समान संक्रमणका इटली र कोरियाको मृत्युदरमा सातगुणा अन्तर, चिनियाँ विज्ञ भन्छन्– कोरोना जुनसम्म फैलिन्छ

चीनबाट ३१ डिसेम्बरमा सुरु भएको कोरोना भाइरस डिजिज (कोभिड–१९)को संक्रमण ७० दिनमा विश्वका १०९ देशमा फैलिएको छ । सुरुको करिब डेढ महिना मुख्यतः चीनलाई मात्र आक्रान्त बनाएको कोरोना पछिल्लो समय बाँकी विश्वमा तीव्र गतिमा फैलिरहेको छ । विशेषगरी, युरोप, पूर्वी एसिया र मध्यपूर्वका मुलुकहरू बढी प्रभावित छन् ।

भाइरसको केन्द्रविन्दु चीनले संक्रमण नियन्त्रणमा प्रतिदिन ठूलो सफलता हासिल गरिरहेको छ । आइतबार चीनमा जम्मा ४२ जना नयाँ संक्रमित फेलापरेका छन् भने २२ संक्रमितले ज्यान गुमाएका छन् । चीनमा संक्रमणले महामारीको रूप लिएपछिको यो नै सबैभन्दा कम एक दिनको संक्रमित संख्या हो । २० जनवरीदेखि चीनले प्रतिदिन २४ घण्टाभित्र फेलापरेका संक्रमित र मृत्यु संख्या सार्वजनिक गर्दै आएको छ ।

चीनमा आइतबारसम्म कुल ८० हजार ७ सय ३५ जनामा संक्रमित पुष्टि भएको छ । तीमध्ये ३ हजार १ सय १९ जनाले ज्यान गुमाएका छन् । करिब ६० हजार संक्रमित उपचारपछि भाइरसमुक्त भएर घर फर्किसकेका छन् । चीनमा संक्रमितको मृत्युदर ३.८६ प्रतिशत छ ।

हालसम्म विश्वमा १ लाख ९ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ हजार ८ सय ५९ को मृत्यु भएको छ भने उपचार सफल भएका ६२ हजार १ सय ७६ जना भाइरसमुक्त भई डिस्चार्ज भएका छन् । बाँकी अस्पतालमा उपचाररत छन् ।

कोरोनाको वैश्विक महामारी जुनसम्म रहने चिनियाँ महामारीविद्को आकलन
चीनका महामारीविद् (इपिडिमियोलोजिस्ट) झोङ नान्सानले कोरोनाको वैश्विक महामारी कम्तीमा जुन महिनासम्म रहने आकलन गरेका छन् । ग्वाङडोङ टेलिभिजनले आइतबार जारी गरेको एक स्लिपमा उनले कोरोना संक्रमणको समयावधिबारे अनुमान सार्वजनिक गरेका हुन् ।

झोङले चीनको ध्यान संक्रमणका आयात केसको नियन्त्रणमा केन्द्रित हुनुपर्ने बताए । चीनमा धेरै हदसम्म भाइरस नियन्त्रणमा आइसकेको अवस्थामा बाहिरी मुलुकबाट भित्रिने केस समस्या बन्न थालेको छ । विशेषगरी, प्रमुख अन्तर्राष्ट्रिय ट्राभल हबका रूपमा रहेको ग्वाङडोङ प्रान्तमा आयात केस नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने झोङको भनाइ छ । यो प्रान्तमा हालसम्म चारवटा बाहिरी देशबाट भित्रिएका संक्रमित फेलापरेका छन् ।

‘सीमाक्षेत्रमा स्वास्थ्यपरीक्षणलाई थप प्रभावकारी बनाउनु र बढी प्रभावित देशबाट भित्रिने नागरिकका लागि क्वारेन्टाइनको व्यवस्था गर्नु आवश्यक छ,’ उनले भने, ‘ग्वाङडोङमा परीक्षण किट, उपचार प्रविधि, सुरक्षण सामग्रीलगायत सहयोग पठाउनु आवश्यक छ ।’

इटलीमा ५ र दक्षिण कोरियामा ०.६ प्रतिशत मृत्युदर, विश्वको औसत मृत्युदर ३.५ प्रतिशत
संक्रमित र मृत्यु संख्याका हिसाबले चीन पहिलो नम्बरमा भए पनि मृत्युदरका हिसाबले इटली कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । कोरोना संक्रमणबाट विश्वको औसत मृत्युदर ३.५ प्रतिशत छ । तर, इटलीमा संक्रमितको मृत्युदर ५ प्रतिशत छ ।

इटली र दक्षिण कोरियामा करिब–करिब समान रूपले संक्रमण फैलिरहेको छ । दुवै देशमा संक्रमितको संख्या ७ हजार कटेको छ । दक्षिण कोरियामा संक्रमितको मृत्युदर जम्मा ०.६ प्रतिशत छ । इटली र दक्षिण कोरियामा समान रूपले भाइरसको संक्रमण हुँदा मृत्युदरमा भने ठूलो अन्तर देखिएको छ । इटलीमा दक्षिण कोरियामा भन्दा करिब सातगुणा बढी संक्रमितको ज्यान गएको छ । दक्षिण कोरियामा ७ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएकोमा ५१ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियाले प्रतिदिन १० हजारभन्दा बढीमा भाइरस परीक्षण गरेर विश्वसामु नमुना प्रस्तुत गरेको छ । दक्षिण कोरियाको उत्कृष्ट ल्याब क्षमताको विश्वले प्रशंसा गरेको छ । जति धेरैमा परीक्षण गरियो त्यति नै भाइरस नियन्त्रणमा सहयोग पुग्ने र वास्तविक मृत्युदर पत्ता लगाउन सकिने विज्ञहरूको भनाइ छ ।

इटलीमा ७ हजार ३ सय ७५ जनामा संक्रमण पुष्टि हुँदा ३६६ को मृत्यु भइसकेको छ । आइतबार एकै दिनमा इटलीमा १३३ संक्रमितले ज्यान गुमाएका छन् भने १४९२ नयाँ केस देखिएका छन् । इटलीका सेनाप्रमुखसमेत संक्रमित भएका छन् । सुरुवाती दिनमा चीनले झेलेको महामारी अहिले इटलीमा देखिएको छ ।

कोरोनाबाट चौथो सबैभन्दा प्रभावित इरानमा हालसम्म ६ हजार ५ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २३७ जनाले ज्यान गुमाएका छन् । इरानमा ढिलो गरी भाइरस संक्रमण सुरु भए पनि एक्कासि संक्रमण तीव्र बनेको थियो । इरानका उपराष्ट्रपति, उपस्वास्थ्यमन्त्री तथा सांसदहरू पनि भाइरसको सिकार बनेका छन् । कोरोना संक्रमणबाट इरानमा सांसदले ज्यान गुमाइसकेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको वंगलादेश भ्रमण रद्द
वंगलादेशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण रद्द गरिएको छ । वंगलादेशमा ३ जनामा संक्रमण पुष्टि भएसँगै मोदीको राजधानी ढाकाको निर्धारित भ्रमण रद्द गरिएको हो । प्रधानमन्त्री मोदी १७ मार्चमा हुने वंगलादेशी पूर्वराष्ट्रपछि सेख मुजिबुररहमानको जन्मशताब्दी समारोहको मुख्य वक्ताका रूपमा बोलाइएका थिए । तर, यतिवेला भाइरसको खतरालाई दृष्टिगत गर्दै वंगलादेश सरकारले सो कार्यक्रम सीमित स्तरमा मात्र मनाउने निर्णय गरेको छ ।

नेपाललाई तीनतिरबाट खुला सिमानाले घेरेको भारतमा अहिलेसम्म ४३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये सुरुमा केरल राज्यमा भेटिएका ३ संक्रमित उपचारपछि भाइरसमुक्त भइसकेका छन् । सबैभन्दा बढी जयपुरमा १७ जनामा संक्रमण पुष्टि भएकोमा १६ जना इटालियन छन् । उनीहरू भ्रमणका लागि भारत आएका थिए । भारतमा संक्रमण बढ्दा नेपालमा जोखिम बढ्ने भएकाले नेपालीको ध्यान मूलतः भारततर्फ नै केन्द्रित छ । यद्यपि, अहिलेसम्मको अवस्थालाई नियाल्दा भारतमा भाइरस अनियन्त्रित भएको छैन । भारतले २२ राज्यका ५२ वटा ल्याबमा भाइरस परीक्षणको व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय