धरान पुगेर पारसमणि भुजेलले भने, ‘टेकु अस्पतालमा तनाव भएपछि भागें’

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालबाट भागेका पारसमणि भुजेल धरान पुगेका छन्। धरान(१० विशालपथका ३९ वर्षीय भुजेल बुधबार राति अस्पतालबाट भागेका थिए।

घर पुगेका उनलाई श्रीमतीले लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकी थिइन्।

भुजेल अहिले बिपी प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बताए।

अस्पतालबाट भागेपछि उनी काठमाडौंकै एक लजमा बसेर बिहीबार दिउँसो १ बजे विराटनगर विमानस्थल उत्रेका थिए।
उनी भागेको खबर महानगरीय प्रहरी परिसरले बिहीबार दिउँसो मात्रै थाहा पाएपछि खोजीका लागि प्रहरी परिचालन गरेको बताएको थियो।

भुजेल २० गते कोरियाबाट काठमाडौं आएका थिए। भोलिपल्ट ज्वरो आएको भन्दै उनी टेकु अस्पताल पुगेका थिए।
बिपीमा भर्ना भएका उनले काठमाडौंमा तनाव भएपछि भागेको प्रहरीलाई बताएका छन्। ‘घरि तातो, घरि चिसो ठाउँमा राख्ने, डाक्टर र नर्सले यता र उता सारेको सारै गरेपछि मलाई तनाव भयो, भागेर घर आएँ,’ भुजेलको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक न्यौपानेले भने।

कोरिया कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको मुलुक हो। त्यहाँ कामदार नपठाउने निर्णय सरकारले गरिसकेको छ।
कोरोना परीक्षणको आइसोलेसनमा कम्तीमा पन्ध्र दिन राखिने गरिएको छ। रगत र खकारमा कोरोना संक्रमण भए नभएको यकिन गर्न आइसोलेसन वार्डमा पन्ध्र दिन राखिने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय