कोरोनाविरुद्ध विश्वव्यापी सावधानी : बेलायत र जापानमा विद्यालय बन्द, मंगोलियन राष्ट्रपति क्वारेन्टाइनमा

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण सबै महादेशमा फैलिएसँगै विश्वभर महामारी नियन्त्रणका लागि हरसम्भव अवलम्बन गरिँदै छ । आफ्नो सीमानाकामा उच्च सुरक्षा सतर्कता अपनाएका देशहरूले देशभित्र पनि सावधानीका सम्भावित उपाय कार्यान्वयनमा ल्याउन थालेका छन् ।

यसै क्रममा संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै बेलायत (संयुक्त अधिराज्य)ले कम्तीमा २ महिना देशभरका विद्यालय बन्द गरेको छ । ग्य्रान्ड नेसनल र लन्डन म्याराथन प्रतियोगिता स्थागित गरिएका छन् । सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ भने बहुचर्चित इंग्लिस प्रिमियर लिग र एफए कम फुटबल खेलसमेत स्थगित गर्ने तयारी गरिएको छ । त्यसैगरी, कन्सर्ट तथा अन्य उत्सवमा प्रतिबन्ध लगाउने तयारी भइरहेको इंग्लिस मिडियाले जनाएका छन् । बेलायतमा शुक्रबार रातिसम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जापानले पनि सोमबारदेखि एक महिनाका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने घोषणा गरेको छ । चीनपछि अर्को आसपासकै देश दक्षिण कोरिया र आफ्नौ देशमा पनि तीव्र गतिमा महामारी फैलिएसँगै जापान सरकारले एक महिनाका लागि विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।

समुद्री तटीय क्षेत्रमा रोकिएको डायमन्ड प्रिन्सेस क्रुजबाहेक नै जापानमा १८६ जनामा संक्रमण पुष्टि भइसकेको छ, जसमा ४ जनाको मृत्यु भएको छ । संक्रमित हुनेमा केही बालबालिका पनि छन् । क्रुजमा हालसम्म ७०५ जनामा संक्रमण पुष्टि भएको छ भने ४ जनाको ज्यान गएको छ ।

प्रधानमन्त्री सिन्जो आबेले संक्रमण फैलिन नदिन अगामी सोमबारदेखि मार्च महिनाको अन्तसम्म विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । ‘बालबालिकाको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै संक्रमणको जोखिम रोक्न विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ,’ प्रधानमन्त्री आबेले भनेका छन् ।

संक्रमण फैलिन नदिन जापान सरकारले यथासम्भव प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री आबेले सतर्कता अभियानअन्तर्गत विद्यालय बन्द गर्ने कदम उठाएको जानकारी दिएका छन् ।

‘आउँदो एकदेखि दुई साताको समय हाम्रा लागि निकै महत्त्वपूर्ण छ,’ उनले भनेका छन्, ‘हामीले कोरोनाको संक्रमण यहीँ रोक्नुपर्छ ।’

३१ डिसेम्बरमा चीनको हुबेई प्रान्तअन्तर्गत उहान राज्यबाट देखापरेको कोरोना यतिवेला विश्वका ५० भन्दा बढी देशमा फैलिसकेको छ । भाइरसविरुद्ध निर्णायक लडाइँ लडिरहेका देशहरू सतर्कताका कुनै पनि कासर बाँकी राख्न चाहँदैनन् । विद्यालयमा बालबालिकामा संक्रमण भइहालेमा तीव्र गतिमा महामारी फैलिने जोखिम भएकाले देशहरूले विद्यालय बन्द गर्ने निर्णय लिएका हुन् ।

कोरोनाको केन्द्र तथा सबैभन्दा प्रभावित चीनमा पछिल्ला दिनमा संक्रमित तथा मृत्युसंख्या घट्दै जाँदा बाँकी विश्वमा भने फैलिँदै गएको छ । युरोप, एसिया र मध्यपूवका देशहरूमा भाइरस तीव्र गतिमा फैलिरहेको छ । युरोपका इटली सबैभन्दा प्रभावित बनेको छ । इटलीमा हालसम्म ६५० जनामा संक्रमण पुष्टि भएकोमा १७ जनाको ज्यान गइसकेको छ । त्यस्तै, फ्रान्सलगायत देश पनि कोरोनाले प्रभावित बनेका छन् ।

एसियामा चीनपछि दक्षिण कोरिया र जापान भाइरसको चपेटामा आएका छन् । कोरियामा हालसम्म २ हजार ३ सय ३७ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितको मृत्युका हिसाबले चीनपछि इरान बढी आक्रान्त छ । इरानका उच्च अधिकारी नै संक्रमित बनेका छन् । उपराष्ट्रपति मासुमेह अब्टेकरलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, उपस्वास्थ्यमन्त्रीसहित अन्य सातजना उच्च अधिकारीलाई संक्रमण पुष्टि भइसकेको छ ।

इरानमा हालसम्म २४५ जनामा संक्रमण पुष्टि हुँदा २६ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट यो मृत्युदर (१०.६ प्रतिशत) विश्वकै उच्च हो ।

बिहीबार चीनको भ्रमण गरेका मंगोलियन राष्ट्रपति खल्तमागिन बत्तुल्गा १४ दिने क्वारेन्टाइनमा
मंगोलियाका राष्ट्रपति खल्तमागिन बत्तुल्गालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ । उनले बिहीबार चीनको भ्रमण गरेका थिए । चीन मंगोलियाको ठूलो छिमेकी राष्ट्र हो ।

एकदिने संक्षिप्त चीन भ्रमणका क्रममा राष्ट्पति बत्तुल्गाले चिनियाँ समकक्षी सी जिन पिङसित भेट गरेका थिए । उनले राजधानी बेइजिङको भ्रमण गर्नुका साथै कोरोनाको उपचारका लागि चीनलाई सहयोगसमेत हस्तान्तरण गरेका थिए । कोरोनाको महामारी सुरु भएपछि चीनको भ्रमण गर्ने बत्तुल्गा पहिलो राष्ट्रप्रमुख हुन् ।

चीन भ्रमणबाट मंगोलिया फर्किएलगत्तै राष्ट्रपति बत्तुल्गालाई १४ दिने क्वारेन्टाइनमा राखिएको मंगोलियाको स्टेट न्युज एजेन्सी मोन्तसेमले जनाएको छ । राष्ट्रपति बत्तुल्गासँगै भ्रमण दलमा संलग्न मन्त्रीहरू, उच्चपदस्थ अधिकारीहरूलाई पनि उलानबातरको एक सरकारी अस्पतालमा क्वारेन्टाइनमा राखिएको मंगोलियन अधिकारीले जानकारी दिएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *