मानिसबाट जनावरमा सर्‍यो कोरोना, हङकङमा मालिकबाट कुकुरमा संक्रमण

विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस डिजिज (कोभिड–१९) को संक्रमण कुकुरमा पनि पुष्टि भएको छ । हङकङमा संक्रमित मालिकबाट कुकुरमा संक्रमण भएको छ । यद्यपि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कुकुर, बिरालोजस्ता घरपालुवा जनावर कोरोनाबाट संक्रमित हुन सक्ने कुनै प्रमाण नभेटिएको जनाएको छ । डब्लुएचओका चिकित्सा विशेषज्ञहरूले घटनाबारे अध्ययन गरिरहेका छन् ।

पशु केन्द्रको क्वारेन्टाइनमा राखिएको सो कुकुरको नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । यद्यपि, कुकुरमा कोरोनाको निम्नस्तरको संक्रमण (विक पोजेटिभ) पाइएको हङकङका अधिकारीले बताएका छन् । संक्रमित मालिकको सम्पर्कमा आएकै कारण कुकुरमा संक्रमण भएको अधिकारीले पुष्टि गरेका छन् ।

यसअघि मानिसबाट मानिसमा फैलिरहेको संक्रमण जनावरमा समेत सरेको पुष्टि भएपछि हङकङ सरकारले आफ्ना नागरिकलाई घरपालुवा जनावरसितको निकटताबाट जोगिन आग्रह गरेको छ । सरकारले घरपालुवा जनावरलाई चुम्बन नगर्न आह्वान गरेको छ । यद्यपि, घरपालुवालाई त्याग गर्नुनपर्ने तथा आतंकित हुनुनपर्ने सरकारले बताएको छ ।

‘विज्ञहरूको सर्वसम्मत मत छ कि परीक्षणको परिणामले कुकुरमा निम्नस्तरको संक्रमण पुष्टि गरेको छ,’ हङकङको कृषि विभागले भनेको छ, ‘यो कोरोना भाइरसको मानिसबाट जनावरमा संक्रमणको नयाँ केस हुन सक्छ ।’

अधिकारीका अनुसार मालिक कोभिड–१९ बाट संक्रमित थिए, तर कुकुर आफैँले भने कुनै किसिमको लक्षण देखाएको थिएन ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत चिकित्सा विशेषज्ञहरूले कुकुरमा कोरोना संक्रमण घटनाको अनुसन्धान थालेका छन् । कुकुर वास्तवमै संक्रमित थियो कि उसलाई दूषित सतहबाट ल्याइएको थियो भन्ने पत्ता लगाउनमा उनीहरूको अनुसन्धान केन्द्रित छ ।

हङकङका अधिकारीले घरपालुवा जनावरका मालिकलाई सचेत गराएका छन् । उनीहरूलाई घरको र व्यक्तिगत सरसफाइमा ध्यान दिन भनिएको छ ।

हङकङमा हालसम्म १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जना संक्रमितले ज्यान गुमाएका छन् । शंकास्पद हजारौँ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको अधिकारीले बताएका छन् । हङकङमा संक्रमितको सम्पर्कमा आएका जनावरलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय