‘थप ऊर्जा र आत्मविश्वास लिएर छिटै काममा फर्किनेछु’

मेरो सिंगो जीवन कुनै न कुनै प्रकारको संघर्षमा बित्दै आएको छ । कहिले निरंकुशताविरुद्ध लोकतन्त्रका लागि संघर्ष, कहिले राष्ट्रहित र स्वाभिमानका लागि संघर्ष त कहिले देशमा स्थायित्व तथा स्थायित्व नचाहनेहरूसँगको संघर्ष । मुलुकमा व्याप्त यस प्रकारका समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न बाध्य भएको सबैलाई थाहा छ ।

आजभन्दा १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गराएको थिएँ । त्यसवेला नेपालमा प्रत्यारोपणको सुविधा थिएन । पर्सि फागुन २१ गते बुधबार मैले फेरि मिर्गौला प्रत्यारोण गराउँदै छु, जसको पूर्वतयारीका लागि आजै शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै छु ।

विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मिर्गौला प्रत्यारोपण तुलनात्मक रूपले सजिलो हुने विश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने अवसर प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुसी छु ।

आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत बनाउन सकिन्छ । कुनै समय मूर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर ब्युँझाएका छौँ । त्यसलाई ब्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईंहरू सबैले आफूलाई उभ्याउनुभयो ।

यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौँ । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ ।

संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरूले बुझ्नुभएको छ ।

म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुस् । हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्किनेछु । यसबीचमा सरकारका तर्फबाट गर्नुपर्ने काम नियमित रूपमा अघि बढ्नेछन् ।

विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या, भैपरिआउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।

मेरो अस्पताल बसाइको समयमा पार्टी र संसद् दुवैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता–कार्यकर्ता सांसदहरू र लाखौँ पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा विश्वस्त छु ।

मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय