‘दरबन्दीमा नजाने डाक्टर खोजेर मन्त्रालय झिकाउँछौं’

३१ डिसेम्बरमा पहिलोपटक चीनको उहानबाट बाहिर आएको कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिने क्रम जारी छ । चीनमा संक्रमण फैलिएपछि ९ जनवरीमा एकजना नेपाली विद्यार्थी नेपाल आए । नेपाल आएको तीन दिनपछि अर्थात् जनवरी १३ मा उनमा संक्रमण परीक्षण गरियो ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न हामी १३ जनवरीदेखि निरन्तर लागिरहेका छौँ । अलि–अलि स्वास्थ्य मन्त्रालयलाई बुुझेर सुधारका काम गर्न कदम चालिरहेका वेला नचिताएको विषय बोकेर त्यतातिर समय दिनुपरेकाले पनि सय दिनमा जति उत्साहपूर्वक तपाईंहरूको बीचमा यी–यी काम परिणाममुखी भए भनेर भन्न सक्नुपर्थ्यो त्यो सकिएन । परिस्थितिले हामीलाई त्यसरी काम गर्न साथ दिएन । यो कुरा सबैलाई थाहा छ । तथापि, केही काम भएका छन् ।

मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने कतिपय विधि र नीतिका निर्णय हिजोको भन्दा गतिका साथ गर्ने विश्वास सबैमा दिलाएका छौँ । यसको अर्थ सबै कुरा भए भन्ने हाम्रोे दाबी होइन, तर हिजोको भन्दा हामी रफ्तारमा छौँ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संस्थानहरूका डेढ–दुई वर्षअघिदेखि रिक्त पदाधिकारीको पदपूर्ति गरेर संस्थानहरूको संरचनालाई पूर्णता दिने काम गरेका छौँ । उदाहरणका लागि बिपी क्यान्सर अस्पतालमा डेढ–दुई वर्षदेखि सञ्चालक समितिले पूर्णता पाएको थिएन, हामीले पूर्णता दिएका छौँ । हामीले संरचनालाई पूर्णता दिने काम लगभग सकाएका छौँ ।

कर्मचारीसँग सम्बन्धित विषयमा करिब ७ हजार कर्मचारीको समायोजन समस्या रहेकोमा हामीले चार हजारभन्दा बढीको समाधान गरेका छौँ । आइरहने साथीहरू देखिरहन्छन्, तपाईंलाई पुरानो समस्या जस्ताको तस्तै रहेछ भन्ने लाग्नु स्वाभाविक हो । तर, त्यो क्रमशः घट्दै छ ।

स्वास्थ्य मन्त्रालय के हो र यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा लगभग हामीले सबैको उपस्थितिमा केन्द्रसँग सम्बन्धित मुद्दामा सबै संस्थासँग एकाधबाहेक सबै ठाउँमा आफैँ गएर संस्थाबारे अध्ययन गरेका छौँ । हामीले एक सोचाइ निर्माण गरिसकेका छौँ ।

कतिपय मन्त्रालयभित्र गरिएका व्यवस्थापनलाई विधिसम्मत अघि बढाउने प्रयत्न गर्नुका साथै केही आन्तरिक जिम्मेवारीमा समेत हेरफेर गरेका छौँ । झन्डै अढाई वर्षदेखि १२औँ तहमा रिक्त रहेका विशिष्ट पदाधिकारी (प्रमुख विशेषज्ञ)को पदोन्नति यसै अवधिमा भएको छ ।

विगतको मूल्यांकनमा पछाडि परेर बाहिर जाने परम्परा तोडेका छौँ । विगतमा अन्यायमा परेका व्यक्तिहरूले पनि यसपटक न्यायको अनुभूति गर्ने गरी व्यवस्थापन गरेका छौँ ।

अस्पताल तथा अन्य क्षेत्रमा सुधारका लागि अलि बढी एक्सिलेटर दबाएर जाऊ भनेको ठाउँमा अतिरिक्त कामका कारण त्यतातिर पनि ध्यान दिनुपर्ने भएकाले मेरो इच्छाअनुरूप र यसले यति काम गर्नुपर्ने गरेको छैन भन्ने आशंका गरेको बीचमा म्चाच हुन सकेन, जुन मैले पनि महसुस गरेको छु ।

कोरोना भाइरसबारे कतिपय काम गरेका छौँ । तर, गरेको कुरा स्थापित गर्न नसकेका कारण पनि हामीमाथिको प्रश्नले किचेर हिँड्ने ठाउँमा हामी नै छौँ ।
विमानस्थलमा हामीले हाम्रै पहलमा राखेको १०० डिग्रीभन्दा माथिको ज्वरो देखाउने मेसिन त राख्यौँ, तर त्यहाँ मेसिन राखेको छ, मेसिनबाट तपाईं निरीक्षणको क्रममा पास भएर जानुभएको छ भन्ने कुराको सन्देश पनि सम्प्रेषण गर्न सकेनौँ ।

मान्छे प्लेनबाट आउँछ ओर्लन्छ, हुलमै आउछँ । आफ्नो जाँच भइरहेको छ भन्ने कुरा उसलाई थाहा छैन । ज्वरो १०० डिग्रीभन्दा माथि गयो भने मात्रै त्यसलाई रोकेर प्रक्रियामा लैजाने कुरा हो । चेकिङ पास गरेर आएँ भनेपछि सबैमा केही न केही असर पक्कै पर्छ । हाम्रै नेता आउँदासमेत परीक्षण भएन भन्छन् ।

अबदेखि प्लेनमा चढ्नुअगाडि पनि चेकजाँच हुने र आएका प्रत्येक व्यक्तिलाई पनि परीक्षण भएर आएको भन्ने अनुभूति दिलाउनेमा हामी लागेका छौँ ।

अहिलेसम्म एकजना चीनबाट आएका विद्यार्थीमा देखिएको कोरोना भाइरस अहिले नेगेटिभ भएको छ । अहिलेसम्म २ सय १८ जनालाई चेकजाँचका लागि राखिए पनि कसैमा संक्रमण देखिएको छैन । तर, समाजमा एक किसिमको भय–आतंक छ ।

कहिलेकाहीँ ढुक्कले बसौँजस्तो लाग्छ, तर कहिलेकाहीँ अपत्कालमा परिएला कि भन्ने पिर पर्छ ।
जतिवेला चीनबाट विद्यार्थी ल्याउन ढिला भयो, त्यतिवेला कराउने साथीहरू सदनबाहिर दुवैतिर कराए । जब सरकारले ल्याउने काम गर्यो, तब तिनै साथीहरूले मैले देख्ने ठाउँमा राखेन भनेर अभिव्यक्ति दिए । यो हामी कति जिम्मेवार छौँ भन्ने कुराको एक दृष्टान्त मात्रै हो ।

चीनबाट ल्याइएका नागरिकलाई भक्तपुरको चाँगुनारायणमा राख्ने निर्णय गरी मुख्यसचिव र सचिवलाई के पठाइएको थियो, भोलिपल्ट वडाध्यक्षको नेतृत्वमा जुलुस आएर खबरदारी गरे । केही सीप नलागेपछि हामीले खरीपाटीमा राख्ने निधो गर्यौँ । चीनमा भएका अशक्त बिरामी ल्याएर यहाँ राखिँदै छ भन्ने इम्प्रेसन दिई समाजलाई भड्काइयो ।
चीनबाट ल्याइएका विद्यार्थीलाई त्यहाँ राख्दा भाडामा बस्नेले त कोठा छाडे, छाडे, घरपेटीले समेत घर छाडे भन्ने सूचना सम्प्रेषण भए ।

यताका मान्छेलाई विद्यार्थी ल्याई कुन गुफामा राख्ला, के गर्ला भन्ने पिर पर्यो । तर, जब आएका विद्यार्थीले सरकारले सोचेभन्दा राम्रो व्यवस्था गरेको भन्दै धन्यवाद दिए, तब धेरै साथीहरूलाई सिटामोल खुवाउनुपर्ने अवस्था आयो । आएका समेत सरकारको काम देखेर खुसी भए । काम नगर्दा मात्रै होइन, गर्दासमेत अपजस भोगेका छौँ । तर पनि सेवाभावबाट हामी विचलित भएका छैनौँ ।

क्वारेन्टाइनमा रहेका १ सय ७५ जाना साथीलाई सकुशल रिलिज गर्न सक्छौँ भन्ने विश्वास लिएका छौँ । यो विश्वभर फैलिएको छ । दक्षिण कोरिया, अरब तथा भारततिर प्नि फैलिँदा हामीले बढी सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ । बालुवाटारमा समेत बैठक बसेर संक्रमण रोक्न समिति गठन गरेका छौँ ।

संक्रमण रोक्न सीमासुरक्षामा विशेष ध्यान दिनुपर्ने भएको छ । यसमै सबैको सर्वोपरि हित छ । अन्तर्राष्ट्रिय उडानहरू कतिपय मुलुकले घोषित रूपमै बन्द गरेका छन् भने कतिपयले अघोषित रूपमा ।

हामीले के गर्ने भन्नेबारे एक–दुई दिनमै निर्णय गर्छौं । अहिले सम्भावित ठाउँहरू र जोखिम रहेका मुलुकहरूमा विशेष सवाधानी अपनाउनुपर्छ ।
कोरोनाले सगरमाथा संवाद तथा भ्रमण वर्ष नेपालका सम्पूर्ण अभियान बन्द गरेका छौँ । देशमै गर्ने ठूला कार्यक्रम तथा भोजभतेर नगरौँ ।
भेट हुँदा चुम्बन तथा अंकमाल नगरी टाढैबाट नमस्ते गर्दा पनि केही हदसम्म संक्रमणबाट बच्न सकिन्छ भनी सार्वजनिक सूचना जारी गर्नेछौँ ।

अस्पतालमा ४३ वटा आइसोलेटेड बेडको व्यवस्था गरेका छौँ । विभिन्न अस्पतालमा आवश्यक व्यवस्थामा कुनै कमी छैन । सबैसँग समन्वय, सहकार्य गरेर अघि बढिरहेका छौँ ।

कोरोनाको विषयमा हामीले तीन चरणमा कार्य गर्ने योजना बनाएका छौँ । पहिलो चरणमा संक्रमण आउन नदिन जागरण र सावधानी अपनाउने । दोस्रो चरणमा आएपछि उपचारका लागि सम्पूर्ण जनशक्तिको परिचालन गर्ने । तेस्रो चरणमा महामारी नै भयो भने सबै अस्पताल खाली गरेर कोरोनाका बिरामी मात्रै राख्ने ।
तर, अहिले नै तयारी गरिरहेका छौँ भनेर अस्पतालका बिरामीलाई घर पठाउनु न्यायसंगत हुँदैन । बिरामीलाई घर फर्काउनु प्रचारका लागि राम्रो होला तर मानवीयताका हिसाबले त्यो ठिक होइन ।

राज्यले उपचारका लागि अस्पतालमा आवश्यक बेडको व्यवस्था गर्ने र संक्रमणले विकराल रूप लियो भने देशमा स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि सम्पूर्ण व्यवस्था राज्यले गर्छ ।

कोरोनाको संक्रमण रोक्न सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ । आइसियु र डाक्टर हामी व्यवस्था गर्छौं ।
डाक्टर र नर्सको सुविधा वृद्धि नगरी ‘एक स्वास्थ्यसंस्था एक चिकित्सक’ नीति अवलम्बन गर्नु त्यहाँ काम गर्नेमाथि अन्याय हुन्छ ।
यति तलब तथा सेवासुविधा भयो भने डाक्टर नर्सले अन्त काम गर्नुपर्दैन भन्ने कुराको राज्यले समीक्षा गरेर २४ घण्टा त्यही सेवा दिने व्यवस्था भएपछि यो नीति लागू गर्न सकिन्छ ।
सिद्धान्त राम्रो लाग्यो भनेर आवश्यक व्यवस्थापन नगरीकनै काम गरियो भने सफल हुँदैन ।

स्वास्थ्यका कर्मचारीमाथि राज्यबाट समान ढंगको व्यवहार भएको छैन । म आएपछि यो अन्त्य भएको भन्ने होइन, तर यो मन्त्री आएपछि ढिलो–छिटो सहयोगात्मक भूमिका रह्यो भन्ने वातावरण बनाउँछु ।
स्वास्थ्य क्षेत्रमा अन्यायमा परेका सबै क्षेत्रलाई अनुभूत गराउन सक्छु भन्ने विश्वास लिएको छु ।
गाउँमा डाक्टर पठाउने, औषधोपचारका कुराहरूमा हामीले काम गरिरहेका छौँ । डाक्टर, नर्स नगएका गाउँमा उनीहरूको दरबन्दी सिर्जना गर्दै छौँ ।

भर्खरै म डडेल्धुरा जाँदा २८ जना डाक्टरको दरबन्दी रहेकोमा ५ जना मात्र कार्यरत छन् । त्यहाँ बाकी २३ जना दुर्गमको अंक पनि प्राप्त गर्ने, सेवा पनि नगर्ने देशमा छन् कि विदेशमा, त्योसमेत थाहा नहुने अवस्था छ । अब त्यस्तो हुँदैन । जो डाक्टर अस्पतालमा छन्, उनीहरूको दरबन्दी मात्रै त्यहाँ हुन्छ, बाँकीलाई पहिलो चरणमा मन्त्रालय ल्याउँछौँ ।

डाक्टर कहाँ छन् त? देशमा छ कि, विदेशमा छ कि, लडिमर्यो कि, डढिम¥यो कि, भाग्यो कि, महिना दिनमा हाजिर गर्न आएन भने सोधखोज गर्छौं, अर्को महिना पनि आएन भने उसलाई आजादी दिन्छौँ ।

हजारजना डाक्टर मन्त्रालयमा छन् भन्दा तपाईंजस्ता सर्वसाधारणले खै त हजारजना भनी सोधे भने कि मैले देखाउन सक्नुपर्यो, कि त विधि–प्रक्रियामा यहाँनिर छन्, धर्मरमा छन् भनी रेकर्ड देखाउन सक्नुपर्यो । मैले सुनेको छु, यतातिर यस्तो अवस्था पनि छ ।
यी सबै समस्याको छिटो–ढिलो हामी समाधान गर्छौं ।

यात्रुहरूको विवरण राख्ने कुरा र प्लेनमा अनाउन्स गर्ने व्यवस्था आरम्भ गरेका छौँ । अहिले सामान्य अवस्थामा रहे पनि यसलाई प्रभावकारी बनाउँछौँ । स्वास्थ्यसँग सम्बन्धित विषयमा यथोचित ध्यान दिन्छौँ ।

एबोर्सनको कुरा आएको छ । पहिले २२ हप्तासम्मको गर्भको एबोर्सन गर्न पाउनेमा अहिले २८ हप्तासम्म गर्न पाउने कुरा आएको छ । पृथ्वीनारायण शाह जन्मेको भन्दा अलि पछिसम्म एबोर्सन गर्ने कुरामा मानवीय हुन्न कि भन्ने कुरा थियो ।

अहिले २८ हप्तासम्मको वकालत गरिरहेका छन् । यो कत्तिको मानवीय कुरा हो भन्नेबारे प्रश्न उठिरहेका छन् । यस्ता विषयमा छलफल गरेर निष्कर्ष निकाल्नु बुद्धिमानी हुन्छ कि भन्ने विषयले कतिपय विषयहरू अहिले किनारामा छन् ।

फुर्सदमा नीति–नियम, ऐनहरू बनायो, बनाइसकेपछि बेठिक बनाइयो भनेर पछुताउनुभन्दा बनाउनुअघि नै विचार गर्यो भने कार्यान्वयन गर्न सहज हुन्छ ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गर्न आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ढकालले व्यक्त गरेको मन्तव्यको सम्पादित अशं। हेल्थपोस्ट नेपालका अंगदबहादुर सिंहको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय