प्रधानमन्त्रीको प्रत्यारोपण टिम : कसको कस्तो उपचार अनुभूति ?

हेल्थपोस्ट नेपाल

हामीसामु अवसरयुक्त चुनौती थियो, आँट गर्‍यौ
डा. उत्तमराज शर्मा
मिर्गौला विभाग प्रमुख, त्रिवि शिक्षण अस्पताल

प्रधानमन्त्रीको सफल प्रत्यारोपणले हामी सक्षम छौँ भन्ने देखाएको छ । सुरुमा हामीकहाँ हुने थाहा पाउँदा म अत्यन्तै हर्षित भएँ । हर्षित यस अर्थमा कि, देशको बहालवाला प्रधानमन्त्रीले हाम्रो अस्पताललाई विश्वास गरेर मिर्गौला प्रत्यारोपण गर्न आउनुभयो । त्यतिवेला म असाध्यै खुसी भएँ ।

त्यति नै वेला मेरो मनमा के पनि लाग्यो भने यो अवसरसँगै चुनौती पनि हो । यो यस अर्थमा अवसरयुक्त चुनौती थियो कि, बहालवाला प्रधानमन्त्री धेरै समयपछि देशमा यत्रो ठूलो अप्रेसन गर्न राजी हुनुभएको छ ।

अस्पतालमा नियमित प्रत्यारोपण गर्दै आएका थियौँ । हरेक बुधबार दुईवटा प्रत्यारोपण गर्दै आएका छौँ । प्रधानमन्त्रीजस्तो व्यक्तिको प्रत्यारोपण गर्दा मानसिक रूपमा केही तनाव त भएकै थियो । यसको अर्थ यो होइन कि हामी प्रिपियर थिएनौँ । तर, हामीले सुरक्षालगायत विभिन्न कोणबाट विचार गर्नुपर्ने हुन्छ, कोअर्डिनेसनमा विचार गर्नुपर्ने हुन्छ । हामी यी कुरामा लागिपर्यौँ ।

हामीले आँट गर्यौँ । हाम्रो देशका नेताले आफ्नै देशमा उपचार गर्न सुरु गर्नुभएको छ । यही देशमा गुणस्तरीय उपचार सेवा दिन हामी सक्षम छौँ । वातावरण वा सपोर्ट गइयो भने हाम्रो मनोबल उच्च हुन जान्छ । हाम्रो स्वास्थ्य प्रणलीसित कुनै न कुनै रूपमा जनताको मनोबल गिरेको थियो । हाम्रा डाक्टरहरूको मनोबल केही घटनाले गिरेको थियो । तर, प्रधानमन्त्रीको पछिल्लो उपचारले त्यसमा केही उत्साह दिएको छ ।

जति प्रिपियर भए पनि केही बिग्रिएला कि भन्ने डर थियो
डा. सुवास आचार्य
क्रिटिकल केयर प्रमुख

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुने जानकारी एक महिनादेखि पाएको थिएँ । उहाँको प्रत्यारोपण हुने मिति तय भयो । त्यसपछि क्रियाशील रूपमा तयारीमा लागिपर्यौँ ।

हाम्रो टिम प्रमुख रूपमा आसियू तथा एनेस्थेसिया टिम पूर्वतयारीमा लाग्यौँ । हाम्रो काम धेरै थियो । अप्रेसन थिएटरदेखि आइसियूको व्यवस्थापनमा जुट्यौँ ।

अप्रेसनको २ दिनअघि २०–२५ वटा मिटिङ बसेर योजनामा जुट्यौँ । देशको प्रधानमन्त्रीजस्तो व्यक्तित्व आफ्नो अस्पतालमा अप्रेसन गर्न आउन लाग्दा गौरवान्वित थियौँ । तर, सँगसँगै हामीमा तनाव पनि उत्तिकै थियो । जति प्रिपियर भए पनि केही बिग्रिएला कि भन्ने डर थियो ।

विश्वले नै हाम्रो काम नियालिरहेकाले दबाब थियो
डा. अनिल श्रेष्ठ
एनेस्थेसिया

हाम्रो प्रधानमन्त्रीले हाम्रै अस्पतालमा अप्रेसन गराउँदै हुनुहुन्छ भन्ने सुन्दा खुसी महसुस भयो । खुसीसँगसँगै दबाब पनि थियो । हामीले गर्नुपर्ने काम के हो, सबै जिम्मेवारी केलाउन र त्यसको तयारीमा जुट्यौँ ।

अप्रेसन थिएटर र आइसियूमा गर्नुपर्ने व्यवस्थाको तयारीमा लाग्यौँ । कुनै–कुनै वेला औषधि सर्टेज भएको पनि हुन सक्छ । हाम्रा यन्त्र–उपकरणले ठिक अवस्थामा काम गरिरहेका छन् कि छैनन्, त्यसको निगरानीमा लाग्यौँ । अप्रसेन थिएटर तथा आइसियूमा इन्फेक्सन (संक्रमण)को जोखिम के–कति छ, त्यसको सम्पूर्ण चेकजाँच गर्यौँ ।

सबै कुरा तयार छन् भन्ने निर्क्योल भएपछि अप्रेसन गर्ने वेला मिर्गौला लिने र दिने दुवैजनाको परीक्षण गर्यौँ । दुवैको स्वास्थ्यस्थिति राम्रो पाएपछि योजनाअनुसार काम सम्पन्न गर्यौँ ।

जहिले पनि एनेस्थेसियाको काममा दबाब बढी नै हुन्छ । बिरामीलाई बेहोस बनाएपछि यसै पनि डाक्टरलाई तनाव हुन्छ । देशले मात्र नभएर विश्वले नै हाम्रो काम नियालिरहेकाले हामीलाई थप प्रेसर भएको थियो ।

अप्रेसन थिएटरदेखि आइसियूसम्म निरन्तर हेरचाह गरिरह्यौँ
कविता देवकोटा
नर्सिङ निर्देशक

प्रधानमन्त्रीले हाम्रो अस्पताललाई विश्वास गरेर अप्रेसनका लागि आउँदा एकदमै खुसी लाग्यो । प्रधानमन्त्रीजस्तो व्यक्तित्वले यहाँ आएर अप्रेसन गर्नु हाम्रा लागि गौरव विषय थियो ।

मसहित नर्सिङ डिपार्टमेन्टमा रहनुभएका नर्स रातदिन खटियौँ । अप्रेसन थिएटर तथा आइसियूमा उहाँको निरन्तर हेरचाह गरिराख्यौँ ।

तयारी धेरै पहिलेदेखि चलिरहेको थियो
डा. जगदीशप्रसाद अग्रवाल
डिन, चिकित्साशास्त्र अध्ययन संस्थान

प्रधानमन्त्रीको शल्यक्रिया त्रिवि शिक्षण अस्पतालमा हुनु गौरवको विषय हो । उपचारमा म प्रत्यक्ष रूपमा संलग्न नभए पनि साक्षी भने छु ।

प्रधानमन्त्रीको यहाँ उपचार हुने जब थाहा पायौँ, त्रिवि शिक्षण अस्पतालका सम्पूर्ण पदाधिकारीले तयारी थालेका थियौँ । धेरै पहिलेदेखि तयारी चलिरहेको थियो । बीचमा धेरै कुरा उठान पनि भए । प्रधानमन्त्री भर्ना हुनुभएको दिन बिहान पनि हामीले उपकुलपतिसहित सम्पूर्ण टिमसँग बसेर छलफल गरेका थियौँ । हामीकहाँ चिकित्सक तथा नर्सिङ टिमको जुन भावना र क्षमता छ, त्यसले सफलता पाउँछौँ भन्ने हामीलाई पूर्ण विश्वास थियो ।

प्रधानमन्त्रीको प्रत्यारोपणपछि खुसीसँगै प्रेसर पनि बढेको छ । किनभने, नेपालमा जस्तो पनि शल्यचिकित्सकीय सेवा दिन सकिन्छ भन्ने विश्वास निर्माण भएको छ । यसले अब हाम्रो भूमिका बढाएको छ । अब सरकारले पनि अस्पतालको विकासका लागि पर्याप्त सहयोग गर्ने आशा लिएका छौँ ।

प्रधानमन्त्री ओली सक्रिय हुन ६ महिनादेखि १ वर्ष लाग्न सक्छ : डा. दिव्या सिंह शाह
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केही दिन अस्पताल राखिने भएको छ । गत बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीलाई केही दिन अझै अस्पतालमा राखिने उपचारमा संलग्न चिकित्सकले बताएका हुन् । उनको स्वास्थ्यमा भने अपेक्षाकृत सुधार भइरहेको चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीले तुरुन्तै घर जान चाहे पनि परिवारले तयारीका लागि केही दिन समय मागेकाले पनि केही दिन डिस्चार्ज नगरिने निजी चिकित्सक तथा उपचारमा संलग्न डा. दिव्या सिंह शाहले बताइन् । स्वास्थ्यप्रति चिकित्सक पूर्ण विश्वस्त नभएसम्म डिस्चार्ज नगर्ने शाहको भनाइ छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भएको बताउँदै आए पनि अस्पतालले स्वास्थ्य अवस्थाको पूर्ण जानकारी भने दिन सकेको छैन । प्रत्येक दिन अस्पतालले सबै स्वास्थ्य सूचक राम्रो भएको बताउँदै आएको छ । तर, प्रेसर, सुगर, क्रियाटिनको अवस्था के छ, सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री ओली पूर्ण रूपमा स्वस्थ र सक्रिय हुन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले भिडभाडमा जान हुनेछैन, रुघाखोकी वा अन्य संक्रमण भएकाहरूसँग टाढा बस्नुपर्नेछ । उनमा संक्रमणको उच्च जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाइ छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *