एसइई रोकिँदैन : शिक्षा मन्त्रालय
माध्यमिक शिक्षा परिक्षा २०७६(एसइइ) चैत ६ गतेबाटै हुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भ्रममा नपर्न आग्रह गरेको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)का कारण एसइई परीक्षा समेत सर्ने समाचारहरु आइरहेको भन्दै मन्त्रालयले त्यस्तो भ्रममा नपर्न भनेको हो।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै एसइई चैत ६ गतेबाटै सञ्चालन हुने जानकारी दिएको हो।
‘कक्षा १ देखि ९ सम्मको परीक्षा चैत्र ५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने भनी यस अघि नै सूचना जारी भइसकेको छ, चैत्र ६ गतेदेखि हुने भनी तय गरिएको एसइईको परीक्षा यथावत समयमै हुनेछ’ मन्त्रालयले सूचनामा भनिएको छ।
मन्त्रालयले सर्वसाधारण तथा विद्यार्थीहरुलाई तोकिएकै समयमा परीक्षा सञ्चालन हुने र परीक्षा सारिएको र विद्यालय बन्द गरिएको भन्ने गलत समाचारको विश्वास नगरी भ्रममा नपर्न आग्रह समेत गरेको छ।
मन्त्रालयले परिस्थित र परिवेसलाई नजिकबाट नियालिरहेको बताउदैं आवश्यकता र औचित्यका आधारमा अन्य कुनै थप निर्णय गरे मन्त्रालय, आधिकारिक वेभसाइट र सरकारी सञ्चारमाध्यमबाट जानकारी गराउने बताएको छ।