नेपाल कोरोनाको उच्च जोखिम क्षेत्र घोषित, के छ तयारी ?

हेल्थपोस्ट नेपाल

नेपाल कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम देशभित्र परेको छ । बिहीबार साप्ताहिक ब्रिफिङपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमयुक्त सूचीमा राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वका महाशक्ति राष्ट्रहरूलाई समेत गलाइरहेको प्राणघातक भाइरसको अति उच्च जोखिममा परिसक्दा पनि त्यसविरुद्ध लड्न आवश्यक तयारी तथा सतर्कता भने सरकारले अपनाएको देखिएको छैन । पूर्वतयारी गरिरहेको जनाए पनि स्वस्थ्य मन्त्रालयले ठोस योजना तथा कार्यक्रम सार्वजनिक गर्न सकेको छैन ।

डब्लुएचओले नेपालसहित दक्षिण एसियाका सबै देशलाई उच्च जोखिममा राखेको छ । विश्वका ५० भन्दा बढी मुलुकमा फैलिसकेको भाइरस नेपालमा पनि प्रवेश गरेको खण्डमा भयावह अवस्था निम्त्याउने निश्चित रहेको विशेषज्ञहरू बताउँछन् ।

डब्लुएचओले अति उच्च जोखिम भएको देशमा नेपाललाई समावेश गरेसँगै सतर्कता तथा पूर्वतयारी बढाइएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
‘जोखिम बढेसँगै हामीले पूर्वतयारी बढाएका छौँ,’ डा. देवकोटाले भने, ‘वीर, पाटनलगायत अस्पतालमा यसअघि उनीहरूलाई नै आइसोलेसन वार्ड बनाउन भनिएकोमा अहिले अनुगमन थालेका छौँ ।’

मन्त्रालयले प्लान ‘बी’अन्तर्गत योजना तय गरिरहेको डा. देवकोटाले बताए । यद्यपि, यो–यो गर्ने भन्ने तय नभइसकेको उनको भनाइ । ‘आइतबारतिर कार्यक्रमबारे केही निष्कर्ष आउला,’ उनले भने ।

चीन मात्र नभएर नेपालीको बढी आवतजावत हुने दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू तथा युरोपियन देशहरूमा समेत महामारी फैलिएपछि सीमानाका तथा विमानस्थलको सतर्कताबारे डा. देवकोटाले भने, ‘बोर्डरमा सशस्त्र प्रहरीको चिकित्सक खटाइएको छ, विमानस्थलमा पनि स्वास्थ्यपरीक्षण निगरानी बढाएका छौँ ।’

स्वास्थ्य सेवा विभागले भने देशव्यापी रूपमा कोरोनाविरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अन्य कार्यक्रम नगर्ने घोषणा गरिसकेको छ । विभागले भाइरस नियन्त्रणका लागि सम्बन्धित निकायहरूमा आवश्यक निर्देशन जारी गरेको जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *