३० लाख नेपालीले राम्रोसँग सुन्न सक्दैनन्

हरेक वर्ष ३ मार्चलाई विश्व श्रवण दिवसका रूपमा मनाउने गरिन्छ । यस वर्ष पनि ‘जीवनका लागि श्रवण : श्रवणशक्ति कम भई आफ्नो गति वा जीवनयापनलाई सीमित हुन नदेऊ’ नारासहित मंगलबार विश्वभर श्रवण दिवस मनाइँदै छ । नेपालमा पनि सरकारी तथा गैरसरकारी संघ–संस्थाले विश्व श्रवण दिवस मनाइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इएनटी सोसाइटी, स्पिच एन्ड हेएरिङ अफ नेपाल, बिपी आई फाउन्डेसन, चियर्स अस्पताल, शिक्षण अस्पताल, नर्भिक अस्पतालले विभिन्न कार्यक्रम गरी श्रवण दिवस मनाइरहेका छन् । यसका अतिरिक्त यस सेवामा आबद्ध तथा समर्पित सबैजसो संघ–संस्था र व्यक्तिले श्रवण दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

श्रवण दिवस चेतानामूलक कार्यक्रममा मात्र सीमित छैन । हाजिरीजवाफ प्रतियोगिता, खोपकेन्द्रमा श्रवण परीक्षण कक्ष निर्माण, निःशुल्क कान परीक्षण, नियोन्याटल र इन्फ्यान्टमा श्रवण स्क्रिनिङ, विद्यालयमा स्वास्थ्य शिविर, प्रभातफेरी तथा औपचारिक कार्यक्रम आयोजना गरी श्रवण दिवस मनाइँदै छ ।

बहिरोपन अपांगतामध्ये प्रमुख अपांगतामा पर्छ । विश्व स्वास्थ्य संगठनको २०१८ को तथ्यांकअनुसार विश्वमा ४६ करोड (६.१ प्रतिशत) मानिसमा श्रवण अशक्तता छ, जसमध्ये ३४ करोड बालबालिका छन्।

३० लाख नेपालीमा श्रवण समस्या, ११ प्रतिशत बालबालिकामा कानको समस्या

नेपालमा ३० लाख मानिसमा श्रवण समस्या छ । हरेक दिन ४ देखि ६ जना नवजात बहिरोपनसहित जन्मिन्छन् । विद्यालयका एकतिहाइ (हरेक ३ मध्ये १) विद्यार्थीमा कान, नाक र घा“टीको समस्या छ, जसमा एकतिहाइमा कानको समस्या छ । यसरी हेर्दा ११ प्रतिशतभन्दा बढी विद्यालयमा अध्ययनरत बालबालिकामा कानको समस्या छ । कानको समस्या भएकामध्ये एकतिहाइ (करिब ४ प्रतिशत) बालबालिकामा श्रवण समस्या छ । साढे १ लाख बालबालिकामा कम सुनाइको समस्या छ, जसले स्वास्थ्यसँगै शिक्षामा समेत असर परिरहेको छ ।

जनशक्ति

नेपालमा इएनटी सर्जन १८६ र अडियोलोजी तथा स्पिच लेंग्वेज प्याथोलोजिस्ट ६० जना छन्, तर २५ जना मात्र कार्यरत छन् । विश्व स्वास्थ्य संगठनले पहिलोपटक सन् २०२० को मार्चमा वर्ल्ड हेयरिङ रिर्पाेट निकाल्दै छ ।

श्रवणशक्तिमा ह्रास आउने कारण

वायु तथा ध्वनि प्रदूषण, कोलाहल र विविध संक्रमणका कारण श्रवणशक्तिमा क्रमिक ह्रास आइरहेको छ।

बहिरोपन निम्त्याउने प्रमुख कारण :
– अत्यधिक ध्वनिसहितका कलकारखाना
– विमानस्थल वरिपरिको बसाइ
– सार्वजनिक सवारीका अनियन्त्रित ध्वनि
– लामो समय र ठूलो आवाजसहितको एअरफोन
– चर्काे आवाजसहितको मनोरञ्जन
– कानका संक्रमण, जस्तै ः दादुरा, गलगाड, रुवेला (खोपले रोक्न सकिने)
– केही क्षयरोग र औलोविरुद्धका औषधि
– जन्मजात
– चोटपटक, पिटाइ, कान कोट्याउनु
– विभिन्न झोल कानमा राख्नु
– प्रदूषित पानीमा पौडी खेल्नु
– कानको हेरचाह नगर्नु ।

श्रवणशक्ति ह्रासले निम्त्याउने समस्या
श्रवणशक्ति ह्रास हुँदा मानिसलाई अनेकन कठिनाइ आइपर्छ । नसुनेपछि बच्चा बोल्ने कुरै भएन । यसका अतिरिक्त बालबालिकामा व्यक्तिगत सञ्चार क्षमतामा ह्रास, पारिवारिक र सामाजिकीकरणमा समस्या, सिक्ने क्षमतामा कमी, काम र जीवनप्रतिको उत्साहमा कमी आउँछ । श्रवण शक्तिमा ह्रासले परिवार र समाजमा एक्लोपनको महसुस हुन्छ । वयष्कमा उनीहरूको व्यावहारिक वा संज्ञानात्मक पक्षमा गिरावट आउँछ । यसका सथै उनीहरूमा निराशापन र मस्तिष्कलाई कमजोर पार्ने रोगजस्ता खतरनाक समस्याको सिकार हुने जोखिम बढ्छ ।

काठमाडौंमा १ वैशाख ०७४ मा ‘नो हर्न’ लागू भएपछि सवारीसिर्जित ध्वनि प्रदूषण केही कम भए पनि हाल पहिलेजस्तै हुन थालिसकेको छ । हरेक वर्ष ३० हजारभन्दा बढी सवारीचालक कारबाहीमा परिरहेका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (ग)मा एम्बुलेन्स, दमकल, शववाहन तथा आकस्मिक कामका लागि हिँडेकाबाहेक अन्यले आवश्यकताभन्दा बढी हर्न बजाएमा पहिलोपटक ५ सय, दोस्रोपटकका लागि एक हजार र तेस्रो चरणमा १५०० जरिवाना हुने उल्लेख छ ।

केबाट कति ध्वनि ?
सामान्य बोलीचालीमा ४०, असर गर्ने ९० डेसिबल, एम्प्लिफोनको पूरै र सहन नसक्ने १२० डेसिबलको ध्वनि रहन्छ । हेयर ड्रायरको ९५, मोटरसाइकल, रेलको आवाज ९५ देखि १०५, सवारीसाधनको हर्न, साइरनबाट १२० देखि १५० डेसिबल ध्वनि उत्पन्न हुन्छ । ८५ डेसिबलभन्दा बढी आवाजले ध्वनिबाटै श्रवणशक्ति ह्रास गराउँछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १ अर्ब २ करोड अर्थात् १४ प्रतिशत युवा ध्वनि प्रदूषणको जोखिममा छन् ।

बहिरोपन रोकथामका उपाय
केही वर्षअघिको तथ्यांकअनुसार नेपालमा १५ प्रतिशत बहिरोपन विद्यमान छ । त्यसमध्ये धेरैजसो बहिरोपन रोकथाम गर्न सकिन्छ । नेपालमा बहिरोपनबाट बच्न र बचाउन सरकारीस्तरबाट देशव्यापी रूपमा सर्वेक्षण गर्नु जरुरी छ । बहिरोपन रोकथाम गर्न निम्न कुरामा ध्यान दिनुपर्छ ।
१. रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडिको भाग जोड्ने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भइरहेमा मध्यकानमा असर पर्छ । यो समस्या बच्चामा बढी देखापर्ने भएकाले उनीहरूलाई रुघाखोकी लाग्नबाट बचाउन आमाको दुध खुवाउने, दुध खुवाउँदा बच्चाको टाउको उठाएर खुवाउने, घरवरिपरि पाइने ताजा खानेकुरा खुवाउने र जंकफुडबाट बचाउने गर्नुपर्छ । रुघा लागेमा तातो झोलपदार्थ खुवाउनुपर्छ र निको नभएमा नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा लैजानुपर्छ ।

२. कानवरिपरि चोट लागेमा वा कान कोट्याउँदा कानको जाली फुट्ने सम्भावना रहन्छ । त्यसैले कान कोट्याउने बानी सबैले हटाउनुपर्छ । बच्चालाई पनि कान कोट्याउनु नहुने तथ्य सिकाउनुपर्छ ।

३. कारणवश कान पाकिहालेमा नजिकैको चिकित्सकको सल्लाह लिनुपर्छ ।

४. कानमा तेल अथवा अरु कुनै पनि झोलपदार्थ हाल्नुहुँदैन ।

५. गर्भवती भएको पहिलो तीन महिनासम्म आफूखुसीे औषधि सेवन गर्नुहुँदैन, गर्नै परेमा डाक्टरलाई जचाएर मात्र सेवन गर्नुपर्छ । गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन गर्नुहुँदैन ।

६. गाडीको हर्न बजाउन निषेध गरेजस्तै सार्वजनिक ठाउँमा बाजागाजा पनि धेरै चर्को आवाजमा बजाउन निषेध गर्नुपर्छ ।

७. मोबाइल वा इयरफोन धेरै समयसम्म प्रयोग गर्नुहुँदैन । यसबाट निस्किएको तरंगले भित्री कानमा असर पर्छ ।

८.चर्को ध्वनि आउने ठाउँमा काम गर्दा इयर प्लग लगाउनुपर्छ । यस्ता व्यक्तिको समय–समयमा सुनाइको जाँच गराउने व्यवस्था गर्नुपर्छ ।

९.युवा तथा सर्वसाधारणलाई श्रवण अशक्तताको कारण, रोकथाम र समयमा पत्ता लगाउने विधिबारे जानकारी गराउनुपर्छ ।

१०.कानको श्रवण कम भएमा छिट्टै उपचार गर्नुपर्छ, किनभने बोलीको विकास हुन सक्दैन ।

११. श्रवण समस्या हुने जोखिममा रहेका नवजात शिशु, जस्तै, कम तौल, समयपूर्व जन्मिएका, सघन कक्षमा राखिएका बच्चा, रुबेला संक्रमित आमाको बच्चालाई जतिसक्दो छिटो जा“च र उपचार गराउनुपर्छ ।

(स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाअन्तर्गत आँखा, नाक, कान, घा“टी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले श्रवण दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय