पोखरा बाल अस्पताललाई महानगरकाे जग्गा : वडाध्यक्षहरुको विरोध

अनुप पाैडेल/पाेखरा
प्रकाशित
२०७६ फागुन १७ गते ९:२०

पोखरामा बाल अस्पताल सञ्चालनका लागि वडा कार्यालय रहेको भवन काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई दिने विषयमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले विरोध जनाएका छन्।

विज्ञप्ती निकालेर काङ्ग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षहरुले विरोध जनाएका हुन्। दलका नेता तथा सचेतक लामिछानेले आफूहरुसँग छलफल नगरी एकलौटी ढङ्गले निर्णय गरिएको भन्दै आपत्ति जनाएका छन्।

विज्ञप्तीमा सो निर्णय तत्काल सच्याएर लेखनाथवासीको भावनाको अपनत्व हुने गरी निर्णय गर्न माग गरिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहबरमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरेका थिए।

पोखरा महानगरपालिका वडा नं २७ रहेको भवन र त्यहाँस्थित ३७ रोपनी जग्गा किओचलाई ३० वर्षसम्म निशुल्क दिने गरी गएको आइतबार सम्झौता भएको थियो ।

गत फागुन २ गते बसेको ३६ औं कार्यपालिका बैठकमा महानगरपालिका प्रमुख मानबहादुर जिसीले भवन र जग्गा दिनेसम्बन्धि एजेन्डा प्रस्तुत गरेका थिए ।

त्यहीबेला वडा नं २७ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य पूर्णकुमार गुरुङले तत्कालै उठेर लेखनाथवासी जनतालाई नसोधी निर्णय गर्न नहुने बताएका थिए ।त्यसपछि छलफल गरेर निर्णय गर्ने भनिएपनि एकलौटी ढङ्गले निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

किओचले सबै प्रदेशमा विशिष्टिकृत बाल स्वास्थ्य सेवा प्रदान गर्ने तथा अनुसन्धान गर्ने योजनाअन्तर्गत पहिलोपटक पोखरा महानगरसँग सम्झौता गरेको हो ।

करिब ५० करोड लगानीमा बनाउने तयारी भइरहेको अस्पतालमा सुरुवातमा ५० शैया रहने छन् । त्यसलाई पछि विस्तार गरेर एक सय शैया पुर्याउने किओचको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय