प्रधानमन्त्री पूरै स्वस्थ हुन ६ महिना लाग्न सक्छ : डा. शाह

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ हुन ६ महिनासम्म लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । प्रधानमन्त्री ओली स्वास्थ्यमा राम्रो सुधार आए पनि अझै केही दिन हेरेर मात्र डिस्चार्ज गरिने चिकित्सकको भनाइ छ । डा. शाह प्रधानमन्त्रीका निजी चिकित्सकसमेत हुन् ।

त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओली पूर्णतः स्वस्थ हुन ६ महिना लाग्न सक्ने बताइन् । स्वास्थ्य अवस्थाबारे नियमित जानकारीका लागि मंगलबार अस्पतालमा आयोजित पत्रकारसम्मेलनमा उनले सक्रिय हुन ६ महिना लागे पनि नियमित काम गर्न भने समस्या नहुने बताइन् ।

‘प्रधनमन्त्री चाँडो डिस्चार्ज हुन चाहनुहुन्छ, स्वास्थ्यमा पनि अपेक्षकृत सुधार छ,’ उनले भनिन्, ‘तर, उहाँको परिवारको इच्छा अझै केही दिन अस्पतालमा राख्ने छ । उहाँहरुले तयारीका लागि पनि समय माग्नुभएको छ ।’

प्रधानमन्त्रीमा संक्रमणको उच्च जोखिम हुने भएकाले चिकित्सकले भिडभाडमा जान सल्लाह दिन नसक्ने डा. शाहले बताइन् । प्रधानमन्त्रीको स्वास्थ्यबारे विश्वस्त नभएसम्म डिस्चार्ज नगरिने उनले जानकारी दिइन् ।

दोस्रोपटकको मिर्गाला प्रत्यारोपणअघि उच्च मनोबल देखाएका ओलीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्यलाभको कामना गर्नेहरुसित आफू शल्यक्रियाको छैटौँ दिन नियमित काममा फर्किने बताएका थिए । उनले राष्ट्रका नाममा भिडियो सन्देश जारी गर्दै यसपटकको प्रत्यारोपण पहिलोभन्दा पनि सहज हुने विश्वास व्यक्त गरेका थिए । त्यसैअनुरुप स्वास्थ्यमा सुधार आए पनि जोखिम मोल्न भने नसकिने चिकित्सकको भनाइ छ ।

१२ वर्षअघि प्रत्यारोपित मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा स्वदेशी चिकित्सक टोलीको नेतृत्वमा दोस्रोपटक प्रत्यारोपण गरिएको थियो ।

डा. शाहले प्रधानमन्त्री ओलीको प्रत्यारोपण तथा त्यसपछिको उपचारमा संलग्न सम्पूर्ण स्वदेशी तथा विदेशी चिकित्सक तथा स्वास्थ्यकर्मी, उपचार गराउने स्वास्थ्यसंस्था तथा शुभेच्छुकहरूलाई धन्यवाद दिएकी छिन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्रीले देश र जनताको हितमा अझ ऊर्जावान् हुँदै कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय