कोराना करह : प्रदेश ५को लगानी सम्मेलन स्थगित, मेला महोत्सव रोक्न निर्देशन

प्रदेश ५ सरकारले मेला महोत्सव आयोजना गर्नमा रोक लगाएको छ। विश्वभरि फैलिएको कोरोनाको संक्रमण फैलिन नदिनका लागि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो।

प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी मेला रोक्न र नगर्न निर्देशन गर्ने प्रदेश सरकारको भनाई छ।

प्रदेश ५ को मन्त्री परिषद्को बैठकले प्रदेश ५ का सबै स्थानको बढी भिडभाड हुने मेला महोत्सव आयोजना नगर्नको लागि समेत आग्रह गरेको छ।

सोमबार बसेको मन्त्री परिषद् बैठकलले कोरोना भाईरसको संक्रमणको त्रासका कारण वैशाखमा गर्न लागेको लगानी सम्मेलन स्थगित गरेको भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

सम्मेलनमा विदेशी लगानीकर्ता पनि सहभागी गराउनुपर्ने भएकाले अन्तर्रा्ष्ट्रिय परिवेशअनुसार सतर्कता अपनाउन सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता चौधरीले बताए ।

सम्मेलनसँगै प्रदेश ५ का १२ वटै जिल्लामा हुने मेला महोत्सव पनि अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । बैठकले लगानी सम्मेलन, मेला, महोत्सवसँगै धेरै जना भेला हुने कार्यक्रममा समेत प्रमुख जिल्ला अधिकारीमार्फत रोक लगाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न र सतर्कता अपनाउन संघीय सरकारको निर्णय कार्यान्वयन गर्दै प्रदेश सरकारले पनि एकै स्थानमा धेरै भेला हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय गरेको छ । वैशाख ४ र ५ गते हुने लगानी सम्मेलनमा पनि विदेशीको सहभागिता हुने भएकाले तत्कालका लागि स्थगित गर्नु परेको सरकारका प्रवक्ता चौधरीले बताए ।

प्रदेश सरकारले संघीय सरकारको निर्णयसँगै सोमबार नै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी मेला रोक्न र नगर्न निर्देशन दिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय