किन ‘खुसी’ छैनन्, नेपाली डाक्टर

डा. दीपेन्द्र पाण्डेले मंगलबार बिहानै फेसबुकमा एउटा फोटो पोस्ट गरे। आफ्नै त्यो फोटोमा उनले एउटा प्लेकार्ड समाएका छन्। र, त्यसमा लेखिएको छ ‘ह्याप्पी नेप्लीज डक्टर्स डे।’
तर, त्यो प्लेकार्डको ‘ह्याप्पी’ शब्दलाई उनले रातो क्रश चिन्ह लगाइदिएका छन्।

‘नेपालमा ह्याप्पी डाक्टर नै भेटिनँ त्यसकारण यो पालि ह्याप्पी डाक्टर डे भनिनँ’ स्टाटसमा उनले लेखेका छन्।

डा.पाण्डे सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष हुन्।

मंगलबार देशभरका चिकित्सकहरुले ‘चिकित्सक दिवस’ मनाएका छन्।

‘केही डाक्टर जम्मा भएर ‘खुसी’ साट्ने मात्रै यो दिवसको अवधारणा होइन’ डा. पाण्डे भन्छन् ‘चिकित्सा क्षेत्र इज्जतिलो र आत्मसम्मानको पेशा हो तर, राज्यले नै चिकित्सकलाई बुझ्न सकेको छैन।’

खुसी हराएका डाक्टर

नेपालमा प्रजातन्त्रको स्थापनासँगै नेपाली चिकित्सकहरु पनि संगठित भएर नेपाल चिकित्सक संघको स्थापना गरे।

२००७ साल फागुन २० गते संघको स्थापना भएको हो।

यही दिनको सम्झनामा नेपालमा चिकित्सक दिवस मनाइन्छ। यो दिनलाई चिकित्सकहरुको ‘एकता’ दिवसका रुपमा पनि लिन्छन्।

 

यसपालि ७० औं चिकित्सक दिवसको नारा ‘सुरक्षित चिकित्सक, न्यायोचित सेवा सुविधा’ छ।

तर, दिवस मनाइरहँदा डाक्टरहरु भने खुसी छैनन्।

एकातिर चिकित्सकहरुको चित्तबुझ्दो सेवा सुविधा छैन भने अर्कोतिर सुरक्षाको अनुभूति।

अस्पतालमा बिरामीलाई केही भयो कि, तोडफोड र आक्रमण भइहाल्छ।

‘अस्पतालमा ससना घटना केही भयो कि, तोडफोड हुन्छ। स्वास्थ्यकर्मीमाथि आक्रमण हुन्छ’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन् ‘न हामीलाई सेवासुविधा नै चित्तबुझ्दो छ।’
उनका अनुसार यही बाध्यताले एउटै डाक्टरले धेरै ठाउँमा काम गर्छन्। ‘एउटा अस्पतालमा काम गरेर खानै पुग्दैन, अनि धेरै ठाउँमा काम गर्नैपर्छ’ डा. कार्की भन्छन्।

सेवा अनुसारको तलव नै छैन

एउटा योग्य डाक्टर बन्नका लागि लाखौं रुपैयाँ खर्च लाग्छ।

तर, जब ति डाक्टर जागिरे हुन्छन् अनि सरकारले तोकिदिएको तलव भने निकै कम छ।

डा. पाण्डेका अनुसार डाक्टरहरु ‘दुःखी’ हुनुको एउटा मुख्य कारण यो पनि हो।

अनि डा. कार्कीका अनुसार यही कारण सरकारी सेवाप्रति चिकित्सकको आकर्षण निकै कम भइरहेको छ।

‘३४ हजार मासिक तलबले कसरी टिक्न सक्छ?’ कार्की भन्छन्, ‘निजामतिको सह–सचिवलाई गाडी सुविधा हुन्छ, त्यही तहका सरकारी डाक्टरलाई सेवा–सुविधा केही हुन्न।’

अस्पतालमा ‘असुरक्षित’ महसुस गरिरहेका डाक्टरहरुले स्वास्थ्य उपचारमा संलग्न चिकित्सकमाथि हातपात गर्ने जोसुकैलाई पनि विना जमानत जेल, अर्थात् ‘जेल विद्आउट वेल’को माग गरिरहेका छन्।

‘बिरामीको उपचार पनि डराई डराई गर्नुपर्ने अवस्था छ’ डा.कार्की बाध्यता सुनाउँछन्।

नेपालमा डाक्टर : १० हजार बिरामी, एउटा डाक्टर

नेपालमा एकजना डाक्टरले कतिजना बिरामी जाँच गर्नुपर्ने हो? भन्नेबारे स्पष्ट मापदण्ड अहिलेसम्म बनेको छैन।

तर, विश्व स्वास्थ्य संगठनले भने १० हजार नागरिकका लागि ५ जना चिकित्सकको आवश्यकता तोकेको छ। संगठनको यही मापदण्ड अन्र्तराष्ट्रिय रुपमा स्थापित छ।
तर, नेपालमा चिकित्सक र जनसंख्यालाई हेर्ने हो भने १० हजारभन्दा बढी नागरिकलाई एकै जना चिकित्सकले सम्हाल्नुपर्ने बाध्यता रहेको छ।

नेपालमा चिकित्सक कति छन् ?

३१ डिसेम्बर २०१९ सम्म नेपाल मेडिकल काउन्सिलले जारी गरेको तथ्यांक अनुसार नेपालमा ३४ हजार १ सय ४ चिकित्सक रहेका छन्।

जसमा एमबिबिएस तर्फ २३ हजार १ सय ४६ छन्। जसमा पुरुष १५ हजार ४ सय ८५ र महिला ७ हजार ६ सय ६१ छन्। बिडिएसतर्फ ३ हजार २ सय रहेका छन्। पुरुष १ हजार १ सय १८ छन् भने महिला २ हजार ८२ छन्।

त्यसैगरी, एमडि–एमएस तर्फ पुरुष ५ हजार २ सय १३ र महिला १ हजार ९ सय ७२ रहेका छन्। एमडिएस तर्फ हेर्ने हो भने पुरुष २ सय ५६ र महिला ५ सय ७३ रहेको काउन्सिलको तथ्यांक रहेको छ ।

२६ वर्षदेखि उही दरबन्दी

सरकारले २०५० सालमा निर्धारण गरेको दरबन्दी संख्यामा २६ वर्षपछि आजसम्म पनि वृद्धि गरिएको छैन । २६ वर्ष अगाडी सरकारी चिकित्सक १ हजार ४ सयको हाराहारीमा रहेका थिए, तर आजपनि त्यही जनशक्तिले सेवा दिइरहेका छन्।

‘२६ वर्ष अगाडीको दरबन्दीले स्वास्थ्य सेवा दिनुपर्ने अवस्था छ, ‘डा. कार्कीले भने ‘यस्तो अवस्थामा स्वास्थ्यसेवाको पहुँज र गुणस्तर कसरी कायम राख्न सकिन्छ।’
अधिकासं चिकित्सक निजी क्षेत्रतर्फ र सहर केन्द्रित नै छन्। जिल्लामा हेर्ने हो भने चिकित्सकहरुको संख्या नगन्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय