‘हामी ९० हजार नेपाली छौं, सुरक्षित छौं’

अञ्‍जना ढकाल

कोरोना भाइरस संक्रमणले छिमेकी चीनमा सयौंको ज्यान लिइसकेको छ। हजारौं संक्रमित उपचाररत छन्। संसारका ५० भन्दा बढी देशमा कोरोना संक्रमण देखिसकिएको छ। जापान पनि कोरोना भाइरस संक्रमणबाट अछुतो रहेन।

कोरोना संक्रमणबाट जापानमा हालै एकजनाको ज्यान गएको छ। केहीको उपचार चलिरहेको छ। जापानको एक प्रमुख सहर योकोहामामा पहिलोपटक दुई साताअघि नोबेल कोरोना भाइरस संक्रमण देखिए पनि अहिले त्यसको फैलावटको खतरा भने छैन। म साढे तीन वर्षदेखि योकोहामामा बस्दै आएकी छु। तर, यहाँ रहेका नेपालीहरूमा नोबेल कोरोना भाइरस संक्रमण अहिलेसम्म थाहा पाएकी छैन।

योकोहामा अरू ठाउँभन्दा सुरक्षित छ र यहाँका नेपालीहरू उच्च स्वास्थ्य सुरक्षा सतर्कताका साथ बसेका छन्। कोरोना भाइरस संक्रमणबारे हल्ला निकै चले पनि हाम्रो ईलाकामा संक्रमणका केस शून्यप्रायः छन्। त्यसैले हामी ढुक्क छौं।

अहिले अन्य केही सहरमा कोरोना संक्रमण देखिए पनि सरकारले उच्च प्राथमिकताका साथ उपचार कार्य अघि बढाएको छ। स्वास्थ्यसेवा दृष्टिले जापान निकै सशक्त मुलुक हो। यहाँको स्वास्थ्यसेवा प्रवाहलाई त्रुटिरहित बनाउन सरकारले कुनै विकल्प बाँकी राखेको छैन। यद्यपि, चीनबाट आउने पर्यटक तथा चीन जाने जापानीका माध्यमबाट कोरोना संक्रमण आएको हुनसक्ने अनुमानबीच जापान सरकारले हवाईसेवा बन्द गरेको छ।

चीनबाट आउने विमान रोकिएका छन् र जापानले पनि चीनको हवाई र जलमार्ग तत्कालका लागि बन्द गराएको छ। अर्को मुख्य कुरा, जापान सरकारले भीडभाड हुने ठाउँ खुला गराएको छ। र, सार्वजनिक समारोह र कन्सर्टजस्ता कार्यक्रम आयोजना नगर्न सरकारले सबैलाई सचेत गराएको छ।

जापान आउने नेपालीमा प्रायः विद्यार्थी छन्। होटल तथा रेस्टुरेन्टमा काम गर्न आउनेहरू पनि धेरै नै छन्। ९० हजारभन्दा बढी नेपाली रहेको जापानमा अहिलेसम्म कुनै नेपालीलाई कोरोना भाइरस संक्रमण भएको जानकारी आएको छैन। त्यसैले हामी ढुक्क छौं।

गत साता कोरोनाबाट संक्रमित एक महिलाको ज्यान गएको पुष्टि जापान सरकारले गरिसकेको छ। मृतक महिला ८० वर्षभन्दा माथि उमेरकी भएको र उनमा सुरुमा निमोनिया देखिएको जानकारी आएको छ। जापानले २ सय ५० भन्दा बढीमा कोरोना भाइरस संक्रमणबाट पीडित भएको तथ्य सार्वजनिक गरिसकेको छ। विशेषतः चीन भ्रमणबाट फर्किएकामा कोरोना संक्रमण देखिएपछि उच्च प्राथमिकतासाथ उनीहरूको उपचार चलिरहेको जानकारी पनि हामीले पाएका छौं।

तर, अरू व्यक्तिको सम्पर्कमा नजाने तथा बाहिर घुमफिरमा नजानेलाई कोरोना संक्रमण हुने डर रहँदैन। नियमित काम गर्ने, घरदेखि अफिस र अफिसदेखि घर गर्ने नेपालीमा यो संक्रमणको सम्भावना रहँदैन। अन्य व्यक्तिहरूको सम्पर्कमा आउँदा मात्रै कोरोना संक्रमण हुन्छ। यहाँ सबै जना आ–आफ्नो काममा व्यस्त हुने हुँदा संक्रमणको जोखिम अलि कमै छ भन्न सकिन्छ।

सरकारले सार्वजनिक स्थलमा विषाणुको संक्रमण हुन नदिन अल्कोहल राखेको हुन्छ। कुनै स्वास्थ्य समस्या भए तत्कालै उपचारको व्यवस्था हुन्छ। पर्यटकीय सहरहरूमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने आशंकाले उच्च सतर्कता अपनाइएको छ।

विश्वभरि फैलिरहेको कोरोना भाइरसबाट बच्न आफू सतर्क रहनु पनि आवश्यक छ। समग्रमा जापानमा बस्ने नेपालीहरूमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण छैन। हामी सुरक्षित छौं, र सबैलाई सुरक्षित रहन अनुरोध छ।

(जापानको योकोहामा सहर बस्ने ढकाल लेखक तथा सामाजिक अभियन्ता हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय