कोरोना कहर : आन्तरिक वायुसेवाले ५० प्रतिशतसम्म तलब कटौती गर्ने

मुलुकका सञ्चालित निजी वायुसेवा कम्पनीहरूले कर्मचारीको तलब र सुविधा कटौती गर्ने निर्णय गरेका छन्।

निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको बैठकले निर्माण गरेको उच्चस्तरीय कमिटीले एक साताभित्र छलफल सकेर तलब र सुविधा कटौतीसम्बन्धी सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।

संघको निर्णयअनुसार मासिक २० हजार रूपैयाँसम्म तलब हुनेको पैसा काटिने छैन। तर, ३० हजार रूपैयाँ भएका कर्मचारीका हकमा २० प्रतिशत, ५० हजार रूपैयाँ तलब लिनेको ३० प्रतिशत, १ लाख रूपैयाँ तलब बुझ्नेको ४० प्रतिशत र १ लाख रूपैयाँभन्दा बढी तलब सुविधा भएका कर्मचारीको ५० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय भएको छ।

संघको बैठकले सुमन पाण्डेको अध्यक्षतामा १० सदस्यीय कमिटी गठन गरेको छ। उक्त कमिटीले कर्मचारीहरूलाई बेतलबी बिदामा बस्न प्रोत्साहन गर्ने, अवस्थाअनुसार जबर्जस्ती बिदा लिन लगाउने तथा प्रतिकूल अवस्थामा कर्मचारीलाई निष्कासन गर्नेसम्मको अधिकार पाएको छ।

‘यसका लागि अहिले भएका वायुयानको संख्याअनुसार माग नहुने अवस्थामा सबै वायुसेवा कम्पनीले सबै जहाज ग्राउन्ड गर्न सक्नेछन्,’ निर्णयको बुँदा नम्बर ४ मा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय