भारतीय कम्पनीका दुई औषधिको विक्री–वितरणमा रोक

औषधि व्यवस्था विभागले दुईवटा औषधिको विक्री–वितरणमा रोक लगाएको छ । मंगलबार सूचना जारी गर्दै विभागले ती औषधिको गुणस्तरमा शंका उब्जिएकाले तत्कालका लागि विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो । विक्री–वितरणमा रोक लगाइएका दुई औषधि भारतीय कम्पनीका हुन् ।

भारतीय कम्पनी ओत्सुका फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर ११८७३६० को मेट्रिस ( मेट्रोनिडाजोल) को विक्री–वितरणमा रोक लगाइएको छ । त्यसैगरी, उत्पादनमा एक्युलाइफ हेल्थकेयर प्रालिले उत्पादन गरेको ब्याच नम्बर १एच८२९३६ को कम्पाउन्ड सोडियम ल्याक्टेट इन्जेक्सनको विक्री–वितरणमा रोक लगाएको हो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालले ती औषधिको गुणस्तरमा शंका गरेपछि विभागले विक्री–वितरण रोकी अनुसन्धान थालेको बताए । ‘हामी अहिले जाँच गरिरहेका छौँ,’ ढकालले भने, रिपोर्ट नआउन्जेलका लागि विक्री–वितरणमा रोक लगाइएको हो ।’

४ र ५ फागुनमा एनएमसी शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका उल्लेखित औषधिका कारण संक्रमण भएको पुष्टि भएको थियो । अस्पतालले औषधिको गुणस्तरमाथि शंका गर्दै विभागलाई सूचना गरेको थियो । अस्पतालकै सूचनाका आधारमा विभागले विक्री–वितरणमा रोक लागाएको हो ।

शल्यक्रियापश्चात् बिरामीमा संक्रमण भई पिसाब नहुने समस्या देखिएको थियो । संक्रमणका कारण बिरामीको मिर्गौलामा गम्भीर समस्या देखिएको अस्पतालले जनाएको छ ।

मेट्रोनिडाजोल एक प्रकारको एन्टिबायोटिक हो, जसले एनएरोबिक ब्याक्टेरियासँग लडन मद्दत गर्छ । यसले पेट तथा आन्द्रा, कलेजो, छाला, मुटु, योनिमा हुने ब्याक्टेरियाको संक्रमणबाट बचाउन सहयोग पुर्याउँछ ।

उल्लेखित उत्पादन औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको विभागले जनाएको छ । यसअघि पनि विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि न्यून गुणस्तरका भेटिएका छन् ।

बजारमा न्यून गुणस्तरका औषधिको बिगबिगी चलिरहँदा नियामक निकाय विभागले आवश्यक मात्रमा अनुगमन गर्न सकिरहेको छैन । औषधिजस्तो मानव स्वास्थ्यसित प्रत्यक्ष जोडिएको अति संवेदनशील विषयमा भइरहेको कमजोर नियमनलाई जनशक्ति अभावको कारण देखाउँदै विभाग पन्छिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय