इटलीमा अनियन्त्रित कोरोना भाइरस : एकैदिन १ सय ३३ जनाको मृत्यु

युरोपियन राष्ट्र इटलीमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित भइरहेको छ। आइतबार एकै दिनमा यहाँ १ सय ३३ जना मानिसको मृत्यु भएको छ।

योसहित इटलीमा अहिलेसम्म ३ सय ६६ जनाको मृत्यु भइसकेको छ। चीनपछि सबैभन्दा तीब्रगतिमा मृत्यु दर र महामारी इटलीमा फैलिइरहेको छ।

त्यहाँ ७ हजार ३ सय ७५ जना मानिस भाइरसबाट संक्रमित भइसकेका छन्। इटलीका स्वास्थ्यअधिकारीका अनुसार संक्रमितको संख्या दिनहुँजसो २५ प्रतिशतले बढिरहेको छ।

इटलीमा गत ३१ जनवरीमा सबैभन्दा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। राजधानी रोममा रहेका दुई जना चाइनिज नागरिकमा सबैभन्दा पहिला भाइरसको पुष्टि भएको थियो।

त्यसको एक सातापछि चीनको उहानबाट फर्किएका अर्का एकजना इटलियन नागरिकलाई भाइरसको पुष्टि भयो। त्यसपछि २१ फेब्रुअरीमा उत्तरी सहर लोम्बार्डीमा एकैपटक १६ जना मानिसमा संक्रमणको पुष्टि भएपछि अहिले इटलीमा महामारी अनियन्त्रित भइसकेको छ।

सरकारले लोम्बार्डीका सहरका करिब १ करोड ६० लाख मानिसलाई आफ्नै घरमा अनिवार्य क्वारेन्टाइनमा बस्न आदेश दिएको छ। यहाँ कुनै पनि नागरिकलाई सहर छोड्न र अन्यलाई सहर प्रवेशमा निषेध गरिएको छ।

विद्यालय, कलेज, जिमखाना, संग्रालयहरु, रात्री क्लब, होटेल, क्यासिनो तथा सबै रिसोर्टहरु बन्द गरिएका छन्।

कोरोना भाइरस(कोभिड–१९)को उद्गमस्थल मानिने चीन उहानमा भने दिनदिनैजसो संक्रमितको संख्या घटिरहेका छन्। बितेको २४ घण्टामा चीनमा थप ४० जनालाई मात्रै संक्रमण पुष्टि भएको छ। भने थप २२ जनाको मृत्यु भएको छ।

चीनपछि इटली र त्यसपछि इरानमा धेरै मानिसको मृत्यु भएको छ। इरानमा १ सय ९४ जना मानिसको मृत्यु भएको छ भने ६ हजार ५ सय ६६ जना मानिस संक्रमित छन्।
दक्षिण कोरियामा ७ हजार ३ सय ८२ जना मानिस संक्रमित भएका छन् भने ५१ जना मानिसको मृत्यु भएको छ।

यो सहित विश्वका १०१ देशमा फैलिइसकेको कोरोना भाइरसले ३ हजार ८ सय १६ जना मानिसको ज्यान लिइसकेको छ भने १ लाख ९ हजार २ सय ७० जना मानिस संक्रमित भएका छन्। ६२ हजार १ सय ७६ जना संक्रमित निको भएका छन्।

एजेन्सीहरुकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय