चिकित्सकको राष्ट्रिय सम्मेलन उद्घाटन : मुख्यमन्त्री गुरुङले भने– अब डाक्टरलाई मासिक एक लाख ‘इन्सेन्टिभ’

नेपाली चिकित्सकको २८औँ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । नेपाल चिकित्सक संघ (एनएमए)को आयोजनामा जारी तीनदिने सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार अपराह्न भव्य समारोहबीच उद्घाटन गरे ।

सम्मेलनमा देशभरका करिब एक हजार चिकित्सकको सहभागिता रहेको आयोजक एनएमए गण्डकी प्रदेश शाखाले जनाएको छ । उद्घाटन कार्यक्रममै एनएमएको नवनिर्वाचित कार्यकारिणी समितिलाई नेतृत्व हस्तान्तरणसमेत गरिएको छ ।

सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले चिकित्सकलाई योग्यता र कामअनुसार सेवा–सुविधा नदिएर राज्यले समग्र स्वास्थ्य क्षेत्रमाथि नै अन्याय गरिरहेको बताए । अत्यन्त न्यून सेवा–सुविधा तथा उपचारका लागि आवश्यक प्रविधि र उपकरण अभावमा चिकित्सकलाई आफ्नो सीप प्रयोगमा समस्या भइरहेको उनको भनाइ छ । र, त्यही नै समग्र स्वास्थ्यसेवाको गुणस्तर सुधार तथा पहुँचविस्तार रोक्ने प्रमुख जड भएकाले चिकित्सकको सुविधावृद्धिमा प्रदेश सरकार लागिपरेको उनले बताए ।

‘६० लाख खर्च गरेर पढेको डाक्टर ३५–४० हजारमा गाउँमा गएर कसरी बस्न सक्छ ?’ उनको प्रश्न थियो । प्रदेश सरकारले चिकित्सकलाई कम्तीमा मासिक एक लाख ‘इन्सेन्टिभ’ दिने तयारी गरिरहेको उनले बताए ।

‘डाक्टरलाई सरकारले एकोहोरो रूपमा गाउँमा जाऊ भनेको छ, तर कामअनुसार सेवा–सुविधा भने दिएको छैन,’ उनले भने, ‘चिकित्सकले ३०–४० हजारमा काम गर्न सक्दैन, अब कम्तीमा मासिक एक लाख इन्सेन्टिभ दिनुपर्छ र हामी त्यसको तयारीमा छौँ ।’

‘पञ्चायतकालमा चुना र कमेरो लगाएका घर अहिले डाक्टर बस्न ‘हाइजेनिक’ छैनन्’
मुख्यमन्त्री गुरुङले सरकारी अस्पतालमा चिकित्सकको दरबन्दी बढाउनुपर्ने आवश्यकता औँल्याए । जिल्ला अस्पतालमा डाक्टरको आवास, उपकरणको पर्याप्त व्यवस्था गरिने उनले बताए ।
‘पञ्चायतकालमा बनेका चुना र कमेरो लगाएका घर अहिले डाक्टर बस्न हाइजेनिक छैनन्,’ उनले भने, ‘अब राम्रो क्वार्टरको व्यवस्था हुनुपर्छ र हामी गर्छौं ।’

‘खरिदारले राम्रो गाडी चढेर हिँड्छ, विशेषज्ञ डाक्टरलाई गाडी छैन,’ उनले भने ।

जिल्ला अस्पतालमा पुरानै उपकरण हुँदा उपचारमा समस्या भइरहेको उनको भनाइ थियो ।

‘संघीय गणतन्त्रमा पनि जनताले पञ्चायतभन्दा फरक महसुस गर्न पाएका छैनन्’
मुख्यमन्त्री गुरुङले मुलुकमा पटक–पटकको बलिदानीपूर्ण संघर्षबाट व्यवस्था परिवर्तन भए पनि जनताले व्यावहारिक रूपमा पञ्चायतभन्दा भिन्न अनुभूति गर्न नपाएको बताए । जनतालाई परिवर्तनको अनुभूति दिलाउन स्वास्थ्यसेवाको सुधार पहिलो सर्त भएको उनको भनाइ छ ।

‘धेरैपटक व्यवस्था परिवर्तन भए, संघीय गणतन्त्र पनि आयो, तर गणतन्त्रमा पनि जनताले पञ्चायत र प्रजातन्त्रकालको भन्दा फरक अनुभूति गर्न पाएका छैनन्,’ उनले भने, ‘जनतालाई परिवर्तन अनुभूत गराउन स्वास्थ्यमा परिवर्तन पहिलो सर्त हो ।’

‘परिवर्तनको मुख्य बाधक कर्मचारीतन्त्र’
परिवर्तनको कुरा गरिरहँदा मुख्यमन्त्री गुरुङ कर्मचारीतन्त्रमाथि निकै रुष्ट देखिए । उनले नेपालको कर्मचारीतन्त्रलाई परिवर्तनको प्रमुख बाधकका रूपमा प्रस्तुत गरे । जनतामा गुणस्तरीय स्वास्थ्यसेवाको पहुँच विस्तारको बाधक कर्मचारीतन्त्र नै भएको उनको आरोप थियो ।

‘परिवर्तनका लागि नेपालको पुरानो कर्मचारीतन्त्र बाधक बनेको छ,’ उनले भने, ‘मूल समस्याको जड कर्मचारीतन्त्र नै हो, जुन अहिले पनि भारतको ‘ब्रिटिस लिगेसीकै ब्युरोकेसी’को निरन्तरताभन्दा फरक छैन ।’

स्वास्थ्य क्षेत्रको सुधारका लागि डाक्टरलाई कसरी गाउँमा टिकाउने भन्नेमै कार्यक्रम केन्द्र्रित गर्नुपर्ने मुख्यमन्त्री गुरुङले बताए ।

‘संघीयता आए पनि केन्द्रले प्रदेशलाई अधिकार दिएन’
संघीय शासन प्रणाली लागू हुँदा पनि त्यसको मर्मविपरीत अधिकार केन्द्रीकृत नै हुँदा समस्या भएको मुख्यमन्त्री गुरुङले बताए । ‘संघीयता आए पनि केन्द्रले प्रदेशलाई कुनै अधिकार दिएको छैन,’ उनले भने, ‘बल्ल–बल्ल प्रदेश, जिल्ला अस्पताल दियो, त्यो पनि बाबुको सम्पत्तिजसरी ।’

प्रदेश सरकार स्वास्थ्यको रूपान्तरणमा लागिरहँदा जनशक्ति चरम अभाव झेल्नुपरेको उनले बताए ।
‘चोक–चोकमा नर्सिङ कलेज देख्छु, तर नर्स पाइँदैन,’ उनले भने, ‘अब डाक्टर तथा नर्सलाई इन्सेन्टिभको व्यवस्था गरेर परिवर्तन ल्याउँदै छौँ ।’

स्थानीय स्वास्थ्यसंस्थामा सेवाग्राहीकै विश्वास छैन : मेयर जिसी
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अझै पनि राज्यसंयन्त्रमा केन्द्रीकृत मानसिकता हाबी रहँदा स्वास्थ्य क्षेत्रले परिवर्तनको अनुभूति गर्न नपाएको बताए । सरकारसँगै सर्वसाधारणको समेत स्थानीय सरकार तथा स्वास्थ्यसंस्थामाथि विश्वास नहुनु प्रमुख चुनौती भएको उनको भनाइ थियो ।

‘प्रेसरले समस्या दियो भने डेढ लाखको हेलिकोप्टर चढेर काठमाडौं जान्छन् र १० हजार खर्च गरेर फर्किन्छन् । त्योस्तरको सेवा यहीँ उपलब्ध छ तर सेवाग्राहीलाई विश्वास छैन,’ उनले भने, ‘लोकल लेभलमा विश्वास नहुँदासम्म स्वास्थ्यमा सुधार आउन सक्दैन ।’

नवनिर्वाचित २८औँ कार्यकारिणी समितिलाई नेतृत्व हस्तान्तरण
तीनदिने राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा एनएमएको नेतृत्व हस्तान्तरणसमेत गरिएको छ । निवर्तमान बनेको २७औँ कार्यकारिणी समितिका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले माघको अन्तिम साता सम्पन्न २८औँ कार्यकारिणी समितिको निर्वाचनबाट चुनिएको डा. लोचन कार्की अध्यक्षताको समितिलाई नेतृत्व हस्तान्तरण गरे ।

नेपालको पहिलो पेसागत संगठनको नेतृत्व ग्रहण गर्दै अध्यक्ष डा. कार्कीले आफ्नो कार्यकालका प्रमुख एजेन्डाबारे सम्मेलनमा जानकारी गराए । चिकित्सकको पेसागत सुरक्षा र वृत्तिविकास, गुणस्तरीय चिकित्साशिक्षा र स्वास्थ्य सेवा, राष्ट्रिय नीति तथा योजना निर्माणमा सार्थक भूमिका, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र निजी–सरकारी साझेदारी आगामी कार्यकालका प्रमुख एजेन्डा रहने उनले बताए ।

चिकित्सकहरू सम्मानित
सम्मेलनमा नेतृत्व हस्तान्तरणपछि विभिन्न विधामा चिकित्सकहरूलाई सम्मान गरिएको छ । संघका आजीवन सदस्य एवम् कार्डियोथोरासिक सर्जन डा. लोकविक्रम कार्की लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

त्यसैगरी, संघका पूर्वअध्यक्षद्वय डा. केदारनरसिंह केसी र किरण श्रेष्ठलाई पनि सम्मान गरिएको छ । त्यस्तै, आउटस्ट्यान्डिङ सर्भिस अवार्डबाट डा. भूपेन्द्रकुमार तुलाचन र वसन्तकुमार ताम्राकार सम्मानित भएका छन् । त्यस्तै, विभिन्न विधातर्फ महत्त्वपूर्ण योगदान पुर्याउने चिकित्सकहरू पनि सम्मानित भएका छन् ।

शुक्रबार एनएमए काउन्सिलको निर्वाचन, शनिबार पोखरा घोषणापत्र जारी गरिने

चिकित्सकको पोखरामा जारी २८औँ राष्ट्रिय सम्मेलनमा मूलतः ‘संघीय नेपालमा स्वास्थ्य सेवा : अवसर र चुनौती’ विषयमा छलफल केन्द्रित हुँदै छ । देशभरका चिकित्सक भेला भई स्वास्थ्य क्षेत्रका समस्या र समाधानका उपायको खोजी गरिने आयोजकले यसअघि नै बताइसकेको छ ।

सम्मेलनमा विभिन्न विषयका दर्जनौँ कार्यपत्र तथा पेपर प्रस्तुत हुँदै छन् । ती प्रस्तुतिमाथि सामूहिक छलफल तथा प्यानल डिस्कसनका माध्यमबाट घनीभूत छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनको दोस्रो दिन शुक्रबार एनएमएको केन्द्रीय कार्यकारिणी समितिभन्दा माथिको निकाय एनएमए काउन्सिलको निर्वाचन हुनेछ । एनएमए काउन्सिल ६० सदस्यीय हुने व्यवस्था छ ।

अन्तिम दिन शनिबार पोखरा घोषणपत्र जारी गर्दै सम्मेलनको समापन गर्ने कार्यक्रम छ ।

विदेशी प्रतिनिधित्वमा कोरोना बाधक
विगतका सम्मेलनमा जस्तै यसपटक पनि विश्वका विभिन्न देशबाट विशेषज्ञ चिकित्सकले प्रतिनिधित्व गर्ने तय भए पनि यसपटक चीनलगायत ४ दर्जन देशमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विदेशी सहभागितालाई प्रभावित पारेको छ । कोरोना संक्रमणको जोखिम तथा विभिन्न देशले लगाएका पावन्दीका कारण आउने तय भएका चिकित्सकहरू रोकिएका छन् ।

भारत, अमेरिका, बेलायत, बंगलादेशलगायतबाट दर्जनभन्दा बढी चिकित्सकले कार्यपत्र प्रस्तुत गर्ने तय भएकोमा हाल बेलायतको मात्र प्रतिनिधित्व भएको आयोजकले जनाएको छ । सबैभन्दा बढी भारतीय चिकित्सकको आगमन रोकिएको हो । भारतले नेपालबाट प्रवेश गर्ने जोकोहीलाई क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेका कारण उनीहरू आउन नसकेका हुन् ।

One thought on “चिकित्सकको राष्ट्रिय सम्मेलन उद्घाटन : मुख्यमन्त्री गुरुङले भने– अब डाक्टरलाई मासिक एक लाख ‘इन्सेन्टिभ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय