आफ्नो चर्चबाट कोरोना फैलिएको स्विकार्दै कोरियाका पादरीले मागे माफी

हेल्थपोस्ट नेपाल

दक्षिण कोरियाका सिन्चियोन्जी चर्चका पादरी लिम्यान हेले सरकार तथा नागरिकसँग माफी मागेका छन् । आफ्नो चर्चबाट कोरोना फैलिएकाले उनले माफी मागेका हुन् ।

सिन्चियोन्जी चर्चबाट दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै उनले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । धार्मिक संस्थाको लापरबाहीले कोरियाले संक्रमण बेहोर्नुपरेको भन्दै विरोध भएपछि उनले समयमै ध्यान नदिँदा संक्रमणले ठूलो रुप लिएको पत्रकारसम्मेलनमा जानकारी दिएका छन् ।

देशभर महामारीका रुपमा फैलिएको भाइरसको संक्रमण चर्चबाटै सरेको अधिकारीहरुले दाबी गरेका छन् । कोरियामा ४ हजार २ सय १२ जना संक्रमित फेलापरिसकेका छन् । यो चीनपछिको सबैभन्दा ठूलो संक्रमण हो । कोरियामा सोमबार मात्र ४ सय ७६ जनामा भाइरसको संक्रमण देखिएको छ । कोरियामा अहिलेसम्म २६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

अधिकारीहरुले लीको लापरबाहीका कारण कोरिया दलदलमा फसेको टिप्पणी गरेका छन् । कोरियाली जनता तथा नेताले लीको लापरबाहीबारे अनुसन्धान गर्न माग गरेका छन् ।

‘यद्यपि, यो जानी–जानी गरेको गल्ती होइन, तर भाइरसबाट हजारौँ संक्रमित भएका छन्,’ ८८ वर्षीया एक नेताले भनेका छन्, ‘संक्रमण रोक्न यथोचित प्रयास गर्दागर्दै पनि हामी विफल भएका छौँ ।’

कोरियाको दक्षिणी सहर दागुमा देखिएका ३ हजार ८२ जना संक्रमितमध्ये ७३ प्रतिशतमा नजिकै रहेको सिन्चियोन्जी चर्चबाटै संक्रमण फैलिएको बताइएको छ ।

राजधानी सियोलका मेयरले कोरोना संक्रमण नियन्त्रित गर्न घरमै काम गर्न तथा भिडभाड र सार्वजनिक स्थानमा नजान आग्रह गरेका छन् ।

लीले आफूलाई जिसस क्राइस्टपछिको दोस्रो पादरी मान्छन् । उनी १ लाख ४४ हजारलाई आफूसँगै स्वर्ग लैजान चाहेको बताउँदै आएका छन् ।

एजेन्सीहरुकाे सहयाेगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *