कोरोना कहर : युएईमा कार्यरत लाखौं नेपाली सुरक्षित छौं

सूचना रिमाल

भनिन्छ, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु चाहिँ बुद्धिमानी हो।’ कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेका बेला संयुक्त अरब इमिरेट्स (युएई) मा पनि यसको असर देखिन थालेको छ। हजारौं नेपालीहरूको रोजगारीको केन्द्र युएईमा रहेका नेपालीहरू पनि उच्च सतर्कताका साथ काम गरिरहेका छन्। तर दुर्घटना नै मान्नुपर्छ, यहाँ काम गर्ने दुई जना नेपालीमा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको छ।

युएईको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेका छन्। नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गर्नु भएपछि यहाँ रहेको नेपाली समुदाय थप सचेत भएको छ। आ–आफू कार्यरत कम्पनी र बस्ने ठाउँमा बाहिरी सम्पर्कबाट टाढा राख्ने प्रयास भइरहेका छन्।

कोरोना भाइरससँग लड्ने सरकारको तयारी

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेका बेला युएईमा पनि यसको अत्यास आइपुगेको छ। केही अपवादका घटना बाहेक सबैजसो नेपालीहरू सुरक्षित छन्। युएई सरकारले चीनमा कोरोनाको संक्रमण फैलिएलगत्तै उच्च सुरक्षा सर्तकता अपनाएको छ। मानिसहरूको भीडभाड हुने क्षेत्रमा विशेष सावधानी पुर्‍याइएको छ। यहाँका विद्यालयहरू गत आइतबारबाट बन्द गरिएको छ।

सरकारको कोरोना संक्रमण नियन्त्रणको अभियानमा सबै कम्पनीहरूले साथ दिइरहेका छन्। कम्पनीमा कार्यरत सबै कर्मचारीलाई मास्क, सेनिटाइजर लगायतका सामग्री उपलब्ध गराएको छ। व्यापारिक मलहरूमा भीडभाड नगर्न सरकारले निर्देशन दिइसकेको छ। समग्रमा केही अपवादका घटनाबाहेक अधिकांश नेपालीहरू सुरक्षित भएर काम गरिरहेका छन्।

युएई नेपाली कामदारका लागि महत्त्वपूर्ण गन्तव्य हो। वैदेशिक रोजगारीकै कुरा गर्दा युएई नेपालीका लागि चौथो प्रमुख गन्तव्य हो। वर्षेनी ५० हजारको हाराहारीमा रोजगारीका लागि आउने नेपालीको सुरक्षाका लागि पनि यहाँका कम्पनीहरूले विशेष ध्यान पुर्‍याएका छन्। कोरोना भाइरसको संक्रमणसँग लड्नु हामी सबैको दायित्व हुन आउछ। यहाँ कार्यरत नेपाली दिदीबहिनी दाजुभाइहरूले आफू कार्यरत कम्पनी र बस्ने स्थानमा, सार्वजनिकस्थलहरूमा जाँदा विशेष सुरक्षा अपनाउनु हुन्छ।

नेपाली राजदूताबासले पनि कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न र जोगिन अपील जारी गरिसकेको छ। दूताबासले जारी गरेको ‘नोबेल कोरोना भाइरससम्बन्धी सूचना’मा सजीव तथा मृत जनावरबाट टाढा बस्न, रुघाखोकी र ज्वरो आएका व्यक्तिबाट टाढा रहन र बेला–बेलामा साबुनपानीले हात धोइ राख्न भनिएको छ। ह्यान्ड सेनिटाइजर प्रयोग गर्ने, खोक्दा र हाच्छ्यु गर्दा रूमालले नाकमुख छोप्ने, रूघाखोकी र ज्वरो आएको भए लामो यात्रा नगर्ने, सार्वजनिकस्थलमा जाँदा मास्क लगाउने लगायतका सुझाव दूताबासले दिएको छ।

समग्रमा युएईमा बस्ने नेपालीहरू सुरक्षित छौं। र, सुरक्षित रहने छौं। युएईम गर्मी बढ्दै गरेकाले कोरोना भाइरसको संक्रमणमा कमी वा नियन्त्रण हुने विश्वास पनि गरिएको छ। यो अवस्थामा हतोत्साहित हुनु हुँदैन। सुरक्षित रहनु पर्छ। त्रसित नबनौं। सतर्क बनौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय