‘प्रदेश सरकार पूर्वतयारीमा जुटिसकेको छ’

चीनबाट सुरु भएको कोरोना भाइसको प्रकोप विश्वभर फैलिएको छ । डव्लुएचओले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । त्यससँगै प्रदेश ५ सरकारले पनि कोरोनाको सर्तकताका लागि पूर्वतयारी सुरु गरेको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले मन्त्रालय, स्वास्थ्य निर्देशनालय, प्रदेश तालिम केन्द्र, प्रदेश आपूर्ति केन्द्र, प्रादेशिक अस्पताल, संघीय स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखा, प्रमुख स्वास्थ्यकर्मी र सरोकारबालाहरु सम्मिलित पूर्वतयारीका बारेमा पहिलो चरणमा छलफल गरिसकेको छ ।

पूर्व तयारीका बारेमा प्रदेश नं ५का सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग हेल्थपोस्ट नेपालका कृष्ण मल्लले कुराकानी गरेका छन्।

कोरोना भाइरस फैलिन नदिनका लागि प्रदेश सरकारको तयारी के छ ?

प्रदेश ५ सरकारले कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि पूर्व तयारी सुुरु गरेको छ । तयारीका लागि हामीले प्रदेशमा रहेका स्वास्थ्यका कार्यालयहरुसँग पूर्व तयारी बैठक राखेर छलफल गरी कामलाई पनि सँगै अगाडी बढाएका छौं ।

कोही शंकास्पद बिरामी भेटिए बिशेष एम्बुलेन्स तयारी अवस्थामा राख्ने योजना बनाएका छौं । प्रदेश सरकारले तीन वटै तहको सरकारको समन्वयमा कोरोना विरुद्ध तयारीका काममा अघि बढ्ने गरी छलफल र कामलाई सँगै अघि बढाएको छ । प्रदेश सरकारले अस्पतालहरुमा आइसोलेसन कक्षको व्यवस्थापनका लागि प्राथमिकता दिइ काम गरिरहेको छ । सीमा क्षेत्रमा भने स्थानीय सरकारको समन्वयमा हेल्प डेस्कमार्फत चेक जाँचलाई तीव्र पारिएको छ ।

आइसोलेसन कक्षको व्यवस्थापन गरिएको कुरा गर्नु भो, कुन कुन अस्पतालमा यो व्यवस्था छ ?

हामीले आइसोलेसन र उपचारको प्रबन्ध सहित फोकल पर्सन तोक्नका लागि प्रदेशका १४ वटा सरकारी र ४ वटा मेडिकल कलेजहरुलाई निर्देशन दिइसकेका छौं । त्यसमध्ये प्रदेशका ८ वटा अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिसकेको जानकारी आएको छ । ति अस्पतालले पत्रमार्फत फोकल पर्सनको नामावली र सम्पर्क नम्बर पनि पठाएका छन् । विवरण पठाउनेमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर, देवदह मेडिकल कलेज, देवदह , यूनिभर्सल मेडिकल कलेज, भैरहवा, लुम्बिनी मेडिकल कलेज, पाल्पा, यूनाइटेड मिसन अस्पताल, पाल्पा र भेरी अस्पताल छन् । अरु अस्पतालले पनि फोकल पर्सन र आइसोलेसन कक्षको व्यवस्थापन गर्दैछन् ।

कोरोना भाइरस चेक गर्ने मेशिन र स्वाथ्यकर्मीको सुरक्षालाई के व्यवस्था गरिएको छ ?

कोरोनाको चेक जाँचका लागि थर्मो स्क्यानर र स्वास्थ्यकर्मीले प्रयोग गर्ने प्रर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पिपिइ) को व्यवस्थापनको तयारी गरेका छौं । अहिले स्वास्थ्य निर्देशनालयमा अहिले २ वटा प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) रहेको छ भने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट आएको ५ वटा स्वास्थ्यकर्मीले प्रयोग गर्ने प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रमा राखिएको छ यससँगै प्रदेश ५ मा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिइको संख्या ७ पुगेको छ ।

तयारी बैठकमा ज्वरो चेक गर्ने इन्फ्रारेड थर्माेमिटर ५० वटा तथा पर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट किन्नका लागि निर्देशन दिइसकेका छौं । खरीदका लागि प्रदेशमा रहेको आपूर्ति केन्द्रले काम अगाडी बढाएको छ ।

यो तयारी कोरोनाको पर्याप्त हो त?

प्रदेश ५ सरकारले कोरोनाको जोखिम नियन्त्रणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नका लागि आग्रह गरेको छ । कोरोनाका संक्रमित र शंकास्पद बिरामी भेटिए नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एम्बुलेन्स प्रयोग गर्ने गरी काम अघि बढेको छ । एम्बुलेन्स चालकहरु प्रर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पिपिइ) पोशाक लगाएको हुनेछन् । उनिहरुलाई प्रशिक्षण दिइनेछ । त्यसका लागि सम्पर्क नम्बर सार्वजनिक गर्न लागिएको छ ।

के कसरी काम गर्दा सहज हुन्छ ? कसरी सर्वसाधारणसम्म जानकारी पुर्याउने भन्ने बिषयमा शुक्रबार फागुन २३ गते नागरिक समाज, उद्योगी व्यवशायीहरु, नेपाल प्रहरी, नेपाली सेना, पत्रकार सम्मिलित विपद पूर्व तयारी बैठक गर्न लागेका छौं । यसले सहयोगको जुटाउनका साथै सर्वसाधारणलाई सूचना लिनमा सहयोग पुग्छ भन्ने ठानेका छौं ।

केन्द्रबाट पनि टोली आएको छ भन्ने सुनिन्छ, त्यो टोलीले के गर्दैछ ?

संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डब्लुएचओ, यूनिसेफको टोली आइपुगेको छ । सामाजिक विकास मन्त्रालयबाट पनि हामीले स्वास्थ्यकर्मी थपेर संयुक्त टोली बनाएका छौं । अहिले त्यो टोली प्रदेश ५ मा पूर्व तयारीको लागि परिचालन भइसकेको छ । उक्त टोलीले सीमा क्षेत्र रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेको रुपेडिहिया नाकामा आवत जावतको अवस्था जानकारी गरिरहेको छ । टोलीले रुपन्देही, कपिलवस्तु र बाँकेका अस्पतालहरुको स्थलगत रुपमा तयारी र क्षमताको बिषयमा अध्ययन गर्नेछ ।

अन्त्यमा के भन्नुहुन्छ ?

अहिलेसम्म नेपालमा कोरोना भाइरस भित्रिइसकेको अवस्था नभएको हुदा कोरोना भाइरसको बिषयमा हल्लाको पछाडी नलाग्न र सरकारको काममा सहयोग गर्नका लागि अनुरोध गर्न चाहन्छौं । प्रदेश सरकार बिपत्ती ननिम्तनेगरी काम गर्न खोजेको छ, त्यसैले रचनात्मक सुझाव सल्लाह र सहयोगको अपेक्षा गर्दछौं । मुख्यगरेर नीजि क्षेत्रलाई यो अवस्थामा मास्क अभाव गराउने र औषधीका स्टक सकेको देखाएर मूल्य बढाउने जस्ता काम नगर्न अनुरोध गर्दछौं । सबैलाई सर्तकता अपनाउन र सबैले सबैलाई सहयोग गर्न सामाजिक विकास मन्त्रालय अपिल गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय