इराकमा पनि कोरोना संक्रमणले मृत्यु

कोरोना भाइरस डिजिज (कोभिड–१९) को संक्रमणबाट इराकमा दुईजनाको मृत्यु भएको छ । बिहीबार इराकको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट पहिलो दुई मृत्यु पुष्टि गरेको हो । संक्रमितको मृत्युका हिसाबले इराक विश्वको १६औँ प्रभावित देश बनेको छ ।

इराकी स्वास्थ्य मन्त्रालयका अनुसार प्रतिरक्षात्मक शक्ति कमजोर बनाइएकी एक महिला र दीर्घरोगले पीडित ६५ वर्षीय एक पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो । उनी हरूको उपचारका क्रममा बुधबार राजधानी बग्दादमा निधन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोनाबाट दुईजनाको मृत्यु पुष्टि गरे पनि अर्का एक व्यक्तिको मृत्युमा कोरोनाको आशंका गरिएको छ । ७० वर्षीय एक धर्मगुरुको सुलेमानियामा भएको मृत्युमा भाइरसकै आशंका गरिए पनि परस्पर विरोधी रिपोर्ट आएकाले पुष्टि नगरिएको इराकी अधिकारीले बताएका छन् । कुर्दिस अधिकारीले ती पुरुषको मृत्यु कोभिड–१९ को संक्रमणबाटै भएको दाबी गरेका छन् । तर, स्वास्थ्य मन्त्रालयले भने त्यसको निर्क्योल नभइसकेको बताएको छ ।

‘धर्मगुरुको मृत्युअघि क्वारेन्टाइनमा रहेको उनका दुई आफन्तमा कोरोना संक्रमण पुष्टि भएको थियो,’ कुर्दिस स्वास्थ्य अधिकारीले भनेका छन् ।

इराकमा हालसम्म कोरोनाका ३४ संक्रमित फेलापरेका छन् । विश्वस्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये अधिकांश छिमेकी इरानसँग जोडिएका छन् । इरानमा कोरोना संक्रमणले हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ भने ३५१३ जनामा संक्रमण पुष्टि भइसकेको छ । फेब्रुअरीको तेस्रो सातासम्म इरानले आफूलाई कोरोनामुक्त बताउँदै आएकोमा पहिलो केस भेटिपछि उच्च मृत्युदरका साथ संक्रमण तीव्र गतिमा फैलिएको हो ।

विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोरोना कोभिड–१९ बाट संक्रमित हुनेको संख्या लाख छुन लागेको छ । बिहीबार दिउँसोसम्म ९६ हजार ३ सय ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । भाइरसले १६ देशका ३ हजार ३ सय ३ जनाको ज्यान लिइसकेको छ । हालसम्म ५३ हजार ४ सय ५७ संक्रमित संक्रमणमुक्त भएका छन् । उनीहरूलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय