वटा नाकामा हेल्थ डेस्कको स्थापना गरिएको छ । त्यसपछि बाँकी रहेको नाकामा हेल्थ डेस्कको स्थापना गर्दै जानेछौँ । जहाँबाट आगमन बढी हुने हेल्थडेस्कको स्थापना गरिसक्यौँ भने थोरै आउने मानिसहरुको नाकामा हेल्थ डेस्कको स्थापना गर्ने तयारीमा छौं।

हेल्थडेस्कमा ज्वरो नाप्ने यन्त्र, मास्क दिएका छौं। कोरोना भाइरस आउँदै नआउने कुरालाई सुनिश्चिता गर्ने अब त्यसतर्फ सोंच्नुपर्ने हुन्छ । विश्वमा फैलिरहेको अवस्थामा नेपालमा कोरोना भाइरस आउँदै आउँदैन पूरै छेक्छौँ भनेर सक्ने अवस्था छैन । हामीले पूर्ण रुपमा सर्तकता अपाउन जरुरी छ । मुख्य नाकाहरुमा हामीले सर्तकता अपनाएका छौं।

केही गरी नेपालमा संक्रमण फैलिइहाल्यो भने?

प्रभावित भएका देशबाट आउने मानिसहरुलाई भिसामा कडाई गरेका छौं। उनीहरुले रिर्पोट लिएर आउनुपर्ने भनेका छौं। यो कुराले तपाईहरु यात्रा नगर्नुहोस् नै भन्न खोजिरहेका हौँ ।

नेपालमा केही गरी भाइरस भित्रिएको अवस्थामा विभिन्न सिनारियो सोंचिरहेका छौँ। सम्भावित योजना के हुनसक्छ । विश्वमा के कसरी फैलिरहेको छ, प्रत्यक्ष रुपमा नियालिरहेका छौं। यो सिनारियोका आधारमा हामीलाई के कति आवश्यकता पर्दछ भन्ने योजना बनाइरहेका छौं। कस्तो खालको बिरामीलाई अस्पताल राख्नुपर्छ । तिनीहरुलाई कहाँ–कहाँ राख्ने भन्ने गृहकार्यमा जुटेका छौं।

ठूलो स्केलमा कोरोना भाइरस फैलिइहालेमा त्यसको रणनीति नै छुट्टै र चाँडै बनाउछौँ। हालसम्म १ सय ५५ वटा आइसोलेसन बेड छन् भन्ने तथ्यांक प्राप्त भएको छ । यी तथ्यांकहरुलाई नजिकबाट केलाउँदै हरेक हब अस्पतालमा निर्देशक र स्वास्थ्य सेवा विभागमा विभिन्न महाशाखामा काम गर्ने निर्देशकहरु यसको समन्वयमा लागिपर्नु भएको छ ।

विभिन्न सिनारियोका आधारमा हामीलाई कति आइसियु, भेन्टिलेटर तथा अरु उपकरण आवश्यकता पर्छ त्यसको खरिदको प्रक्रिया पनि अघि बढेका छन् ।

यो त्राससँगै बजारमा औषधि र, मास्कको अभाव भइरहेको छ नि ?

मास्कको उत्पादन गर्ने मेसिन नेपालमा आइसकेको छ। अब दैनिक ५ लाख मास्क उत्पादन हुनेछ। औषधि व्यवस्था विभागले औषधिको बारेमा समवन्य गरिरहेको छ। अहिले औषधिको अभाव हुने अवस्था छैन । त्यसका लागि चाहिने औषधि भन्दा पनि अन्य औषधिहरुको हकमा कुरा भइरहेको छ । अनुगमन गर्दा केही गरी पसलहरुले लुकाएर कालोबजारी गरेको भेटिएमा सरकारले कारबाही पनि गरिरहेको छ।

मन्त्रीज्यूले कोरोना प्रभावित क्षेत्रबाट आउनेहरुलाई आफैँ क्वारेन्टाइनमा बस्नु भन्नुभएको छ, किन यस्तो भनेको?

जोखिमका रुपमा परिचाहन गरिएका व्यक्तिहरु र लक्षण नदेखिएकाहरुलाई पनि क्वारेन्टाइनमा राख्ने गरिन्छ । हाल प्रभावित १ सय ९ मुलुकबाट आउनेहरुलाईसरकारले क्वारेन्टाइनमा राख्ने भन्दा पनि आफै क्वारेन्टाइनमा बस्न भनिएको हो।

विश्वमा फैलिएको हिसाबलाई मध्यनजर गर्दा यो भारइरसको संक्रमणलाई सरकार एक्लैले मात्र व्यवस्थापन सक्ने अवस्था छैन । यसका लागि अब आम जनता पनि सँगै जुध्न आवश्यक छ।
संक्रमण र जोखिम भएका देशहरु धेरै नै भइसके । त्यसैले अब यहाँ(हाम्रो देशमा) पनि जोखिम नियन्त्रण गर्नका लागि व्यक्तिगत, संस्थागत तथा घरायासी रुपमै लाग्न जरुरी छ।

प्रभावित र जोखिमयुक्त देशबाट आएकाहरु घरमै बस्न पनि सक्नुहुन्छ। क्वारेन्टाइनका लागि हामीले बनाएका नियमहरु पालना गरेर बस्दा थप संक्रमणको जोखिम कम हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय