होलीमा कोरोना प्रभाव : सावधानी अपनाउन सुझाब

यज्ञराज जोशी/काठमाडौं
प्रकाशित
२०७६ फागुन २६ गते ९:३५

होली अर्थात् फागुपूर्णिमा, नामैले रङको चाड हो भनेर ठम्याउन सकिन्छ ।

प्रत्येक वर्ष फाल्गुनशुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व हिन्दूहरूको प्रमुख चाडमध्ये एक हो ।

वर्षमा एकपटक उमंग बोकेर आउने पर्व हर्षोल्लासका साथ मनाउने चाहना स्वाभाविक छ । तर, यस वर्ष भने होलीको उमंग सदाझैँ हुनेछैन ।
कारण, विश्व कोरोना भाइरसको कहरमा छ । त्यसैले होली खेल्दा विशेष सावधानी अपनाउन चौतर्फी सुझाब आइरहेका छन् । सरकारसँगै चिकित्सक र सामाजिक व्यक्तित्वहरूले पनि होलीमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

अभिनेत्री करिस्मा मानन्धर होलीपर्व निकै मनपराउनेमध्ये पर्छिन् ।

उनी हरेक वर्ष कलाकारहरूलाई आफ्नै घरमा बोलाएर होली मनाउँदै आएकी छिन् । तर, यो वर्ष उनले होली नमनाउने निर्णय सुनाइन् ।

करिस्माले यो रंगीन पर्वप्रतिको मोह कम भएर होली नमनाउन लागेकी होइनन् । कोरोनाविरुद्धको सावधानी सबैको आवश्यकता र दायित्व भएको बुझेरै उनले कलाकारलाई जम्मा गरेर होली नमनाउने निधो गरेकी हुन् ।

सबै तस्बिर : शिरिषमान महर्जन/हेल्थपाेस्ट नेपाल

‘होली अर्को वर्ष पनि आउँछ । जीवन रह्यो भने अर्को वर्ष पनि त रमाइलो गर्न पाइहालिन्छ नि !’ करिस्माले आफ्नो फेसबुक पेजमार्फत यसपटक होली नखेल्ने घोषणा गरिन् ।

‘हरेक नेपालीलाई चाडपर्व मनाउन आनन्द लाग्छ, चाहे दसैँ, तिहार होस् या फागु । गएको साल एसइई परीक्षाका कारण मनाउन पाइएन,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘तर, अहिलेको कारोना संक्रमणको यो परिस्थितिमा यस्ता नजिकबाट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउँदा राम्रो हुन्छ ।’

यसपटकको होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा फागुन २५ र तराईमा २६ गते परेको छ ।

के भन्छन् चिकित्सक ?

नेपाल सरकारले कोरोना संक्रमणको उच्च जोखिमलाई दृष्टिगत गर्दै सभा, सम्मेलन तथा ठूलो संख्यामा जमघट हुने कार्यक्रम नगर्न आग्रह गरिसकेको छ । यस्तो अवस्थामा स्वास्थ्यलाई होलीको आनन्दका लागि स्वास्थ्यलाई जोखिममा राख्नु पक्कै पनि उपयुक्त हुँदैन ।

कोरोना अब कुनै एक व्यक्ति, परिवार, समुदाय वा राष्ट्रको स्वास्थ्यमा मात्र सीमित रहेन, यसले समग्र मानव जातिकै स्वास्थ्यमा चुनौती दिइरहेको छ । र, वर्तमानमा सावधानी वा पूर्वसतर्कता नै यसबाट बच्ने एक मात्र विकल्प भएको विशेषज्ञहरू बताइरहेका छन् ।

होलीको रङले निम्त्याउला एलर्जीदेखि क्यान्सरसम्म

चिकित्सकहरूले पनि होलीको समयमा धेरै भिडभाड नगर्न आग्रह गरेका छन् । लोला र रङको प्रयोग धेरै नगर्न पनि चिकित्सकको सुझाब छ ।

वीर अस्पतालकी चर्मरोग विषेशज्ञ डा. अनुपमा कार्की रङ खेल्दा विशेष सावधानी अपनाउन आग्रह गर्छिन् । रङले छालामा एलर्जिक रियाक्सन गर्ने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

‘रङको असरले छाला चिलाउने, मुख सुक्खा हुने, आँखा सुन्निने समस्या तत्काल देखिन सक्छन्,’ उनी भन्छिन्, ‘केही समस्या सातादिनपछि पनि देखिन सक्छन् । यदि स्वास्थ्यमा धेरै असर गरे तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।’

रङ नाक वा मुखमा पर्यो वा पेटसम्म पुग्यो भने त्यसले स्वास्थ्यमा नकारात्मक असर पर्ने उनको भनाइ छ ।
टाउकोमा रङ पर्दा त्यसमा भएको केमिकलले कपाल झर्ने समस्या हुने उनको भनाइ छ । रङ खेल्दा चिल्लो क्रिम लगाउन उनको सुझाब छ । ‘क्रिमले घाम र रङको असरबाट जोगाउन मद्दत गर्छ,’ उनी भन्छिन् ।

डा. कार्कीका अनुसार रङ खेलिसकेपछि तुरुन्त नुहाउनुपर्छ । बालबालिकालाई रङको सम्पर्कमा नल्याउन उनी सुझाब दिन्छिन् । बच्चाको कलिलो छालामा रङले बढी असर गर्ने उनको भनाइ छ ।

त्यस्तै, तीलगंगा नेत्रालयका आँखारोग विशेषज्ञ डा. रोहित सैजू रङले आँखामा धेरै असर गर्ने भएकाले जोगिएर होली खेल्न सुझाब दिन्छन् ।
‘आँखा हाम्रो निकै संवेदनशील अंग हो,’ उनी भन्छन्, ‘ रङमा विभिन्न केमिकल हुन्छन्, जुन आँखामा पर्दा आँखा पाक्ने तथा विभिन्न इन्फेक्सन हुने सम्भावना हुन्छ । त्यसैले निकै सजग हुनुपर्छ ।’

रङ खेल्नै परे कालो चस्माको प्रयोग गर्न उनको सुझाब छ । रङ परिहाले तुरुन्त सफा पानीले आँखा धुनुपर्ने उनी बताउँछन् । कोरोनाको जोखिम रहेकाले सकभर यसपटक रङ नखेल्न उनको आग्रह छ ।

रङले स्वास्थ्यमा यस्तो असर !

होलीमा रङ खेल्न धेरैलाई मनपर्छ । तर, रङमा हुने केमिकलले हाम्रो छालामा असर गरिरहेको हुन्छ । होली खेल्दा हामीले त्यसतर्फ ध्यान दिनु जरुरी छ ।
होली खेल्न प्रयोग गरिने रङमा विषाक्त रासायनिक पदार्थ हुने भएकाले आँखा र छालालाई यसबाट बचाउनुपर्ने चिकित्सकको भनाइ छ ।

अवीरलगायत यस्ता रङले छालालाई नोक्सानी गर्नुका साथै आँखालगायत संवेदनशील अंगमा असर पुर्याउँछन् । होलीमा आँखाभित्र रङ परेर तथा लोलाको चोटले धेरै समस्या निम्तिएको पाइन्छ । कसैकसैले ढल तथा नालीको पानी, डढेको मोबिल, ग्रिजसमेत प्रयोग गरेको देखिएको छ, जुन स्वास्थ्यका निम्ति अत्यधिक जोखिमपूर्ण छ ।

होली सद्भावको पर्व हो । त्यसैले यसलाई सद्भावपूर्ण रूपमै मनाउनुपर्छ ।

के हो होलीको मौलिकता ?

होली परापूर्व कालदेखि नै मनाइँदै आएको हिन्दू धर्मावलम्बीको महान् पर्व हो । पौराणिक मान्यताअनुसार यो पर्वको सन्दर्भ त्रेता युगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग जोडिएको छ ।

आसुरी प्रवृत्तिका हिरण्यकश्यपुको पुत्रका रूपमा विष्णुभक्त प्रह्लादले जन्म लिए । हिरण्यकश्यपु विष्णुलाई परम शत्रु ठान्दथ्यो । तर, प्रह्लाद कस्तै डर–धम्की र लोभलालचको पर्वाह नगरी निरन्तर विष्णुको कीर्तन गर्थे । छोरालाई विष्णुविरोधी बनाउने तथा आफ्नो आसुरी (दानवीय) गुण उसमा सार्ने सबै प्रयास विफल भएपछि हिरण्यकश्यपु छोराको हत्या गर्ने निर्णयमा पुग्यो । यसका लागि अग्निले नजल्ने वरदानप्राप्त बहिनीलाई प्रयोग गर्ने निधो गर्यो । प्रह्लादलाई आगोमा भस्म पार्न खोज्दा फुपू होलिका स्वयम् भस्म भइन् । त्यसयता होलिकादहनमार्फत सत्यको विजय भएको खुसीयालीमा यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ ।

होलीमा मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रङ दलेर आत्मीयता साट्छन् । होलीको अघिल्लो दिन राति विधिवत् होलिकादहन गरिन्छ । होलिकादहनपछिको बिहान पानीमा रङ घोलेर एक–अर्का रंग्याउने चलन छ । यो पर्व ज्यादातर फागुन महिनामा पर्ने भएकाले फागुका नामले पनि परिचित छ । यद्यपि, तिथिअनुसार (चान्द्रमास क्यालेन्डरअनुसार) मनाइने भएकाले यदाकदा यो पर्व चैत महिना (सौरमास क्यालेन्डरअनुसार)मा पनि पर्ने गर्छ ।

स–साना बालबालिकादेखि वृद्धवृद्धासम्मले होलीमा रमाइलो गर्छन् । युवा–युवती नाचगान गर्दै होलीमा रमाइरहेका देखिन्छन् । परिवारका सदस्यहरू भेला भएर मालपुवालगायत परिकारहरू बनाएर खाने चलन पनि छ । कतिपयले यो पर्वलाई मायाप्रीति साटासाटको अवसरका रूपमा समेत लिने गरेका छन् । होलीलाई पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सिएर नयाँ सिराबाट सम्बन्ध स्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने मान्यता पनि छ । नेपालको तराई क्षेत्र र भारतमा होलीलाई विशेष महत्त्व दिएर धुमधामका साथ मनाएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय