जोखिमयुक्त कोहलपुरमा द्रुत उद्धार समिति गठन, अफवाह फैलाउने प्रहरी नियन्त्रणमा

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस महामारीविरुद्ध सतर्कता अपनाउन बाँकेको कोहलपुरमा द्रुत उद्धार समिति गठन गरिएको छ । तीनवटा प्रदेशको ट्रान्जिट प्वाइन्टका रूपमा रहेको कोहलपुरलाई कोरोना भाइरस डिजिज (कोभिड–१९)को उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरी सरोकारवालाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

समग्र विश्व कोरोनाको त्रासमा छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई पनि संक्रमणको अति उच्च जोखिम क्षेत्रमा राखिसकेको छ । विश्लेषकले कोहलपुरलाई उच्च जोखिम क्षेत्र औँल्याउँदै सतर्कता अपनाउन सुझाब दिएका छन् । कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ बाट दैनिक ठूलो संख्यामा मानिसको आवत–जावत हुने भएकाले बाँकेका अन्य क्षेत्रभन्दा कोहलपुर जोखिममा रहेको सरोकारवालाको भनाइ छ ।

शनिबार कोहलपुर नगरपालिकाको अगुवाइमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा सरोकारवालाले कोरोना भाइरस फैलिन नदिन विशेष सावधानीका साथै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । छलफलमा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले जिल्लाका अन्य क्षेत्रभन्दा कोहलपुर बढी जोखिमयुक्त रहेको भन्दै मातहतका निकायलाई जोखिम न्यूनीकरणका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

उनले नगरपालिकाअन्तर्गत शाखा कार्यालयहरूलाई आ–आफ्नो कार्यालयको तर्फबाट गर्नुपर्ने तयारीका विषयमा तत्काल बैठक आह्वान गरी योजनाअनुसार अघि बढ्न निर्देशन दिएका हुन् । अन्य क्षेत्रमा आवत–जावत हुने कोहलपुरका सार्वजनिकस्थलमा पनि कडा सुरक्षा र सावधानी अपनाउन उनले आग्रह गरे ।

कालोबजारी गर्नेलाई २ लाख जरिवाना
नगरप्रमुख रावतले बजारमा मास्क अभावको वास्तविक अवस्थाबारे अनुगमन गर्ने बताए । ‘बजारमा मास्कको कृत्रिम अभाव सिर्जना भएको सुन्नमा आएको छ, केही दिनमा अनुगमन हुन्छ,’ रावतले भने, ‘जनतामा त्रास सिर्जना हुने गरी कालोबजारी गरेको भेटिए कानुनअनुसार कारबाही हुन्छ ।’

मास्कको कृत्रिम अभाव सिर्जना गरेको भेटिएमा २ लाखसम्म जरिवाना हुने नेपाल सरकारले निर्णय गरिसकेकाले कोहलपुरमा पनि त्यस्तो भेटिएमा कसैलाई उन्मुक्ति नदिने उनको भनाइ छ ।

त्यसैगरी, विद्यालय क्षेत्रलाई मुख्य प्राथमिकता राखी सतर्कता गतिविधि सञ्चालन गर्न नगरपालिकाले आग्रह गरिएको छ । नगरपालिकाले कोरोना भाइरसबाट बच्ने उपायबारे सचेतनामूलक पम्प्लेट छाप्ने काम सुरु गरिसकेको रावतले जानकारी दिए । नगर उपप्रमुख सञ्जुकुमारी चौधरीले कोराना भाइरसका विषयमा बजारमा अनावश्यक हल्ला फिँजाइएकाले हल्लाको पछि नलाग्न आग्रह गरेकी छिन् ।

‘सामाजिक सञ्जालहरूमा अनावश्यक भ्रम फैलाइएको छ, त्यस्ता हल्लाको पछि नलाग्न म नगरवासीलाई आग्रह गर्छु,’ उनले भनिन्, ‘व्यक्तिगत सरसफाइमा ध्यान दिनुका साथै मानसिक रूपमा समेत सबल हुनु आवश्यक छ ।’

सम्पूर्ण सरकारी कार्यालय, १५ वटै वडा, सीमाक्षेत्रमा सचेतनामूलक ब्यानर, पोस्टर अनिवार्य रूपमा राख्न नगरपालिकाले निर्देशन दिएको छ ।

सर्वपक्षीय बैठकका ५ निर्णय
सर्वपक्षीय बैठकबाट कोरोना फैलिन नदिन पूर्वतयारीका लागि महत्त्वपूर्ण पाँच निर्णय गरिएको छ । सबै निर्णय कोरोनाबारे व्यापक जनचेतना फैलाउने विषयमा केन्द्रित छन् । पूर्वतयारी तथा सचेतनालाई केन्द्रविन्दुमा राखेर तयारी गर्न ९ सदस्यीय दु्रत उद्धार समिति गठन गरिएको हो ।

समितिमा इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, सशस्त्र प्रहरी गुल्म २ सदस्यका रूपमा छन् । त्यस्तै, नेपाल रेडक्रस सोसाइटी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, नेपाल पत्रकार महासंघ बाँके र कोहलपुर उद्योग वाणिज्य संघ सदस्य रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए । उनका अनुसार धेरै भिडभाड हुने सार्वजनिकस्थल, अस्पताल, बसपार्क विद्यालय क्षेत्रलाई विशेष निगरानीमा राख्ने निर्णय गरिएको छ ।

त्यसैगरी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको नेतृत्वमा आइसोलेसन कक्ष स्थापना गर्ने निर्णय गरिएको उनले बताए । यसैगरी, कोहलपुरका सरकारी तथा गैरसरकारी कार्यालय, संघ–संस्थाको अगुवाइमा गाउँ–गाउँमा व्यापक जानकारीमूलक कार्यक्रमलाई तीव्रता दिने निर्णय गरिएको हो ।

बैठकबाट कोरोनाको जोखिम न्यूनीकरण गर्न कोहलपुर नगरपालिको संयोजकत्वमा ९ सदस्यीय द्रुत उद्धार समिति गठन गरिएको छ । कोरोना भाइरसको जोखिमबाट बच्न संगठित रूपमा होली नमाउन बैठकले सबैलाई अनुरोध गरेको थियो ।

कोहलपुरमा पनि कोरोना भाइरस विशेष कक्ष स्थापना
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना भाइरस विशेष कक्ष स्थापना गरेको छ । अस्पतालका डेपुटी डाइरेक्टर विनय श्रेष्ठले अस्पतालमै मास्क उत्पादन गर्नुका साथै बिरामीका लागि मास्क वितरणको तयारी भइरहेको बताए । बिरामीलाई मास्क अनिवार्य गरिएको उनले जानकारी दिए । कोरोनाको शंका लागेर परीक्षणका लागि अस्पताल आउनेलाई विशेष निगरानीका साथ दु्रत गतिमा सेवाप्रवाह गर्न संयन्त्र बनाइएको उनको भनाइ छ ।

कोरोनाबारे अफवाह फैलाउने एक पक्राउ
सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना भाइरसबारे भ्रामक समाचार सम्प्रेषण गर्ने एक व्यक्तिलाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका–७, कैलाली घर भई हाल नेपालगन्ज उपमहानगरपालिकामा डेरा गरी बस्ने वर्ष २९ का चक्र खडायतलाई २ दिनअघि नियन्त्रणमा लिइएको हो । उनीमाथि फेसबुकमार्फत कोरोनासम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेको आरोप छ । उनीमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय