वीरमा एक घण्टा : भीडभाडको अत्यासमात्रै

लाग्छ, उनीहरू कुनै लोकल रेल कुरिरहेका छन् र, सबका आँखा लिकमै अडिएका छन् ।

कतिवेला रेल आउला र यात्रा तय गर्न पाउँला, यस्तै बेचैनी र छटपटी देखिन्थ्यो उनीहरूको अनुहारमा ।

घरी यता, घरी उता गरिरहेका छन् । अन्त जान मान्दैनन् आँखा ।

दृश्य मुलुककै जेठो तथा ठूलो अस्पताल वीरको हो, जहाँ सर्वसाधारण तथा बिरामीको घुइँचो छ ।

अस्पतालको कम्पाउन्डदेखि हरेक विभागका हरेक कोठा बिरामी तथा कुरुवाले भरिभराउ छन् ।

इमर्जेन्सीका कुनै पनि शय्या खाली छैनन् ।

लाग्छ, अब वीरमा ठाउँ नै छैन । बिरामीलाई एक अन्यत्र सार्दासमेत बाटो छोड्नुस् भन्दै हिँड्नुपर्ने अवस्था छ ।

सबैका हातहातमा टोकन र पर्चा, केही टिकट काउन्टरतिर त कोही क्यास काउन्टरमा आफ्नो नम्बर कुरेर बसेका छन् । यस्तै अवस्था परीक्षणका लागि रगत दिने तथा रिपोर्ट लिने ठाउँमा छ ।

सर्वसाधारणलाई बस्न ठाउँ छैन । लामो समय उभिँदा पट्यार लागेर होला, उनीहरू खुट्टा यताउता चलाइरहन्छन्, आँखा र गर्दनको गति मिलाउँछन् ।

हातमा कार्ड र कुपन हुनेहरू पालो कुरिरहेका छन्, नयाँ आउनेलाई कुपनको प्रतीक्षामा छन् ।

पालैपालो कुपन त हात पर्यो, तर पालो कतिवेला आउने हो निश्चित छैन ।

जब काउन्टरबाट टोकन नम्बर … भनेर बोलाइन्छ, तब हरेकका आँखा आफ्नो हातमा भएको टोकनमाथि पर्छ, भलै उनीहरूलाई टोकन लिनेबित्तिकै आफ्नो नम्बर थाहा हुन्छ । उनीहरू हरेक बोलावटमा आफ्नो पालोबारे विस्वस्त हुन चाहन्छन् ।

एक घण्टा वीर अस्पतालमा बिताउँदा यस्ता अनेक दृश्य देखिए, जसले अस्पतालको यथार्थ झल्काइरहेका थिए ।

परिसरभित्रै औषधि तथा अन्य स्रोतबाट आएको गन्धले सेवाग्राही नाक खुम्च्याउन बाध्य छन् । न शौचालयको सरसफाइमा ध्यान दिइएको छ, न खानेपानीकै व्यवस्था ।

वीरमा उपचारका लागि आएकी रञ्जना न्यौपाने पनि चलमलाइरहेकी थिइन् । उनका खुट्टाले पट्यार महसुस गरिहेको स्पष्ट देखिन्यो । उनको नाक पनि गन्धसित अभ्यस्त हुन नसकिरहेको महसुस हुन्छ । उनका परेली स्थिर थिएनन्, आँखाले भ्याएजति स्थान र गतिविधि नियालिरहेकी थिइन् ।

रगतको नमुना संकलन स्थलमा सेवाग्राहीको लामबद्ध जमात छ, फार्मेसीतिर पनि उस्तै दृश्य छ । सबै काउन्टर सेवाग्राहीको लाइनले छेकिएका छन् ।

सबैलाई लाग्दै हुँदो हो, कतिवेला पो पालो आउँछ । बल्ल–बल्ल एउटामा पालो आयो, अर्कोतर्फ त्यसैगरी बस्नु छ । लाइनमा बसेकाले पटक–पटक घडी तथा मेबाइल समय हेरेको देख्दा लाग्छ, उनीहरू अस्पतालको काम जतिसक्यो चाँडो सकाएर ड्युटी भ्याउने हतारमा छन् ।

‘उभिँदा–उभिँदा खुट्टा थाकिसके । छिट्टै पालो पाइन्छ भनेर बिहानै आएँ, तर अहिलेसम्म लाइनमै छु,’ बिल तिर्न पालो पर्खिरहेकी रञ्जना न्यौपानले भनिन् ।

ल्याब रसिद दर्ता कक्ष, फार्मेसी र रगतको नमुना संकलन केन्द्रमा सेवाग्राही यसरी लामबद्ध छन् । यहाँको दृश्य अनलाइन फारम भर्ने व्यवस्था नहुँदा जागिरका लागि अन्तिम मितिमा लोकसेवाको फारम बुझाउन लामबद्ध भएको बेरोजगार जनशक्तिको भन्दा फरक देखिँदैन ।

उपचार गराउने हतारो सबैलाई हुनु स्वाभाविकै हो । सबैभन्दा सस्तो सरकारी अस्पताल, नामी डाक्टर, एकै ठाउँमा सबैखाले सेवा, मुलुककै उपचारको केन्द्र हो वीर । यस्तै सोचेर देशभरबाट उपचारका लागि वीर आइपुग्छन् बिरामी । तर, अस्पतालको सेवाप्रवाहको अवस्था उनीहरूले सोचेजस्तो सहज भने छैन ।

सेवाग्राहीको चापले बस्ने ठाउँसम्म नपाएर घण्टौँसम्म उभिनुपर्ने बाध्यताले ठूलो आशा लिएर दूरदराजबाट आएको सेवाग्राहीलाई निराश बनाउँछ । बिहानैदेखि साँझसम्म गेटबाट भित्रिने–बाहिरिने क्रम उस्तै चलि नै रहन्छ ।

रञ्जना भन्दै थिइन्, ‘निजी अस्पतालमा पहुँच नभएका गरिब तथा विपन्नहरू सस्तो भएकाले सरकारी अस्पताल आउँछन्, तर यहाँ पालो कुर्दाकुर्दै स्वस्थ मान्छे पनि बिरामी पर्ने अवस्था छ ।’

अस्पतालको सेवा–सुविधाबाट उनी खुसी थिइनन् । उनलाई विशेषगरी व्यवस्थापन पक्षमा कमजोरी खड्किएको छ ।

‘बिरामीले समेत लाइनमा बस्नुपर्ने अवस्था छ । शौचालयको छेउबाट हिँड्नसमेत नसकिने अवस्थामा त्यहीँ घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ,’ काभ्रेबाट आएका मनीष भन्छन्, ‘समाजको सबैभन्दा तल्लो वर्गले समेत उपचार पाउने यो अस्पतालको व्यवस्थापकीय सुधारमा सरकारले विशेष ध्यान दिनु जरुरी छ ।’

पहिलोपटक आउने सेवाग्राहीको त कता जाने भन्ने भेउ नपाएर अलमलमै दिन बित्ने अवस्था रहेको उनी बताउँछन् ।

अस्पतालको मेडिकल रेकर्ड शाखाका अनुसार आर्थिक वर्ष ०५७–७६ मा वीरबाट ३ लाख ७८ हजार ५ सय १८ जनाले ओपिडी र ४४ हजार ५ सय ४९ ले आकस्मिक सेवा लिएका थिए । गत आवमा १३ हजार १ सय

६८ बिरामीले वीरमा भर्ना भएर उपचार गराएका थिए । अस्पतालबाट गत आवमा कुल ४ लाख ३६ हजार २ सय ३५ जनाले सेवा लिएको देखिन्छ । चालू आवको माघ महिना (७ महिना) सम्म २ लाख ६० हजार ९ सय ५९ जनाले वीरमा उपचार गराएको अस्पतालको तथ्यांक छ ।

बिरामीको चाप बढ्दै गए पनि आवश्यकताअनुसार सेवाविस्तार र उचित व्यवस्थापनमा भने ध्यान दिएको देखिँदैन ।

‘सबैले लाइनमै बस्नुपर्ने, ठेलमठेलको अवस्था छ,’ मनीष भन्छन्, ‘बिरामी आइहाल्छन् भनेर अस्पतालले लापरबाही गर्नुहुँदैन । बिरामी संख्या बढेर मात्र हुँदैन, सेवा तथा गुणस्तर पनि बढाउनुपर्छ ।’

वीरमा एक घण्टा बिताउँदा मलाई लाग्यो, कुनै लोकल रेल कुरिरहेको छु । मुलुकका सबैजसो सरकारी अस्पतालमा बिरामीको चाप अत्यधिक छ । सरकारी अस्पतालमा सस्तो मात्र नभएर सेवाको गुणस्तर पनि राम्रो भएकाले नै बिरामीको भिड लाग्ने गरेको हो । तर, व्यवस्थापकीय पक्ष कमजोर हुँदा एकातिर बिरामीको भरोसा कमजोर बनिरहेको छ भने अर्कोतर्फ सेवाको गुणस्तर प्रभावित बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय