जनस्वास्थ्यका पियनविरूद्ध ३४ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा

जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका पियन हरिबहादुर हमालविरूद्ध ३४ लाख ३३ हजार ६८३ रूपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार हमालविरूद्ध सो बराबरको बिगो माग्दै हमालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार हमालले भ्रष्टाचार कसुर ठहर भएको जानकारीपछि पनि २०६० देखि २०७२ सालसम्म नियमित सेवामा रहेर तलब, भत्ता, घर तथा बिरामी बिदाबापतको रकम भुक्तानी लिएको देखिएपछि मुद्दा दायर गरिएको हो।

यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका तत्कालीन वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्लविरूद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार मल्ललाई १४ लाख ७० हजार ३७९ रूपैयाँ बिगो माग्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनले भ्रष्टाचार मुद्दा लागेका पियन हरिबहादुर हमाललाई निबृत्तभरणबापतको १४ लाख ७० हजार ३७९ रूपैयाँ भुक्तानी दिएको पाइएपछि मल्लविरूद्ध मुद्दा दायर गरिएको बताए।

पियन हरिबहादुर हमाल र लेखनदास नारायण श्रेष्ठविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले कसुर ठहर्‍याएको थियो। भ्रष्टाचार ठहर भएपछि पनि उनीहरू पदमै रहेर काम गरिरहेको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो।

सोही प्रकरणमा अख्तियारले जिल्ला स्वास्थ्य प्रमुख डा। नरेशप्रताप केसीलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। पियन हमाललाई कारबाही नगरी २०६० मंसिरदेखि फागुनसम्म चार महिनाको १४ हजार ९०८ रूपैयाँ भुक्तानी दिएको आरोप पुष्टि भएपछि केसीविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय