कोरोना परीक्षण गर्न आफैं गएका सुनसरीका भुजेल कसरी भागे टेकु अस्पतालको वार्डबाटै?

बुधबार राति साढे ८ बजे एक युवा आफूलाई ज्वरो आएको भन्दै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पुगेका थिए। आफू कोरियाबाट फर्केको बताउने ती युवाले ज्वरो आएको भनेपछि डाक्टरले ‘निगरानी’मा राख्न खोजे।

विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस संक्रमण हुनसक्ने आशंकामा डाक्टरले उनलाई ‘निगरानी’मा राख्न खोजेका थिए। टेकु अस्पतालमा कोरोना परीक्षणको छुट्टै ‘आइसोलेसन वार्ड’ सञ्चालनमा ल्याइएको छ। डाक्टरले उनलाई त्यही वार्डमा राखेर रगत, खकारलगायत परीक्षण गर्नुपर्ने बताएका थिए।

सो उपचार कक्षमा रहेकै बखत ती युवा अस्पतालको झ्यालबाटै हामफालेर बेपत्ता भएको खबर भने बिहीबार अपराह्न मात्र खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार टेकु अस्पतालले युवा भागेको जानकारी बिहीबार दिउँसोमात्र गरायो। प्रहरीका अनुसार ती युवा सुनसरीका रहेको खुलेको छ। ३८ वर्षीय पारसमणि भुजेल भागेकोसम्म प्रहरीले थाहा पाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ती युवा मंगलबार कोरियाबाट नेपाल आएकोसम्म भनिएको छ। ‘यसको आधिकारिकता भने पत्ता लागिसकेको छैन,’ प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने, ‘खोजीका लागि प्रहरी परिचालन गरिएको छ।’

टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार उनलाई ‘आइसोलेसन वार्ड’मै राखिएको थियो। उनी कसरी भागे भन्ने भण्डारीले भन्न सकेनन्।

दक्षिण कोरिया कोरोना संक्रमणको जोखिमपूर्ण देश हो। बिहीबारमात्र सरकारद्वारा गठित कोरोना नियन्त्रण उच्चस्तरीय समितिले कोरिया कामदार जान रोक लगाउने निर्णय गरिसकेको छ। टेकु अस्पतालका अनुसार भुजेलको कुनै पनि परीक्षण लिइएको थिएन।

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार भुजेल नै परीक्षण गराउनका लागि आग्रह गरेका थिए। ‘कोरोनाको कुनै पनि लक्षण नदेखिए पनि उनलाई काउन्सिलिङको लागि राखिएको थियो,’ बास्तोलाले भने।

निर्देशक भण्डारीका अनुसार भुजेल अहिले विराटनगर पुगिसकेको पत्ता लागेको छ। भुजेल त्रिभुवन विमानस्थल हुँदै विराटनगर पुगेको थाहा भएको छ। ‘उनी अहिले टेकु अस्पतालको सम्पर्कमा छन्, केही समस्या देखा परे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखाउनु भनेका छौं।’

टेकु अस्पतालले भनेजस्तो ती युवा सम्पर्कमा रहेको देखिएको छैन। ‘विराटनगरसम्म पुगेको भनिए पनि हामीले पत्ता लगाउन सकेका छैनौं,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने, ‘आफैं परीक्षण गराउन आएर किन भागे भनी अनुसन्धान गरी थप परीक्षण आवश्यक छ छैन बुझ्न प्रहरीले खोजेको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय