सीमा नाकामा कडाइ र कालोबजारी नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सीमा नाकाहरूमा कडाइ तथा निगरानी बढाउन निर्देशन दिएका छन्।

शुक्रबार थापाको अध्यक्षतामा रहेको कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति बैठकमा थापाले सबै सुरक्षा अंगका प्रमुखहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएका हुन्।

थापाले कोरोना भाइरस रोकथामका लागि जनचेतना बढाउन र कालोबजारी नियन्त्रणमा कारबाही गर्न निर्देशन दिए। उनले कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निगरानी बढाउन निर्देशन दिए।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको कार्यमा सहयोग गर्ने निर्णय गरेको गृहसचिव महेश्वर न्यौपानेले बताए।

बैठकमा कोरोना प्रभावित हुनसक्ने सम्भावना, लक्षण, प्रभाव र सुरक्षित हुन अपनाउनुपर्ने सबै सावधानीका विषयमा छलफल भएको थियो।

सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीले निगरानी बढाउने र स्वास्थ्य मन्त्रालयको समन्वयनमा परीक्षण गर्ने तथा अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनामा सहजीकरण गर्ने निर्णय भएको न्यौपानेले बताए। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक, नेपाली सेनाका उपरथी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय