होलीको रङले निम्त्याउला एलर्जीदेखि क्यान्सरसम्म

होली (फागुपूर्णिमा) रङको चाड हो । रङ खेल्दा सावधानी अपनाउनुपर्छ । शरीरमा रङको प्रयोगले मानिसमा अनेक किसिमका रोग देखापर्छन् । खासगरी छालामा रङले केहीबेरमै समस्या ल्याउन सक्छ । यसको असर सातादिनपछि मात्र देखिन पनि सक्छ । रङमा हुने केमिकलयुक्त तत्त्वले छालामा कडाखाले एलर्जी निम्त्याउँछ । यसबाट शरीर चिलाउने, डाबर आउने, अनुहार तथा आँखा सुन्निनेजस्ता समस्या उत्पन्न हुन्छन् । केही समयपछि छालामा सुक्खापन तथा दागहरू देखापर्छन् । रङको असर कपालमा पनि पर्छ । यसले कपाल सुक्खा बनाउने तथा टुक्य्राउने हुन्छ । बजारमा पाइने सबै रङ गुणस्तरीय हुँदैनन् । रङमा मिलाइएका केमिकलले विभिन्न समस्या ल्याउन सक्छन् ।

रङमा मेटालिक कम्पोनेन्ट हुन्छन्। रङमा क्यादमिम, लिड, मर्करीजस्ता तत्त्व हुन्छन्, जुन पानीमा घोलेर वा तेलमा मिसाएर प्रयोग गरिन्छ । यो लामो समयसम्म छाला तथा कपालमा बस्ने हुन्छ । साथै, यस्ता केमिकलयुक्त रङ हाम्रो आँखा, नाक, मुखभित्र पसेमा पछि गएर क्यान्सर हुने सम्भावना हुन्छ । यसले मिर्गौलालाई पनि असर गर्छ ।

केमिकलयुक्त रङ प्रयोग गरेर धेरै समयसम्म घाममा बस्दा छालमा दाग निम्तिन्छन् । त्यसैले होली खेल्दा सकेसम्म रङ प्रत्याक्ष रूपमा छालामा नपरोस् भन्नेमा ध्यान दिनुपर्छ । होली खेल्नुपूर्व छालमा चिलो हुने क्रिमको प्रयोग गरेर छालालाई धेरै हदसम्म सुरिक्षत राख्न सकिन्छ ।

होली खेल्ने नाममा आँखा तथा जिउमा अत्यधिक मात्रामा रङ लगाउने, तेल वा पानी मिलाएर रङ खेल्ने बानी राम्रो होइन । जथाभावी प्रयोग गरिएमा रङले लामो समयसम्म असर ल्याउन सक्छ । तर, सावधानी अपनाएर खेल्यौँ भने धेरै हदसम्म यसका नकारात्मक असरबाट बच्च सकिन्छ ।

होलीमा विशेषगरी महिलाले जोगिनुपर्ने हुन्छ । होलीको टीका मात्र लागाउने, धेरै रङ नखेल्ने, खेलिहालेमा नाक, मुख, आँखा जोगाउने गर्नुपर्छ । होली खेलिसकेपछि लामो समयसम्म छालामा राख्नुहुँदैन, कही बेरमै नुहाउनुपर्छ र क्रिमको प्रयोग गर्नुपर्छ । कतै छाला पोले वा चिलाएजस्तो महसुस भएमा छालारोग विशेषज्ञलाई देखाउनुपर्छ ।

होलीपछि सधैँ रङको असरले अस्पतालमा बिरामी बढ्ने गर्छन् । छालामा सुक्खापन, एलर्जी, चिलचिलाहट तथा कपालमा समस्या लिएर आउँछन् । सिभियर केसमा आँखा तथा मुख सुन्निएर आउने पनि हुन्छन् ।

रङअनुसार कुनले कस्तो असर गर्छ भन्न गाह्रो छ । अहिले बजारमा कुन रङको गुणस्तर कस्तो छ, थाहा हुँदैन । सकेसम्म प्राकृतिक प्रविधिबाट बनेका रङको प्रयोग गर्नुपर्छ । खासगरी गाढा कालो रङ, साइनिङ, मर्करीजस्तो आउने रङमा मेटालिक तत्त्व हुन्छन् ।

होलीपर्व पौराणिक घटनासित पनि जोडिएको हो । धार्मिक आस्थासित पनि गाँसिएको यो पर्व सदियौँदेखि हर्षोल्लासपूर्वक मनाइँदै आएको छ । तर, पछिल्लो समय होली मनाउने परम्परागत शैलीमा निकै परिवर्तन आएको छ । अहिले होलीपर्व भड्किलो र अस्वस्थकर रूपमा मनाउन थालिएको छ । होली मनाउने बहानामा अनेक थरी रङको प्रयोग गर्ने, मद्यपान गर्नेतर्फ लाग्नुहुँदैन । हामीले सीमित मात्रामा दुई–चार थरी रङ (रातो, निलो, हरियो, पहेँलो)ले टीका लगाएर संयमित रूपमा पर्व मनाउनुपर्छ । उदाहरणका लागि होलीको दिन घरमै बसेर मालपुवा बनाएर पारिवारिक खुसी साटासाट गर्न सकिन्छ । यसले हाम्रो परम्परालाई पनि जीवित राख्छ ।

होली खेलाउने नाममा बालबालिकालाई सामेल गराएर धेरै रङ लगाइदिनुहुँदैन । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको असर दिनहुँ बढिरहेको छ । हामी पनि यो भाइरसको उच्च जोखिममा छौँ । यो भाइरस श्वासप्रश्वासबाट सजिलै सर्न सक्छ । पानीमा कोरोना भाइरसका कीटाणु धेरै समयसम्म रहने हुँदा होलीमा पानीको प्रयोग गर्नुहुँदैन । कोरोनाका कारण पनि यसपटक होली मनाउँदा विशेष सावधानी अपनाउनु जरुरी भएको छ ।

(हेल्थपाेस्ट नेपालका लागि पुष्पराज चाैलागाईंसाैरभ रानाभाटले कुराकानीका आधारमा तयार पारिएकाे सामग्री।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय