कोरोनाविरुद्ध सतर्कता : ५ चैतसम्म विद्यालयको वार्षिक परीक्षा लिइसक्न निर्देशन, एसइई यथावत्

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७६ फागुन २१ गते १५:४९

मन्त्रालयको आग्रहलगत्तै परीक्षा–तालिका एक साता अघि सार्दै स्थानीय सरकार र विद्यालयहरू

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्ने तयारीस्वरूप सरकारले देशभरका विद्यालयको वार्षिक परीक्षा चाँडै सकाउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ५ चैतसम्म कक्षा ९ सम्मको वार्षिक परीक्षा लिइसक्न भनेपछि स्थानीय सरकारहरूले धमाधम परीक्षा एक साताअघि सारेका छन् । यद्यपि, ६ चैतदेखि सुरु हुने एसइई परीक्षाको तालिका भने सारिएको छैन ।

काठमाडौं महानगरपालिकाले ६ चैतदेखि सुरु गर्ने गरी निर्धारण गरेको कक्षा ८ (अधारभूत परीक्षा उत्तीर्ण परीक्षा) को परीक्षा–तालिका रद्द गरी नयाँ तालिका सार्वजनिक गरेको छ । महानगरले २८ फागुनदेखि सुरु हुने गरी परीक्षा तालिका अघि सारेको हो । मन्त्रालयको आह्वानअनुसार नै महानगरले ५ चैतमा परीक्षा लिइसक्ने भएको छ ।

मन्त्रालयको आह्वानलगत्तै मंगलबार बसेको माहानगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा व्यवस्थापन समितिको आकस्मिक बैठकले परीक्षा तालिका अघि सार्ने निर्णय गरेको हो । यसैगरी, अन्य स्थानीय तहहरूले पनि धमाधम ५ फागुनसम्म सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरिरहेका छन् । नेपालको संविधानले माध्यमिक तह (कक्षा १२ सम्म)को शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ ।

स्थानीय सरकारहरूले आफूमातहतका विद्यालयहरूलाई अन्य कक्षाको परीक्षा पनि ५ फागुनसम्म लिइसक्न निर्देशन दिएका छन् । कक्षा ८ बाहेक ९ कक्षासम्मको परीक्षा तालिका सम्बन्धित विद्यालय आफैँले निर्धारण गर्छन् । यसअघि स्थानीय सरकारले तय गरेको कक्षा ८ को परीक्षासित मिल्ने गरी अन्य कक्षाको वार्षिक परीक्षाको तालिका तय गरेका विद्यालयहरूले ५ फागुनभित्रै परीक्षा सञ्चालन गर्ने तालिका संशोधन गरेका छन् ।

नेपाल शिक्षक संघ काठमाडौं महानगर समितिका अध्यक्ष नारायाण गौतमले महानगरका सबै विद्यालयले मन्त्रालयको आग्रह र महानगरको निर्देशनअनुसार वार्षिक परीक्षा तालिका अघि सार्ने तयारी गरिरहेको बताए । उनका अनुसार कतिपय विद्यालयले नयाँ परीक्षा तालिका सार्वजनिक गरिसकेका छन् भने कतिपय त्यसको तयारीमा छन् ।

‘हामीले महानगरको कक्षा ८ को सेड्युलअनुसार नै अन्य कक्षाको परीक्षा तालिका बनाएका थियौँ, महानगरले सारेपछि हामीले पनि सोहीअनुसार सारेका छौँ,’ काठमाडौंको रानीपोखरीस्थित संस्कृत मावि (दरबार हाई स्कुल)का सहायक प्रधानाध्यापक तथा परीक्षा समिति संयोजक अक्रुर चौलागाईंले हेल्थपोस्टसित भने, ‘५ फागुनमा ९ कक्षासम्मका सबै परीक्षा लिइसक्छौँ ।’

वर्षिक परीक्षा सकिएपछि आगामी वर्षको वैशाखमा नयाँ शैक्षिक सत्र सुरु नहुँदासम्म विद्यालय बन्द रहने गरेको छ । त्यतिवेलासम्म कोरोनाको संक्रमण अवस्थाको विश्लेषण गरेर मात्र नयाँ शैक्षिक सत्रको पढाइ केही समय सार्ने–नसार्नेबारे निर्णय लिने योजनामा मान्त्रालय छ ।

जनभेला हुने प्रकृतिका कार्यक्रम नगर्न आह्वान
मन्त्रालयले कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भएको भन्दै सबै विद्यालयमा कक्षा ९ सम्मको वार्षिक परीक्षा अघि सार्न आग्रह गरेको थियो । साथै, मन्त्रालयले विद्यालयमा सभा, समारोह, वार्षिकोत्सवलगायत जनभेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न नगराउनसमेत आग्रह गरेको छ ।

मन्त्रालयको आह्वानअनुरूप नै स्थानीय सरकारहरूले विद्यालयहरूलाई जनभेला हुने प्रकृतिका कार्यक्रम नगर्न आफूमातहतका विद्यालयमा सर्कुलर जारी गरेको बताइएको छ ।

छिमेकी देश चीनबाट ३१ डिसेम्बरमा देखापरेको कोरोना भाइरस अहिले विश्वका ७८ भन्दा बढी देशमा फैलिसकेको छ । बुधबारसम्म ९३ हजार १ सय ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३२०३ संक्रमितले ज्यान गुमाइसकेका छन् । छिमेकी भारतमा पनि संक्रमितको संख्या २८ पुगिसकेको छ । भारतमा मंगलबारसम्म जम्मा ६ जनामा संक्रमण पुष्टि भएकोमा एक्कासि संक्रमण बढेको छ ।

पछिल्लो समय चीनबाहिर कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भाइरसले सबै महादेशलाई चपेटामा लिएसँगै विश्वका धेरै देशले धमाधम विद्यालय बन्द गरिरहेका छन् । बेलायतले २ महिना र जापानले १ महिनाका लागि विद्यालय बन्द गरिसकेका छन् । नेपाल कोरोनाको अति उच्च जोखिम क्षेत्र रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । यस्तोमा सरकारले सतर्कतास्वरूप चाँडो परीक्षा सकाएर विद्यालय बन्द गर्ने रणनीति लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय