कान्ति बाल अस्पतालका शौचालय लागुऔषधको थलो

करिब एक साताअघि कान्ति बाल अस्पतालको शौचालयमा एकजना युवक आफैंलाई ‘इन्जेक्सन’ रोप्दै थिए।

त्यतिवलै शौचालय पुगेका अस्पतालका सेक्युरिटी गार्डले सोधे, ‘यो के गरेको ?’

ती युवकले भने, ‘मलाई यो नभई हुँदैन ।’ गार्ड केही बोलेनन्। ती युवा पनि त्यहाँबाट निस्किए ।

त्यो इन्जेक्सन लागुऔषध थियो ।

र, कान्ति बाल अस्पतालको शौचालयमा देखिएको यो पहिलो दृश्य पनि थिएन। यहाँ पटकपटक यस्ता दृश्य देखिन्छन् ।

‘पहिला पनि यस्तो हुन्थ्यो भन्ने सुनेको हो,’ ती गार्डले भने ‘अहिले एक हप्ताअघि हामीले यस्तो देख्यौं।’

बालबालिकाको उपचार गर्ने एक मात्र ठुलो सरकारी अस्पताल हो, कान्ति बाल अस्पताल।

प्रायजसो दिउँसोको समयमा यस्ता घटना हुने गरेका छन्।

तर, यहाँको सुरक्षा प्रणालीलाई बलियो बनाउनेतर्फ अस्पतालको प्रशासनको ध्यान गएको छैन।

यस्ता घटनाको विषयमा अस्पताल प्रशासनलाई नभएको पनि होइन।

तर, पनि यसतर्फ प्रशासनले केही पनि ध्यान दिएको छैन।

दैनिक हजारौँ संख्यामा अस्पतालमा मानिसको ओहोर–दोहोर हुन्छ । को आयो गयो कसैलाई थाहा हुँदैन । लागुऔषध प्रयाेग गरेकाे सिरिन्ज त्यहीँ शौचालयमा फालेर जाने गरेका छन् ।

अस्पताल प्रशासन भन्छ, ‘अहिले अलि कम भएको छ’

अस्पताल प्रशासन भने यस्ता घटनामा अहिले कमी आएको बताउँछ। नत्र पहिला त कान्ति बाल अस्पतालको परिसर लागु औषध सेवन गर्नेहरुको ‘अड्डा’ नै थियो। प्रशासनलाई यसबारेमा पहिलादेखि नै थाहा थियो।

अस्पताल पछाडी खुल्ला ठाउँ भएका कारण त्यहाँ बसेर सेवन गर्ने गरेको घटना धेरै पल्ट सुन्नमा आएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेल बताउँछन्।

पछाडिको गेट बाट शौचालय आउने बाटो थियो।

‘यस्तो घटना हुनेगरेको सुनेपछि शौचालयमा आउने गेट बन्द गरिदियौं’ डा. पौडेलले भने, ‘यस्ता मानिसको अस्पतालले विशेष निगरानी गरिरहेको छ।’
अस्पतलमा सादा पोसाकमा प्रहरी खटाइएको र यस्तो घटना भएको पाइएमा तुरुन्तै कारबाहीको दायरामा ल्याउने डा. पौडेल बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय