भारतबाट अत्यावश्यक र औषधिजन्य वस्तु आयात बढाइने

दक्षिण कोरियामा कामदार नपठाइने, विदेश पढ्न जाने विद्यार्थीलाई पनि रोक

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतबाट अत्यावश्यक तथा औषधिजन्य वस्तुको आयातलाई तीव्र पार्ने निर्णय गरेको छ।

रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार सिंहदरबारमा बसेको बैठकले कोरोना नियन्त्रणमा सक्रियता बढाउन सो निर्णय गरेको हो।

रक्षा स्रोतका अनुसार अत्यावश्यक सामग्रीको आपूर्ति सहज गराउन प्रदेश र स्थानीय सरकारलाई खटाउने निर्णय बैठकले गरेको छ। समितिले नेपालबाट हुने निकासी नियन्त्रण गर्ने निर्णय गरेको छ। यस्तै, दक्षिण कोरिया जाने कामदारलाई रोक्ने निर्णय गरेको छ।

‘विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई पनि रोक लगाउने निर्णय समितिको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले भने। उनका अनुसार बैठकले मास्कको उत्पादन बृद्धि गर्ने निर्णय गरेको छ।

यस्तै, सर्वसाधारण जनताको आवागमन कम गर्ने, सीमा नाकामा क्वारेन्टाइनलाई सक्रिय बनाउने, विमानस्थलमा यात्रुको स्वाब परीक्षण प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ। ‘बोर्डरमा सचेतनाका लागि दुबै देशका प्रतिनिधि सम्मिलित बैठक बसेर प्रभावकारी काम गर्ने निर्णय भएको छ,’ सुनारले भने।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, पर्यटनमन्त्री योगेश भट्टराई, अर्थ, सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडा, कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, मुख्यसचिव लोकदर्शन रेग्मी, सम्बद्ध मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरू थिए।

कोरोना नियन्त्रणका लागि मुख्यसचिव रेग्मीको नेतृत्वमा कार्यान्वयन समिति छ। बैठकमा मुख्यसचिव रेग्मीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि के गर्ने भनी कार्यसूची पेश गरेको थियो। ‘कोरोना भित्रिन नदिन के गर्न, भित्रिहाले रोकथाम र नियन्त्रणमा के गर्नेलगायत आवश्यक सबै विषयमाथि छलफल भएको छ,’ सुनारले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय