कोरोना आशंकामा भर्ना गरिएका चारैजनामा संक्रमण नभएको पुष्टि, डिस्चार्ज गरिँदै

कोरोना भाइरस (कोभिड–१९)को आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल भर्ना गरिएका चारैजनामा संक्रमण नभएको पुष्टि भएको छ । नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरूलाई डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जानकारी दिएको छ । उनीहरूलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो ।

‘शंका गरिएका चारैजनाको रिपोर्ट नेगेटिभ आएको छ,’ अस्पतालका प्रवक्ता तथा सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले भने, ‘उनीहरूलाई अब डिस्चार्ज गर्दै छौँ ।’

संक्रमण फैलिएको देशबाट आएका एक चिनियाँ नागरिक र तीन नेपालीमा मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो । भर्नापछि उनीहरूको नमुना संकलन गरी भाइरस परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । प्रयोगशालाले मंगलबार रिपोर्ट दिएको हो ।

चिनियाँ नागरिक आफ्नै देशबाट र तीन नेपाली दक्षिण कोरियाबाट आएका थिए । पछिल्लो समय चीनपछि दक्षिण कोरिया कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । यद्यपि, संक्रमितको मृत्युका हिसाबले चीनपछि इरानमा बढी क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय