चीनले भन्यो– मास्क निर्यातमा रोक लगाएका छैनौँ

चीन सरकारले मास्क र मास्कसम्बन्धी कच्चापदार्थको निर्यातमा कहिल्यै रोक नलगाएको बताएको छ । कोरोना भाइरसको महामारीपछि चीनले मास्क र मास्कका कच्चापदार्थमा कत्ति पनि प्रतिबन्ध नलगाएको बिहीबार चिनियाँ वाणिज्य अधिकारीले जानकारी दिएका हुन् ।

‘चीनले मास्क र मास्कसम्बन्धी कच्चापदार्थको निर्यातमा कहिल्यै, कुनै पनि किसिमको रोक लगाएको छैन,’ चिनियाँ वाणिज्य अधिकारीले भने ।

चीन विश्वको प्रमुख मास्क उत्पादक हो । आफूले वर्षौंदेखि विश्व बजारमा सुरक्षित उत्पादन दिँदै आएको चीनको दाबी छ ।

‘चीनको वार्षिक मास्क उत्पादनको ७० प्रतिशतभन्दा बढी निर्यातका लागि हो,’ चीनको वाणिज्य मन्त्रालयअन्तर्गत वैदेशिक व्यापार विभागका निर्देशक ली जिङकिअनले एक अनलाइन पत्रकारसम्मेलनमा भने, ‘मन्त्रालयले नोवेल कोरोना भाइरसको महामारीपछि मास्क र त्यसका कच्चापदार्थको निर्यातमा कुनै पनि किसिमको प्रतिबन्ध लगाएको छैन ।’

यसअघि चीन सरकारले मास्क निर्यातमा प्रतिबन्ध लगाएका समाचार सार्वजनिक भएका थिए । कोरोनाबाट सबैभन्दा प्रताडित चीनका दर्जनौँ सहर महिनौँदेखि बन्द छन् । यसले त्यहाँका उद्योग तथा कलकारखाना बन्द रहँदा मास्कको पनि उत्पादन घटेको छ । उता मास्को माग भने सयौँ गुणा बढेको छ ।

कोरोनाविरुद्ध विश्वव्यापी सतर्कता अनिवार्य हुँदा चीनमा मात्र नभई विश्व बजारमै मास्कको अभाव भइरहेको छ । यसैलाई दृष्टिगत गर्दै विश्व स्वास्थ्य संगठनले मास्कलगायत सुरक्षाका सामग्रीको उत्पादन ४० प्रतिशतले बढाउन उद्योग जगत्लाई आह्वान गरिसकेको छ । डब्लुएचओले हाल विश्वमा ८९ मिलियन (८ करोड ९० लाख) थान मास्क आवश्यक रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय