अस्पताल भर्नाअघि भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओली, मोदीले गरे सफल उपचारको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुपूर्व भिडियोमार्फत देश र जनतालाई सन्देश दिने भएका छन् । प्रधानमन्त्री ओलीले अस्पताल जानुअघि बालुवाटारबाट आफ्नो स्वास्थ्य तथा कार्यसम्पादनलगायत विषयमा सन्देश दिने बालुवाटार स्रोतले बताएको छ ।

आफू अस्पतालमा उपचाररत रहँदा सरकारले गर्ने कार्यसम्पादनबारे भिडियो सन्देशमार्फत जानकारी दिने अनुमान गरिएको छ । उनले स्वास्थ्यलाभको कामना गर्न बालुवाटार पुगेका उच्चपदस्थ अधिकारीहरूसित उच्च आत्मबल देखाएका छन् ।

१२ वर्षअघि प्रत्यारोपित मिर्गौलाले काम गर्न छाडेपछि केही महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका प्रधानमन्त्री ओली दोस्रोपटक प्रत्यारोपणका लागि सोमबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुँदै छन् । उनको बुधबार पुनः प्रत्यारोपण गर्ने कार्यक्रम छ । यसपटक उनलाई भान्जी नाता उल्लेख गरिएकी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिने बताइएको छ ।

प्रधानमन्त्री ओलीले पहिलोपटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । यसपटक भने उनको प्रत्यारोपण स्वदेशी अस्पतालमा स्वदेशी चिकित्सकको नेतृत्वमै हुन लागेको हो । यद्यपि, प्रत्यारोपणमा सहयोग गर्न पहिलोपटक प्रत्यारोपण गर्ने भारतीया चिकित्सकलाई समेत बोलाइएको छ । पहिलो प्रत्यारोपणको नेतृत्व गरेका भारतीय विशेषज्ञ प्रा.डा. अनन्तकुमार प्रतिनिधिसहित नेपाल आइसकेका छन् । यसपटक प्रत्यारोपणको नेतृत्व त्रिवि शिक्षण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवालीले गर्दै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कमना गरेका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न गरिरहेका प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीले सोमबार ट्विटमार्फत स्वास्थ्यलाभको अग्रिम शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभका लागि मोदीले भगवान् पशुपतिनाथसित प्रार्थना गरेका छन् । आगामी दिनमा पनि नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री ओलीको योगदान निरन्तर रहने विश्वास मोदीले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले ट्विटमा भनेका छन्, ‘मेरा प्रिय मित्र केपी शर्मा ओलीजी, तपाईंलाई सफल शल्यक्रिया तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भगवान् पशुपतिनाथले तपाईंलाई सधैँ राम्रो स्वास्थ्य, खुसी र लामो जीवनसहित रक्षा गरून् । भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन तपाईंको योगदान आगामी दिनमा पनि निरन्तर रहने विश्वास लिएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय