बिपी प्रतिष्ठानमा सुत्केरी र बच्चाको मृत्युपछि तनाव, ३ चरणको वार्तामा भएन सहमति

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारको क्रममा बिरामीको विषयलाई लिएर विवाद निम्तिएको छ । सुत्केरी गराउने क्रममा आमा र बच्चा दुवैको मृत्यु भएपछि पीडित आफन्तले बिहीबार अस्पतालमा विरोध प्रदर्शन गरेका हुन् । अस्पताल प्रशासन र पीडित पक्षबीच बिहीबार नै तीन चरणमा भएको वार्ता सकारात्मक दिशामा भए पनि निष्कर्षमा भने पुगिनसकेको अस्पतालले बताएको छ ।

सुत्केरी गराउने क्रममा पहिलो बच्चाको र बिहीबार बिहान आमाको मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारमा लापरबाहीकै कारण बिरामीको मृत्यु भएको पीडित पक्षको आरोप छ । मृतकका आफन्त र अस्पताल प्रशासनबीच बिहीबार तीन चरणमा छलफल भएको र सहमतिनजिक पुगेको प्रतिष्ठानका प्रवक्ता अशोक ऐरले हेल्थपोस्टलाई बताए ।

‘आज (बिहीबार) तीन चरणमा छलफल भएको छ । अस्पताल निर्देशकको कार्यालय, गाइनोलोजी विभाग र उपकुलपतिकक्षमा भएको छलफलबाट हामी सहमतिनजिक पुगेका छौँ,’ प्रवक्ता ऐरले भने, ‘सम्भवतः भोलि एक चरण छलफल होला, त्यसले सहमति बन्ने विश्वास लिएका छौँ ।’

हाल अस्पतालको वातावरण सामान्य रहेको प्रवक्ता ऐरले जानकारी दिए । मृतकका आफन्तको प्रदर्शनका कारण बिहान केहीबेर तनाव सिर्जना भए पनि छलफलपछि आवस्था सामान्य बनेको थियो ।

१२ फागुनमा सुत्केरी गराउन अस्पताल भर्ना भएकी इटहरीकी २८ वर्षीया लक्ष्मी बुढाथोकीको उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो । यसअघि उनको पेटमा भएको बच्चाको पनि निधन भएको थियो ।

उपचारमा संलग्न चिकित्सक तथा अस्पतालको लापरबाहीका कारण बच्चासहित सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले बिहीबार बिहानैदेखि अस्पताल प्रशासन घेराउ गरेपछि अस्पतालको वातावरण तनावग्रस्त बनेको हो । प्रसूति व्यथा लागेको लामो समयसम्म पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले बेवास्ता गरेका कारण नै समयमा उपचार नपाएर आमा र बच्चा दुवैको निधन भएको पीडित पक्षको आरोप छ । यद्यपि, अस्पतालले भने प्रसूतिमा जटिलता थपिँदै जाँदा उपचारका यथासम्भव विधि अपनाउँदा पनि आमा तथा बच्चालाई बताउन नसकिएको बताएको छ ।

‘उपचारमा लापरबाहीका कारण नभई ‘मेडिलकल’ कम्प्लिकेसन्स’का कारण सुत्केरी तथा बच्चाको मृत्यु भएको हो,’ प्रवक्ता ऐरले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय